देशभरका विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणबाट हातहतियारलगायतका सामग्रीहरू बरामद भएको छ।
चालु आर्थिक वर्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणबाट ४२ नाल विभिन्न हतियार, १ हजार ९७६ जाल पासो, १ हजार ९६५ घरेलु औजार, ३३५ सवारीसाधन र १६ वटा ओखोटोपहार बरामद भएको नेपाली सेनाले जनाएको हो।
नेपाली सेनाका युद्धकार्य निर्देशक मनोज थापाले नेपाली सेनाबाट भएको सुदृढ सुरक्षा तथा संरक्षण कार्यबाट पछिल्लो १५ वर्षयाताको बाघ तथा संख्यामा उल्लेखनीय वृद्धि भएको जानकारी दिए।
उनका अनुसार नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्जसहित एक वन्यजन्तु र एक शिकार आरक्षमा जनशक्ति परिचालन गरेको छ।
थापाले नेपाल सरकारद्वारा घोषित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र चुरे क्षेत्र संरक्षणमा सेनाका ९ हजार ४६ जनशक्ति खटिदै आएको जानकारी दिए।
नेपाली सेनाका आठवटा गण, दुईवटा वन तथा पर्यावरण सुरक्षा गण र सातवटा अनाश्रित गुल्मलाई संरक्षणको जिम्मेवारी तोकिएको छ।
पछिल्लो गणनाअनुसार नेपालमा बाघको संख्या ३५५ रहेको तथा गैँडाको संख्या ७५२ रहेको छ। यसअघि २००९ मा भएको जनगणनामा बाघको संख्या १२१ र २००५ को गणनामा गैँडाको संख्या ४०० रहेको थियो।
ती उपलब्धी हासिल गर्ने क्रममा वन्यजन्तुको आक्रमण र अन्य कारणबाट ११६ जना सैनिक व्यक्तिले आफ्नो जीवन गुमाएको सेनाले जनाएको छ। चालु आवमा मात्रै त्यस्ता जंगली जनावरको आक्रमणमा परी पाँच जना सकलदर्जा घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नेपाली सेनाले नेपालका सुन्दर हिमालको सौन्दर्य कायम राख्न पछिल्लो दशकमा वार्षिकरुपमा हिमाल सफाइ अभियान समेत सञ्चालन गर्दै आएको छ ।



