संस्मरण

ठूलो परिवारमा हुर्किदाको स्वाद र बचपनाको चाड

ईश्वर पोखरेल ८ कार्तिक २०८२ १३:४३
34
SHARES
ठूलो परिवारमा हुर्किदाको स्वाद र बचपनाको चाड

ठूलो जहान हाम्रो। छोराछारीमा हामी दाजुभाइ सातजना, हाम्रा दिदीबहिनी चारजना गरी एघार जना। हामी दुई गुँडका तर कोही जुम्ल्याहा होइनौं। समाजमा विद्यमान पितृसत्ताले हामी एघारजनाबाट चारजना छोरीलाई एकातिर र सातजना हामी छोराहरूलाई अर्कोतिर उभ्याउँथ्यो। यही विभाजनका आधारमा हाम्रा भूमिका र अधिकारका फरकफरक अभ्यास हुन्थे। हाम्रा जीवन अनुभव पनि एकअर्कासँग नमिल्नु अस्वाभाविक भएन।

जस्तो, चाडपर्वमा हाम्रा लागि रमाउने अवसर विशेष थिए। हाम्रा चेलीबेटी पनि केही हदसम्म रमाउँथे तर चाडबाडमा उनीहरूमा कामको अतिरिक्त बोँझ थपिन्थ्यो।

जस्तै, तिहारमा हामी टीका थाप्ने वर्गमा हुन्थ्यौं, हाम्रा चेलीबेटी टीका लगाई दिने वर्गमा हुन्थे। दिदीबहिनी किचेनको काममा व्यस्त रहन्थे, हामी देउसी खेल्न र पिङ खेल्न दौडिन्थ्यौं। उनीहरू फूलको जोहो गर्ने र माला गाँस्नेतिर लाग्थे, हामी तास फिट्ने र गफ चुट्नेतिर हुन्थ्यौं। उनीहरू भातभान्सा तयार गर्नेतिर हुन्थे, पस्किने, बाँडीचुडी गर्ने काम उनीहरूको भागमा पर्थ्यो। मिठो परिकार भाँडामा नहेरी खपाखप खानु र नमिठो परिकारका लागि ठास्ठूस गर्नु जस्तो सुविधा हाम्रो भागमा हुन्थ्यो। परिवारभित्र महिला र पुरुषको यस प्रकारको लैङ्गिक भूमिकाको निर्धारण कुनै एक क्षेत्र वा कुनै एक पुस्ताको उपज थिएन ।

यस आलेखमा मैले एउटा ठूलो जहानका बीच के कस्ता सहयोग, अन्तरसंघर्ष, समन्वय र मेलमिलापका अवस्था विकास हुन्छन् भन्ने बारेमा चर्चा गरेको छु।

हामी सबै दाजुभाइ दिदीबहिनी सिन्धुली जिल्लामा पर्ने तीनपाटनमा जन्मिएका हौं। हामी यहाँ ओखलढंगाको माम्खाबाट ०६ सालमा आएका हौं रे। त्यतिबेला तीनपाटन फाँटमा औलोको प्रकोप रहेछ। तर धान उत्पादन गर्न फाँट नै चाहिने। फाँटभन्दा धेरै टाढा बसोबास गर्दा पनि घरखेत ओहोरदोहोर गर्न कठिन हुने। त्यसैले ती दिनमा कत्लेशिखर, थुम्कीशिखर, नेपालेशिखर, जखनीशिखर जस्ता तीनपाटनका शिखरहरूमा बाक्लो बस्ती थियो रे।

हामीलाई पायक पर्ने शिखर थियो–कत्लेशिखर। हामीले यहाँ बसोबासका लागि घडेरी पाएनछौं र कोटगाउँमा आएर घरबास बनाएछौं। हामीमध्ये कतिपय यही कोटगाउँमा जन्मिएका हौं। कतिपय चाहिँ बेँसीको घर कदमेरफेदीखोला वा छतिउनेमा जन्मिएका हौं। हुर्किन चाहिँ हामी सबै तीनपाटनको सामाजिकरसाँस्कृतिक परिवेशमै हुर्किन पायौं। तसर्थ मेरो यस आलेखमा नेपाली समाजको भित्री मधेशको मध्यमवर्गीय कृषि व्यवसाय अपनाउने हिन्दु संयुक्त परिवारको एक पुरुष सदस्यको अनुभवहरू समेटिएका हुनु स्वाभाविक हो।

