
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सबै जाति, समुदायका चाडपर्वले सामाजिक विविधतालाई एकताबद्ध गर्ने बताएका छन् ।
तिहारको अवसरमा शुभकामना दिँदै उनले नेपालीको मौलिक पहिचान बोकेको पर्व, संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
स्वेदश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले तिहारले आपसी सम्मानभावका लागि अनुपम सन्देश दिएको बताए । उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको नेपाली समाजमा सबै जाति र सम्प्रदायका चाडपर्व, संस्कृतिले सहयोग गर्ने उल्लेख गरे ।
चाडपर्वले समाजलाई सहअस्तित्वसहितको असल बाटोमा अघि बढाउन हामी सबैलाई अभिप्रेरित गर्ने बताउँदै अध्यक्ष नेपालले सबै समुदायका बीच आपसी सहयोग, सद्भाव, भ्रातृत्व कायम गरी सामाजिक न्याय, समानता, सुशासनयुक्त राज्य निर्माणमा जोड दिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले खराब प्रवृत्तिको अन्त्यसहित सबैको अस्तित्वलाई ग्रहण गर्दै देश विकासमा क्रियाशील हुन सबैमा प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरे ।