प्रधानमन्त्री कार्कीलाई कलाकारहरूको सुझाव : दुष्प्रचारबाट नडराई अघि बढ्नोस्

हिमाल प्रेस ५ कार्तिक २०८२ १९:२२
14
SHARES
प्रधानमन्त्री कार्कीलाई कलाकारहरूको सुझाव : दुष्प्रचारबाट नडराई अघि बढ्नोस् तस्बिरः रासस

काठमाडौँ- कलाकारहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई दुष्प्रचार र प्रोपोगान्डाबाट नडराई आफ्नो संकल्पअनुसार अघि बढ्न सुझाव दिएका छन्।

बुधबार बालुवाटारमा प्रधानमन्त्री कार्कीलाई भेट्न पुगेका समकालीन नेपाली सिनेमाका ९ जना चर्चित कलाकारहरूले भ्रष्टाचारविरुद्धको कारबाही र आगामी निर्वाचनलाई ‘अर्जुन दृष्टि’ बनाएर अघि बढ्न अनुरोध गरेका हुन्।

भेटमा कलाकारहरूले सरकारसँग कुनै व्यक्तिगत माग नभएको स्पष्ट पार्दै भने, ‘यो देश रहेमा माग्ने कुरा माग्दै गरौँला, तर अहिले देश नै बचाउने बेला हो। सरकार दह्रो खुट्टाले अघि बढोस्, हामी साथमा छौँ।’

अभिनेत्री ऋचा शर्माले भनिन्, ‘जब सबैलाई डर लागिरहेको बेला आमा आउनुभयो, हामी ढुक्क भएका छौँ। तपाईंको सरल र स्पष्ट बोल्ने शैलीले भरोसा जगाएको छ। देश ठिक दिशामा अघि बढ्नेछ।’

सामाजिक सञ्जालमार्फत फैलाइँदै आएको दुष्प्रचारबारे कलाकारहरूले चिन्ता व्यक्त गर्दै त्यसप्रति सचेत रहन सरकारलाई आग्रह गरे। अभिनेता विपिन कार्कीले भने, ‘गृहमन्त्रीज्यूका अडानले सरकार डराएको छैन भन्ने विश्वास बढेको छ। अझ दरिलो सरकार अनुभव गर्न चाहन्छौँ।’

त्यसै गरी, अभिनेता निश्चल बस्नेतले समाजमा सकारात्मकता फैलाउन सबैले भूमिका खेल्नुपर्ने बताए। उनले भने, ‘सरकारले आफ्नो बाटो सही छ भन्ने लाग्छ भने डराउनुपर्ने छैन। हामी तपाईंको पक्षमा छौँ।’

संगीतकार एवं गायक कालीप्रसाद बाँस्कोटाले भड्काउने प्रयासहरूप्रति चेतावनी दिँदै भने, ‘समाज भड्काउन सजिलो छ, सम्हाल्न गाह्रो। अहिले सम्हाल्ने र एक हुने समय हो।’

प्रधानमन्त्री कार्कीले कलाकारहरूको समर्थनप्रति आभार व्यक्त गर्दै भनिन्, ‘समाजमा तपाईंहरूको ठूलो प्रभाव छ। दुष्प्रचार चिर्न तपाईंहरूले पनि भूमिका खेलिदिनुहोस्। कमी कमजोरी भए औँल्याइदिनुहोस्, तर असल नियतका साथ अघि बढ्दा गाली आए पनि हामी डराउँदैनौँ।’

भेटमा कलाकार तथा सर्जकहरू विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपिन कार्की, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा, ऋचा शर्मा, र कर्मालगायतको उपस्थित थियो। भेटघाटको संयोजन पुकार बमले गरेका थिए।

प्रकाशित: ५ कार्तिक २०८२ १९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast