मानुङकोटमा चिसो मौसमसँगै आन्तरिक पर्यटकको चहलपहल

हिमाल प्रेस ६ कार्तिक २०८२ १६:४९
6
SHARES
मानुङकोटमा चिसो मौसमसँगै आन्तरिक पर्यटकको चहलपहल

तनहुँ- व्यास नगरपालिका–५ स्थित मानुङकोटमा चिसो मौसम सुरु भएसँगै आन्तरिक पर्यटकको आवागमन उल्लेख्य रूपमा बढ्न थालेको छ। दृश्यावलोकनका लागि आकर्षक मानिने यो स्थानमा दैनिकजसो देशका विभिन्न स्थानबाट पर्यटक पुग्ने गरेका छन्।

तिहार बिदाका कारण अहिले दैनिक औसतमा तीन सयभन्दा बढी आन्तरिक पर्यटक मानुङकोट पुग्ने गरेको स्थानीयले बताएका छन्। दमौलीका सोमबहादुर नेपालीका अनुसार सूर्योदयका बेला देखिने कुहिरोले यहाँ पुग्ने जोकोहीलाई मोहित बनाउँछ। बन्दीपुरका सुदिन पौडेलले दमौली बजार कुहिरोले ढपक्क ढाकिएको दृश्य हेर्नकै लागि मानिसहरू आउने गरेको बताए।

मानुङकोट हिलटप होटलका सञ्चालक चुडामणि दाहालका अनुसार विगत एक सातादेखि पर्यटकको चाप तीव्र रूपमा बढेको छ। अधिकांश पर्यटक अघिल्लो दिन नै बास बसेर बिहान सूर्योदय र कुहिरो अवलोकन गर्छन्। पर्यटक बढेसँगै होटल व्यवसाय पनि फस्टाउँदै गएको छ। पहिले होटल नदेखिने मानुङकोटमा अहिले करिब एक दर्जन होटल सञ्चालनमा आएका छन्।

व्यास नगरपालिकाले यहाँ दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ जडान गरिएको छ। रेलिङसँगैको भागमा हालै पैदलमार्ग पनि बनाइएको छ। मानुङकोटबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।

दमौली बजारलाई कुहिरोले ढाक्ने दृश्य एक पौराणिक कथासँग पनि जोडिएको छ। जनश्रुति अनुसार पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न चाहँदा लोकले नदेखोस् भनेर कुहिरो उत्पन्न गराएका थिए। यही कारण यो क्षेत्र कुहिरोसँग सम्बन्धित धार्मिक आस्थाको स्थलका रूपमा पनि चिनिन्छ।

पर्यटक बढेसँगै सहर झरेका स्थानीय पुनः गाउँ फर्केर व्यवसाय सुरु गर्न थालेका छन्। पहिले खानेपानी अभावका कारण गाउँ छाडेका स्थानीय अहिले बजारमा पाइने जार र ट्याङ्करको पानी प्रयोग गर्न थालेका छन्।

सहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा अलैंचेमानुङकोट सडक कालोपत्र गरिएको छ। कुल ४,३०० मिटर सडक कालोपत्र हुँदा यहाँ पुग्न सजिलो भएको छ। कठिन भूभागमा करिब १८० मिटर आरसीसी ढलान समेत गरिएको छ।

प्रकाशित: ६ कार्तिक २०८२ १६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast