दाङको जम्मुचिरा जलाशयमा चलाइयो डुंगा

हिमाल प्रेस ५ कार्तिक २०८२ १७:३९
4
SHARES
दाङको जम्मुचिरा जलाशयमा चलाइयो डुंगा

तुलसीपुर (दाङ)- दाङको तुलसीपुर उपमहानगरपालिका-१ देवीस्थानस्थित जम्मुचिरा जलाशय (ड्याम) मा डुंगा सञ्चालनमा ल्याइएको छ। सिँचाइका लागि निर्माण गरिएको उक्त जलाशयमा आन्तरिक पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले डुंगा सञ्चालनमा ल्याइएको हो।

वडाध्यक्ष हुमकान्त सापकोटाले स्थानीयस्तरमा स्वरोजगार सिर्जना गर्नुका साथै पर्यटन प्रवर्द्धनका लागि डुंगा सञ्चालनमा ल्याइएको बताए। ‘खास गरी यो ड्याम सिँचाइका लागि निर्माण गरिएको हो’, उनले भने, ‘तर यसलाई पर्यटनका हिसाबले पनि जोड्न सकिन्छ, भनेर हामीले अहिले डुंगा पनि सञ्चालनमा ल्याएका छौँ।’ यसले स्थानीय युवालाई स्वरोजगार बनाएको उनको भनाइ छ।

नजिकै मनकामना मन्दिर रहेकाले मन्दिर दर्शन गर्न आउनेले डुंगा पनि सयर गर्न पाउने वडाध्यक्ष सापकोटाले बताए। ‘नजिकै मन्दिर छ, त्यो मन्दिरमा आउनेहरूले अब डुंगा पनि सयर गर्न पाउछन्’, उनले भने, ‘त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई झनै आकर्षण गराउनेछ।’ उनका अनुसार तुलसीपुर उपमहानगरपालिकाले उक्त डुंगा उपलब्ध गराएको हो।

यहाँ विभिन्न प्रजातिका ४० हजार माछाका भुरासमेत राखिएको जनाउँदै वडाध्यक्ष सापकोटाले त्यसले स्थानीयको आम्दानीको स्रोतलाई पनि बढाउने विश्वास व्यक्त गरे। यहाँको बाँझो जग्गामा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले ड्याम बनाएको उनले बताए।

ड्याम नहुँदा यहाँका खेतीयोग्य जग्गा बाँझै हुने गरेकामा जलाशय सञ्चालनमा खाएसँगै यहाँका किसानले सहजै बेमौसमी तरकारी उत्पादन गर्न थालेका स्थानीय प्रमोद कँडेलले बताए।

यहाँका एक हजार हेक्टरबढी जग्गामा सिँचाइ पुर्‍याएको जनाउँदै वडाध्यक्ष सापकोटाले यसबाट तीन हजार बढी किसान लाभान्वित भएका बताए। रासस

प्रकाशित: ५ कार्तिक २०८२ १७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast