पोखरा- पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवाताल यतिखेर आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिएको छ। लामो बिदा र अनुकूल मौसमका कारण देश विदेशका विभिन्न स्थानबाट आएका पर्यटकले फेवाताल र यस आसपासका क्षेत्रलाई जीवन्त बनाएका छन्।
बिहानैदेखि डुंगा चढ्ने, ताल किनारमा फोटा खिच्ने र वरपरका दृश्यावलोकन गर्नेहरूको भीडले पोखराको सौन्दर्यमा थप रौनक थपिएको छ। फेवातालको सुन्दरता अवलोकन गर्न आउने पर्यटकले तालको छेउछाउका क्याफे र रेष्टुरेन्टमा बस्दै स्वादिष्ट स्थानीय परिकारको मज्जा लिइरहेका छन्।
विशेषगरी पारिवारिक घुमफिरमा आएका पर्यटक र युवायुवतीको समूहले पोखरालाई उत्सवमय बनाइदिएको छ। साँझपख तालमा रंगीन बत्तीहरू र संगीतको माहोलले वातावरणलाई अझ रमणीय बनाउँछ।
पोखराको पहिचान फेवातालको छेउमा घुम्ने, डुंगा चलाउने र वरिपरिका हिमाल तथा हरियाली दृश्य हेर्ने अवसरले पर्यटकहरूलाई आकर्षित गरिरहेको छ। मौसम सुहाउँदो हुँदा र बिदाको मौका पाउँदा फेवातालका किनारमा देखिने यस्तो चहलपहलले पोखराको पर्यटन व्यवसायमा नयाँ उत्साह भरेको छ।
तस्बिरहरू