तिहारमा भाइटीकाको दिन टीका कोबाट सुरुमा लगाउने भन्नेमै विवाद हुन्थ्यो। सानोतिनो विवादपछि टीका लगाउन कान्छैबाट प्रारम्भ हुन्थ्यो। टीका सोझो हओस् भनेर केराको पात च्यातिन्थ्यो र त्यसको आधारमा टिका लगाइन्थ्यो। टीका लगाउँदा अन्य भाइले दिदीबहिनीलाई सघाउनु पर्थ्यो। केराको पात छड्के समाउँदा छड्के नै हुन्थ्यो-टीको। टीको छड्के बनाइ दिएकोमा फेरि असन्तोष चर्किन्थ्यो। तिहारको साइतको टीका। पुछपाछ पारेर अर्को लगाउने चलन पनि थिएन। तर पहिले उसैको निधारबाट टीका हराउँथ्यो।

तिहारमा सबैभन्दा संकट हुन्थ्यो- भाग जोगाउने सन्दर्भमा। टीका लगाइ सकेपछि दिदीबहिनीले रोटीजन्य परिकार, फलफूल र भाइमसालासहितको भाग दिने गर्दथे। यसमा सबैको तारोमा पर्ने भाइमसाला। त्यसमा पनि पेस्ता, काजु र हाडेबदाम यही तिहारमा मात्र हाम्रो सामु देखा पर्दथ्यो। सबैको ध्याउन्न हुन्थ्यो- आफ्नो जोगाउने, अर्काको ‘उडाउने’।

यसका लागि भाग लुकाउनुको विकल्प हुँदैनथ्यो। लुकाउन पनि यस्तो ठाउँमा लुकाइन्थ्यो : सामान्यतया कसैले पनि त्यहाँ लुकाएको होला भनेर सोच्न सक्दैनथ्यो। दाउराको खलियो, परालको माच, मतान, गोठ, धानको भकारीको अँध्यारो कुना, बुइगलमा दुनाटपरी राखेका ठाउँ आदि इत्यादि।

कोही चलाख हुन्थ्यो र सामान्य स्थलमै डालो वा थुन्सेले छोप्थ्यो। आफ्नो भाग सुरक्षित गरी सकेपछि सबैको चासो हुन्थ्यो- कसले आफ्नो भाग कहाँ लुकाएको छ भन्ने। लुकाउन प्रयोग गर्ने घरभित्र न हो ः खोजेपछि कसैले पनि कसैको भाग पत्ता लगाउन नसक्ने कुरै हुँदैनथ्यो। अनि, भागबाट गायब हुन्थ्यो- पेस्ता, काजु, हाडेबदाम, ओखर, किसमिस, चकलेट आदि। भागमा बाँकी रहन्थ्यो- सुपाडी, ल्वाङ्ग, मखना, मिश्री आदि। फलफूलमा सुन्तला, स्याउ, अंगुर आदि बेलैमा गायब हुन्थे र बाँकी रहन्थ्यो- नास्पाती। मिठाइमा झर, खजुरी र अनर्सा उडाइसकेका हुन्थे र रोटी बाँकी रहन्थ्यो। अरूको भाग मैले उडाएँ, मेरो आफ्नै भाग चाहिँ सुरक्षित छ भन्ठान्ने जो हुन्थ्यो, आफ्नो घुमाउने टपरीमा रोटी, सुपाडी, नासपाती र मखना मात्र बाँकी देखेपछि उसको अनुहार विरक्तलाग्दो हुन्थ्यो।

सामान्यतया रमाइलाका लागि चाडपर्वमा हामी तास खेल्थ्यौँ। तास खेल्नका लागि हामीलाई हामी–हामी नै पर्याप्त थियौँ। तासको जुनसुकै खेल खेल्नका लागि पनि हामीलाई बाहिरको मान्छे चाहिँदैनथ्यो : घरभित्रै पुग्थ्यो। तास खेलमा हाम्रो परिवारमा सबैभन्दा पहिले प्रशिक्षित हुने सौभाग्य मलाई प्राप्त भयो। त्यतिबेला घरपरिवारमा मनोरञ्जनका लागि दहरमारा, ट्वान्टीनाइन, तुरूप र सातहाते तासको खेलहरू बढी प्रचलनमा थिए।

