काठमाडौँ- नेपाल त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा आज इरानसँग ३-० ले पराजित भएको छ।
भारतको सिलोङमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफको सुरुवात मै नेपाल सम्हालिन सकेन । ८ मिनेट भित्र नेपालले ३ गोलको सामना गरेको थियो।
४९ औं मिनेटमा सारा दिदारले लामो पासलाई नियन्त्रणमा लिएर विमला विकलाई विट गर्दै इरानको लागि गोलको खाता खोलिन्। विमलालाई विट गरेपछि साराले दोस्रो बारमा फिनिस गर्दा गोलकिपर फस्ट बारमा थिइन्।
५२ औं मिनेटमा फ्रिकिकमा कप्तान जाहरा घानबारीले गोल गर्दै अन्तर दोब्बर पारिन् । ५७ औं मिनेटमा टाढैबाट सबनम बिहिसेतले गोल गरेपछि इरानले ३-० ले खेल जित्यो । पछिल्लो दुई गोलमा एन्जिलाको विफल पार्ने प्रयास सफल भएन।
त्यसपछि एन्जिलाको सट्टा अन्जना राना मगरले पोष्ट सम्हालेकी थिइन्। प्रीति राई, कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र रश्मिकुमारी घिसिङले गोल फर्काउन गरेको प्रयास सफल भएन ।
पहिलो हाफमा रेखा पौडेल र ‘साम्बा’ले समान १ मौका गुमाउँदा नेपालले अग्रता लिन सकेन। रेखाले ३० औं मिनेटमा गरेको प्रहार बाहिरियो भने पहिलो हाफको अन्त्यतिर साम्बा को प्रहारले पोष्टको दिशा लिन सकेन ।
१३ औं मिनेटमा इरानको खेलाडीको प्रहारलाई गोलकिपर एन्जिला तुम्बापो सुब्बाले रोकिन्। प्रतियोगिताको पहिलो खेलमा इरानले भारतलाई २-० ले हराएको थियो। इरानले लगातार दुई जितका साथ त्रिकोणात्मक सिरिज जितेको छ।
नेपाल र इरान ७ वर्षपछि एकअर्काको सामना गरेका हुन्। त्यतिबेला भारतमै भएको हिरो गोल्ड कपमा नेपालले इरानलाई ३-० ले हराएको थियो। साम्बाको २ र अनिताको १ गोलमा नेपाल विजयी भएको थियो।
प्रतियोगितामा नेपालले दोस्रो खेल मंगलवार भारतसँग खेल्नेछ। यी दुई खेल फिफा विन्डोको खेल हुन् । यो प्रतियोगितापछि कात्तिक १३ गते नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल हुनेछ।
आजको खेलमार्फत हिरा कुमारी भुजेल र दिपा शाहीलेले अन्तर्राष्ट्रिय फुटबल पुनरागमन गरेका छन्। हिरा पहिलो रोजाइमा खेलिन् । दोस्रो हाफमा हिराको ठाउँमा दिपा मैदान प्रवेश गरिन्। हिरा र दिपा दुबै साफ च्याम्पियनसिपमा चोटग्रस्त भएपछि मैदान बाहिर थिए।



