छठका लागि जनकपुरधामस्थित धनुषसागर पोखरी सरसफाइ गर्दै नेपाल प्रहरी।
जनकपुरधाम- चार दिनसम्म मनाइने लोकआस्थाको पर्व छठ शनिबारदेखि विधिवत रूपमा सुरू भएको छ। छठको पहिलो दिन ‘नहायखाए’ मनाइँदैछ।
ब्रतालुहरू सफा र शुद्धभई चोखो कुरामात्र खाने भएकाले यसलाई ‘नहायखाए’ भन्ने गरिएको हो। ‘नहायखाए’ को दिनपछि छठ नसकुन्जेल ब्रतालु तथा परिवारका सदस्यहरू माछा, मासुजस्ता आहार खान बन्द गर्ने गर्दछन्।
त्यसपछि दोस्रो दिन खरना मनाइने गरिन्छ। खरनालाई छठको मुख्य विधि पनि भनिन्छ। ब्रतालुहरू दिनभर उपवास बसी शुद्ध पारिएको कोठामा खीर, पुरी, केरासहितका प्रसाद केराको पातमा राखेर इश्वरको आराधना गर्ने गर्दछन्।
सन्तानप्राप्ति, निरोगिता, सुखसमृद्धिी र चर्मरोग निको हुने जनविश्वासका साथ श्रद्धापूर्वक मनाइने छठको दोस्रो दिन खरना मनाइन्छ। खरनामा पुजा गरेको पापको क्षय हुने जनविवास रहेको छ।
त्यस्तै तेस्रो दिन अस्ताउँदै र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्वको समापन हुने गर्दछ।
शुद्धता र पवित्रतालाई विशेष ध्यान दिइने छठ पर्वको तयारीमा ब्रतालु तथा स्थानीय जुटेका छन्। छठ पुजा गरिने पाखरी तथा घाटहरूको सरसफाइ तथा सजाउने काममा स्थानीयहरू जुटेका हुन्। त्यस्तै ब्रतालुहरू पुजा सामग्रीको जोहोमा जुटेका छन्।
छठ पुजा गरिने जनकपुरधामका पोखरीहरूको सरसफाइमा स्थानीय युा क्लबका प्रतिनिधिहरू जुटेका छन्। यहाँका एक दर्जनभन्दा बढी पोखरीमा छठ पुजा मनाइन्छ। घाटहरूको सरसफाइका लागि सुरक्षाकर्मीहरूले समेत उनीहरूलाई साथ दिएका छन्। शनिबार नेपाल प्रहरीको टोलीले जनकपुरधामस्थित गंगासागर, धनुषसागरलगायतका पोखरीहरूको सरसफाइ गरेका छन्।
यहाँको गंगासागर, धनुषसागर, अंगराजसर, रत्नसागर, बिहारकुण्ड, दरशथ तालवलगायतका पोखरीहरूमा भव्यताका साथ छठ पूजा गरिन्छ।
छठ पर्वका ब्रतालु तथा परिवारका सदस्यहरू पुजा सामग्रीको बन्दोबस्तमा जुटेका छन्। छठ पर्वका लागि महत्वपूर्ण मानिने केरा, उखु, नरिवल, स्याउलगायतका फलफूलका साथै बाँसले तयार पारिएका ‘चँगेरी’, ‘ढकिया’, ‘छिट्टा’ लगायतका सामग्री बन्दोबस्त गर्न जुटेका हुन्।
त्यस्तै माटोले तयार पारिएका हात्ती, ढकना, गाग्रीलगायतका सामग्रीको समेत छठ पर्वमा विशेष महत्व हुन्छ।
विगतमा मधेशी हिन्दु समुदायले मात्र मनाउँदै आएको छठ पर्व अहिले राजधानी काठमाण्डौँसहित पहाडी जिल्लाहरुमा समेत व्यापकता पाउन थालेको छ। छठ पर्वकाे अवसरमा मधेश प्रदेश सरकारले दुई दिन बिदा दिएकाे छ।