यी खेलका लागि सामान्यतया चारजनाको आवश्यकता पर्दथ्यो । हाम्रो परिवारमा बा, काकाबा र कान्छीदिदी तास खेल्न जान्ने। तर तासका सामान्य खेलका लागि प्रायः चारजनाको आवश्यकता पर्ने। हजुरआमा तास त चिन्नु हुन्थ्यो : खेल्न भने सुरुबुरु दहरमारा र लद्दे मात्र आउने हजुरआमालाई। तास झार्दा झुक्किनु पनि हुन्थ्यो र भन्नुहुन्थ्यो- ‘छाप्पा!’ यहाँ छाप्पाको अर्थ ‘यथास्थितिमा खेल अगाडि जान सक्दैन’ भन्ने हुन्थ्यो। खेलमा ‘छाप्पा’ बाक्लै हुने भएपछि बा, काका बा र कान्छी दिदीलाई वैकल्पिक खेलाडीको आवश्यकता बोध हुन्थ्यो।

तास खेलका लागि त्यो वैकल्पिक खेलाडीको अवसर स्वाभाविक रूपमा मैले पाएको थिएँ। तास खेलका सन्दर्भमा बा पुस्ता र छोरा पुस्ताका बीचको सेतु हुने मौका पनि मलाई नै मिल्यो। मैले जेजति जानेको थिए, सबै भाइलाई खेलमा प्रशिक्षित पारि दिएँ। यसो गर्नु किन पनि आवश्यक ठानियो भने, आफूलाई खेल्न मन लाग्दा म बा/काकाबालाई आग्रह गर्न सक्दिनँथें। भाइहरूलाई मनाउन कठिन थिएन। यसले मलाई भाइहरूका बीचमा ‘नजान्नेका बीचमा जान्ने’ हुन सहज पनि भयो । अब विस्तारै घरमा तासका अनेक बुक हुन थाले।

कुनै तास च्यातियो वा हरायो भने पहिले त हामी जोकरलाई केरकार गरेर सट्टा तास बनाउँथ्यौं ः अलि धेरै तास हराएका/च्यातिएका छन् भने हामी अर्को बुकबाट लिएर तासको परिपूर्ति गर्दथ्यौं। अब तास अगाडिबाट त चिनिन्थ्यो नै। पछाडिबाट पनि चिनिन्थ्यो।

गोजीमा सामान्य पैसा छ भने हामी दाजुभाइ घरमा जम्मा भएका छौं भने हामीलाई मज्जा लाग्ने तासको खेल बन्यो- फुट्टिकट। गोलखाडी पनि रहेछ- यसको नाम । चारजनाले खेल्ने खेल। यसमा खेलभन्दा बढी झेल हुने । कहिले खेलाडीहरू यसरी बोल्थेस सबै जोड्दा एक्काइस हात हुन्थ्यो । कहिले कोही बोल्थ्यो- पाँच हात, खान्थ्यो- चार र लेख्थयो- एक ओटी। कसलाई मात्र ख्याल गर्नु! कहाँसम्म ख्याल गर्नु!!

कुन उत्प्रेरणाले हो, एकपटक बाले मादल ल्याउनु भएछ। मादल बजाउने कोही थिएन- हाम्रो घरमा। न बा बजाउनु हुन्थ्यो, न अरू कोही। ती दिनमा घरमा सहयोगीको रूपमा हुनुहुन्थ्यो-बुढाथोकी मामा । उहाँलाई पनि मादल बजाउन आउँदैनथ्यो। मलाई त सजिलो थियो ः भन्थें- ‘मेरो त देब्रे हात चल्छ, देब्रे हात चल्नेले मादल बजाएको कतै देखेको छ?’

राम्रो के भने, ताल समात्न नजान्ने हामी जस्ता मानिसले बजाउँदा पनि मादल बज्थ्यो। कसैले गफ लगाइ दिएको थियो- ‘बजाउँदाबजाउँदै मादलमा हात बस्छ, बजाउने व्यक्तिले ताल पक्रिन्छ।’ तर त्यस्तो कहिल्यै भएन। अवस्था कति दयनीय पनि हुने भने हामीले हाम्रो मादल बजाई दिनका लागि अरु व्यक्तिसँग अनुनय विनय गर्नुपर्ने भयो। कोही आउँथ्यो र मादल बजाई दिन्थ्यो। हामी दंग पर्थ्यो। हामीलाई लाग्थ्यो- ‘जसले बजाए पनि आखिर बजेको त हाम्रै मादल न हो!’

