‘परान’ को कथा मेरो परिवारसँग पनि जोडिएको छ : निर्देशक आचार्य

हिमाल प्रेस ९ कार्तिक २०८२ ११:२२
12
SHARES
‘परान’ को कथा मेरो परिवारसँग पनि जोडिएको छ : निर्देशक आचार्य

काठमाडौँ– टेलिशृङ्खलामा अभिनय र म्युजिक भिडियो निर्देशनको अनुभव संगालेका कलाकार दीपक आचार्यको पहिलो निर्देशनमा फिल्म  ‘परान’ बनेको छ। फिल्म पारिवारिक विषयवस्तु र कथामा आधारित रहेको उनले बताएका छन्।

कोरोना भाइरसबाट ग्रसित भएपछि फिल्म बनाउने कथा जन्मेको उनी बताउँछन्। ‘कोरोना भाइरसको पहिलो लहरमा बिरामी भएपछि फिल्म बनाउन कथा लेखेको थिएँ। आफू बाँच्छु कि बाँच्दिन भन्ने अवस्थामा आफ्नो भावना कोरेको थिएँ। यो कथा केही हदसम्म मेरो परिवारसँग जोडिएको छ, तर यसलाई फिल्मकै शैलीमा पटकथा तयार गरिएको छ’, निर्देशक आचार्यले भने।

कोभिडबाट मुक्त भएपछि निर्देशक आचार्यले यम थापालाई पटकथा लेख्न दिए। त्यसपछि फिल्म बन्ने प्रक्रियाले तीव्रता पायो। फिल्ममा एउटा परिवारको कथामार्फत अहिलेको समाजलाईसमेत चित्रण गरेको निर्देशक आचार्यले बताए।

‘फिल्ममा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु। अहिले भविष्य बनाउने गाउँबाट सहर वा विदेश जाने प्रचलन बढिरहेको छ। हामी बा-आमालाई सुखी बनाउन उहाँको खुसी खोसिरहेका छौँ, यस्तै कथा जोडेर फिल्म तयार गरेको छु’, निर्देशक आचार्यले भने।

फिल्ममा अभिनेता नीर शाह र मदनकृष्ण श्रेष्ठको अभिनय छ। एउटा कलाकार र निर्देशकका हिसाबले आफूले सोचेको कलाकारलाई पात्रमा चित्रण गर्न पाउँदा आफू निकै खुसी रहेको उनले सुनाए।

फिल्ममा मदनकृष्ण श्रेष्ठ र नीर शाहलाई प्रस्ताव गर्दा नै उहाँहरूले अभिनय गर्ने सहमति दिनुभयो। सायद, यो कथाले उहाँहरूको परिवार र समाजको प्रतिनिधित्व गर्छ होला। यो कथाले अभिभावक होइन, छोराछोरीलाई सोच्न बाध्य बनाउँछ’, निर्देशक आचार्यले भने।

एउटा परिवारमार्फत वर्तमान समाज र देशलाई चित्रण गरेको फिल्मको कथासार पहिलोपटक सुन्दा नै आफू अभिनय गर्न सहमत भएको अभिनेता नीर शाहले बताए। उनले भने, ‘मैले फिल्ममा धर्मनाथको भूमिका निर्वाह गरेको छु। यो पात्रसँग कहीँकतै मेरो मनोविज्ञानसँग जोडिएको छ, सोही कारण यसको कथा सुन्नेबित्तिकै मैले अभिनय गर्न सहमति दिएको हुँ। मेरो फिल्मकर्मीमा यस्ता प्रस्ताव निकै कम आएका छन्, त्यसैले मैले यो भूमिका निर्वाह गरेँ। यसले अहिलेको नेपाली समाजको चित्रण गरेको छ।’

अभिनेता शाहले फिल्ममा आफूले पात्रलाई निर्वाह गर्न शतप्रतिशत मेहेनत गरेको भन्दै यसको मूल्यांकन दर्शकले गर्ने बताए। अभिनेता मदनकृष्ण श्रेष्ठसँगै अन्य सहकर्मी कलाकारसँग काम गर्दा केही नयाँ विषयबारे सिक्ने अवसर पाएको उनको बुझाई छ।

परिवार, सम्बन्ध र संघर्षको कथालाई प्रस्तुत गरिएको फिल्ममा अभिनेता शाह, मदनकृष्ण श्रेष्ठसँगै केकी अधिकारी, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले अभिनय गरेका छन्।

शेखर गोल्छा र रञ्जित आचार्यको संयुक्त निर्माणमा बनेको फिल्म यही कात्तिक १४ देखि नेपालभर प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।  रासस

प्रकाशित: ९ कार्तिक २०८२ ११:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast