सुदन गुरुङ भन्छन्- यही संविधानमा टेकेर नेताहरूलाई सजाय दिनेछौं

हिमाल प्रेस ७ कार्तिक २०८२ ६:१०
18
SHARES
सुदन गुरुङ भन्छन्- यही संविधानमा टेकेर नेताहरूलाई सजाय दिनेछौं

काठमाडौँ- आफूलाई जेनजी आन्दोलनको नेतामा प्रस्तुत गर्दै आएका सुदन गुरुङले बिहीबार भाइटीकाको दिन माइतीघर मण्डलमा कार्यक्रम आयोजना गरे। गत भदौ २३–२४ गतेको आन्दोलनमा ज्यान गुमाएका व्यक्ति-सहि‍दहरूको तस्बिर राखेर त्यही स्थानमा भाइटीका कार्यक्रम सम्पन्न गरिएको थियो।

कार्यक्रममा जेनजी आन्दोलनमा मारिएका तस्बिरमा माला र फूल चढाइयो। विवादास्पद गैरसरकारी संस्था ‘हामी नेपाली’ का संयोजक समेत रहेका सुदनले पछिल्लो समय आफूलाई जेनजीको नेता भनेर प्रस्तुत गर्दै आएका छन् र बिहीबार पनि त्यही भूमिकामा उपस्थित थिए। उनले राष्ट्रिय झण्डा ओढेर बोलेका थिए। उनले भनेका थिए- अब नेताहरू जनता अगाडि डराउनुपर्ने अवस्था छ।

सरकारी कार्यालय तथा विभिन्न विभागहरूमा पुगेर निर्देशन दिन सुरु गरेको र छाया सरकारले जस्तै काम गरिरहेको बताउँदै सुदनले यो सरकारका भ्रष्ट नेताहरूमाथि कुनै सम्झौता नहुने बताए

‘पहिले नेताहरू जनता अगाडि डराउँदैनथे,’ उनले भने, ‘तर नेपालका नेताहरू र कर्मचारीहरू अहिले जनतासँग डराउन थालेका छन्। यो जेनजी आन्दोलन र नेपाली जनताको ठूलो उपलब्धि हो। यो उपलब्धि कायम राख्न अन्तिमसम्म लड्नुपर्छ।’

सुदनले देश बन्द नहुन्जेलसम्म आन्दोलन जारी रहने बताए। ‘देश नबनेसम्म लडौँ। यो अन्तिम लडाइँ हो, वार कि पारको लडाइँ हो। हामी जेनजीभित्र फुट्ने काम नगरौँ। आपसमा झगडा नगरौं र घरको झगडा घरमै राखौँ।’

उनले भारत जाँदै नेपालको समस्या राखेर ढ्यांग्रो ठोक्ने परम्परा आगामी दिनमा नदोहरिनुपर्ने बताए। ‘छिमेकीसँग गई ढ्यांग्रो बजाउने काम नहुनुपर्छ। संविधान जोगाउनुको कारण यही हो,’ उनले भने, ‘हामीसँग भएका नेताहरू नेपाली हुन्। उनीहरूलाई हामी आत्मसात् गर्नुपर्छ।’

सुदनले अहिले नेपाली जनतासँग दुई मात्रै विकल्प रहेको बताए। ‘देशलाई सुम्प्ने कि बिगार्ने। अब हामीले देश बनाउन पहल गर्नुपर्ने समय हो। तिहारपछि हामी सबै मिलेर टोल–टोलमा रहेका समस्याहरू पहिचान गरौँ। ६ महिनाभित्र देशमा परिवर्तन ल्याउन सकिन्छ।’

प्रकाशित: ७ कार्तिक २०८२ ६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast