काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आन्दोलनरत नर्सहरूका मागप्रति ऐक्यबद्धता जनाएको छ। अध्यक्ष दुजाङ शेर्पाले शनिबार विज्ञप्ति जारी गर्दै देशव्यापी आन्दोलनरत नर्सहरूका मागप्रति ऐक्यबद्धता जनाएका हुन्।
‘देशभरका नर्सहरूले आफ्ना पेशागत अधिकार, सम्मान र न्यूनतम सुविधा सुनिश्चित गर्न जारी आन्दोलनप्रति नेपाल विद्यार्थी संघ, केन्द्रीय समिति पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
नेविसंघले नर्सहरू, स्वास्थ्यकर्मीहरुको न्यूनतम पारिश्रमिक, जोखिम भत्ता र सम्मानजनक सुविधा तत्काल सुनिश्चित गर्न माग गरेको छ। उनले निजी अस्पतालहरूमा सरकारी तलब मापदण्ड र सुविधा कार्यान्वयनको प्रभावकारी अनुगमन तथा नियमन अनिवार्य रूपमा हुनुपर्नेमा पनि जोड दिएको छ।
‘श्रम शोषण, विभेद र अपमानजनक व्यवहार अन्त्य गर्न ठोस कानूनी तथा नीतिगत सुधारहरू अविलम्ब लागू गर्न संघ नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।
श्रम ऐन, २०७४ अनुसार नेपालमा न्यूनतम ज्याला १९ हजार ५५० तोकिएको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८१ पुस २७ गतेको निर्देशनले नर्सहरू तथा स्वास्थ्यकर्मीहरूका लागि पाँचौं तहको न्यूनतम पारिश्रमिक ३४ हजार ७३० कायम गरेको छ ।
तर, अधिकांश नर्सहरू अझै पनि उक्त मापदण्ड भित्रपर्न सकेका छैनन्। उनीहरू १५ देखि २० हजारसम्मको न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन्। ‘यो अवस्था अत्यन्तै चिन्ताजनक छ, जसका कारण नर्सहरूको जीवनयापन, पेशागत मर्यादा र भविष्यमा गम्भीर असर पु¥याउँदा विदेशिनसमेत बाध्य बनाएको छ’, नेविसंघले भनेको छ।



