काठमाडौँ– छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा केराको माग अत्यधिक वृद्धि भएको छ। बजारमा केराको कारोबार बढेको हो।
छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको फलफूल व्यवसायीले बताएका छन्। छठ पर्वमा भगवान् सूर्यलाई अघ्र्य अर्पण गर्न प्रयोग हुने मुख्य प्रसाद केराको सिङ्गैघरीको माग जनकपुरधामसहित स्थानीय बजारमा अत्यधिक बढेको केरा व्यापारीहरुले जनाएका छन्।
छठपर्वका लागि जनकपुरधामलगायत मुख्य बजारदेखि ग्रामीण हाटबजारसम्म अहिले केरा किन्ने ग्राहकको भीड लागेको छ। छठलाई मध्यनजर गरी जनकपुरधाममा मात्रै दर्जनौँ स्थानमा केरा पसलहरू खोलिएका छन्। जिरोमाइलस्थित फलफूल बजारका साथै सहर क्षेत्रका अन्य स्थानहरूमा समेत केरा पसलहरू सञ्चालनमा आएका छन्।
छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयातमा वृद्धि गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए। उनका अनसार यस वर्ष व्यापारीले भारत र अन्य जिल्लाबाट ठूलो परिमाणमा केरा खरिद गरी गोदाममा भण्डारण गरेका छन्।
गोदाममा पर्याप्त मात्रामा केरा उपलब्ध भएकाले यसपटक व्रर्तालुलाई केराको अभाव नहुने अध्यक्ष यादवले बताए। केराको माग बढेसँगै मूल्यमा भने वृद्धि भएको छ। स्थानीयहरूका अनुसार अहिले बजारमा केराको प्रतिघरी मूल्य ६०० सयदेखि एक हजारसम्म पुगेको छ, जुन गत वर्षको तुलनामा बढी हो।
छठ पर्वका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा केरा भारतबाट आयात गरिएको फलफूल व्यवसायीहरूले बताएका छन्। स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको फलफूल व्यवसायीको भनाइ छ।
जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरीको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ। मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बंगाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको व्यवसायीहरूले जनाएका छन्।
ण्छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको व्यवसायीहरूको भनाइ छ।
फलफूल व्यवसायी समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार २०० घरी आउँछन्। प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च ६ लाख रुपैयाँसम्म पर्ने उनले जानकारी दिए। बजारमा प्रत्येक केराको घरीलाई ५०० देखि एक हजार रुपैयाँसम्ममा बिक्री गरिन्छ।
नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन्। नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केराको उत्पादन हुँदै आएको छ। सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ।