हामीकहाँ मादल बजाउने व्यक्तिले गीत पनि गाइदिनु पर्ने। हामीलाई मादलको ताल पक्रेर गीत गाउन पनि नआउने। कसैले मादल बजाएर गीत गाई दियो भने एउटा नाँच्थ्यो। नाँच्नका लागि उसको प्रिय गीत थियो- ‘हिमाल चुचुरी, दाइको मन कान्छा कति निष्ठुरी।’ अर्को पनि नाँच्थ्यो, उसको प्रिय गीत थियो- ‘पूर्नेको जून छ, मन भए माया लाइ राखे हुन्छ।’ अर्को पनि नाँच्थ्यो। उसलाई नाँच्न न गीत चाहिन्थ्यो ः न मादलको ताल । ऊ कसैले निबन्ध पढ्यो र ’नाँच’ भन्यो भने पनि नाँच्थ्यो। अहिले पनि नाँच्छ। कुनै नखरा नपारीकन नाँच्न अघि सर्ने हामीहरूमध्ये उही एउटा हो। दिदीले खासै नाचेको अझै देखिएको छैन। दिदीबहिनीमा नाँच्ने माहिँली, साहिँली र कान्छी बहिनी हुन्। त्यसमा पनि साहिँली र कान्छी राम्रो नाँच्छन्। अझै नाँच्छन्।

यिनै दिनमा एउटालाई खैंजेडी नभई भएन। खैजेडीका लागि ठेकीको माथिको भाग चाहिने । यो हत्पत्त नपाइने । पहिले त उसले घरमै विचार ग¥यो। घरभित्र संभावना नभएपछि ऊ त्यसको चहारीमा कहाँ मात्र पुगेन र! कोही नौलो मान्छे घरमा आएको छ भने सामान्य कुराकानीपछि उसको प्रश्न हुन्थ्यो- ‘तपाईको घरमा बिग्रेको पुरानो ठेकी छ?’ आगन्तुक अकमक्क पर्थ्यो।

काम बाँडफाँटका दृष्टिले ठूलो परिवार उपयुक्त देखिने। धान रोप्ने बेलामा कोही आली लगाउने, कोही जोत्न अघि सर्ने, कोही पानीको बन्दोबस्त मिलाउन खटिने, कोही बिउँ काड्ने, कोही बिउँ ओसार्ने, कोही बाउसे गर्ने। म आफूबाट भने खन्ने प्रकृतिका काम नगर्ने। हलो जोत्न चाहिँ मलाई औधि रमाइलो लाग्ने। एउटा भाइ न जोत्थ्यो, न बिउँ काड्थ्यो, उसको काम आली लगाउने।

खन्ने काममा उसको विशेष लगाव। भिरालो परेको ठाउँमा अलिकति जमिन भेट्यो भने ऊ एउटा सानो फगटोको सम्भावना नियाल्थ्यो। खन्न थालिहाल्थ्यो। अरूलाई पनि त्यही गह्रो बनाउने काममा सामेल गर्थ्यो। सीपको विकास यसरी भएको थियो, कान्छो माथिका चारवटा भाइ चाहिँ कृषिका जुनसुकै काममा पनि फिट!

हामी सात भाइमा पुछारमा तीन भाइहरूमा पढाइप्रतिको लगाव अत्यन्त तीव्र! कान्छोले पढाइमा आफ्नो समयमा जिल्लामै ख्याति कमाइसकेको थियो, यो थियो- बाआमाको ‘नानी’! यो रोपाइ्रँको समयमा पनि अरु काम नगर्ने। गर्ने जम्मा बिउँ काड्ने काम । उसो त किम्बु रोप्न खाल्डो खन्दाखन्दै डाँढ सड्काउने पनि यही भयो । पछि डाक्टर भयो । संयुक्त राज्य अमेरिकाको एक नामी क्लिनिकमा कार्यरत् छ तर अझै डाँढको समस्या उसैलाई छ ।

हामी जो ठूलो जहानमा हुर्कियौं! फरक स्वादसहित हुर्कियौं।

प्रकाशित: ८ कार्तिक २०८२ १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast