काठमाडौँ- भारतको मध्य प्रदेशस्थित इन्दौरमा आईसीसी महिला क्रिकेट विश्वकपमा सहभागी दुई जना अस्ट्रेलियाली खेलाडीहरूमाथि एक व्यक्तिले गरेको यौन हिंसाको घटना बाहिर आएको छ।
अस्ट्रेलियाली टोलीका सुरक्षा अधिकारी ड्यानी सिमन्सद्वारा गरिएको उजुरीका आधारमा प्रहरीले मुद्दा दर्ता गररेको छ।
प्रहरीका अनुसार यो मुद्दा भारतीय न्याय संहिता (बीएनएस) को धारा ७४ (कुनै महिलाको लज्जा भंग गर्ने उद्देश्यले आक्रमण वा आपराधिक बल प्रयोग गर्ने) र धारा ७८ (महिला पछ्याउने वा स्टकिङ गर्ने) अन्तर्गत दर्ता गरिएको छ।
अस्ट्रेलियाली महिला खेलाडीहरूसँग दुर्व्यवहार गरेको आरोपमा अकील अहमद भन्ने व्यक्तिलाई पक्राउ गरिएको इन्दौर प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
इन्दौरका एडिसनल डिप्टी प्रहरी कमिश्नर राजेश दण्डोतियाले भने,‘अकिल अहमद खजरानाको बासिन्दा हो, जसले गाडी चलाउँदै दुई अस्ट्रेलियाली खेलाडीहरूसँग दुव्र्यवहार गर्दै उनीहरूलाई ब्याड टच गरेको र त्यसपछि फरार भएको थियो। यस मामिलामा मुद्दा दर्ता गरी पाँचवटा प्रहरी चौकीका टोलीहरूले समन्वय गरेर आरोपीलाई पक्राउ गरिएको छ।’



