
लेखनाथ (कास्की)- होटल संघ पोखरा नेपालद्वारा तिहारको अवसरमा बिहीबार लेकसाइडमा आयोजना गरेको १८औँ भाइटीका महोत्सवमा एक सयभन्दा बढी पर्यटकले सहभागिता जनाएका छन्।
महोत्सवमा १५ भन्दा बढी देशका पर्यटकले भाइटीका लगाएका आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। संघले पोखरा र सिंगो नेपालको पर्यटन प्रवर्द्धन र संस्कृतिको संरक्षणका लागि विविध महोत्सव आयोजना गर्दै आएको उल्लेख गर्दै उनले यस पटक भाइटीका महोत्सवमा पर्यटकको उल्लेख्य सहभागिताका कारण विशेष बन्न पुगेको बताए।
महोत्सवमा ‘रेन्वो चिल्ड्रेन होम’का छात्राहरुले पर्यटकलाई टीका लगाइदिएका थिए। सहभागी पर्यटकलाई नेपाली ढाका टोपी र पछ्यौरा उपहार प्रदान गरिएको थियो। पर्यटकहरुले सेलरोटीलगायत नेपाली परिकार खानुका साथै देउसीभैलो पनि खेलेका थिए।
सप्तरङ्गी टीका लगाएका पर्यटकहरु नौलो अनुभव लिन पाएको भन्दै दंग थिए। अष्ट्रेलियाबाट आएकी पर्यटक एनीले आफू धेरै पटक नेपाल आएको र यस पटक नेपाल आएर टीका लगाउन पाउँदा हर्षित भएको प्रतिक्रिया दिए। नेपाल सांस्कृतिक रुपमा धनी रहेको र नेपालीको अतिथि सत्कारबाट आफू प्रभावित भएको उनको भनाइ थियो।
संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष सुवेदीले बताए। पछिल्लो पटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्र समेत प्रभावित हुन पुगेको उल्लेख गर्दै महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे। रासस