सहरमा ‘पटका आतंक’, सीमा सुरक्षा फितलो

विवेक विवश रेग्मी ५ कार्तिक २०८२ १७:१८
8
SHARES
सहरमा ‘पटका आतंक’, सीमा सुरक्षा फितलो

इटहरी- उज्यालो र फूलको पर्व तिहार उत्सवमय छ। सोमबारदेखि घरघरमा भित्रिएको तिहारको खुसीयालीमा मानिसहरू रमाइरहेका छन्। खुसीयालीसँगै मानिसमा त्रास पनि त्यत्तिकै छ। त्रास हो पटकाको, पटकासँगै हुन सक्ने आगलागीको जोखिमको। सहर आतंकित हुने गरी पटका पड्काउँदा बिरामी, जेष्ठ नागरिक र बालबच्चामा असर पर्ने चिकित्सक बताउँछन्। थर्थराउने गरी पड्किएका आवाजले जोखिम बढेको छ।

कोशी प्रदेशका मुख्य सहरी क्षेत्र सुनसरीका धरान, इनरुवा, इटहरी, मोरङका विराटनगर, सुन्दर हरैँचा, उर्लाबारी, बेलबारी र झापाका दमक, बिर्तामोड, गौरीगन्ज, उदयपुरका गाईघाट, बेलटारलगायतका विभिन्न सहरमा ठूला आवाजमा पटका पड्काउने गरिएको छ। सुनसरी, मोरङ र झापामा खुला सिमाना र फितलो सुरक्षा व्यवस्थाका कारण भारतबाट पटका भित्रिएको जानकारहरू बताउँछन्। अन्य वर्षमा सामान्य किसिममा आवाज आउने पटका अहिले भने बन्दुकको जसरी आवाज निकालेर पड्काउने गरेको पाइएपछि सहर नै आतंकित बनेको गुनासो स्थानीय बासिन्दाको छ।

यसअघिका वर्षमा इटहरीस्थित संगीतचोक गुलजार बन्ने गरेको थियो। चाडपर्वलाई पर्यटनसँग जोड्ने उद्देश्यले बजार क्षेत्रमा सामूहिक रूपमा झिलिमिली बत्ती लगाइन्थ्यो। यसबाट आन्तरिक पर्यटन प्रवर्धनमा टेवा पुगेको व्यवसायीहरू बताउँछन्। जेनजी आन्दोलनपछि इटहरी उपमहानगरपालिकाका दुईवटै दमकल जलाइएपछि यस वर्ष यस क्षेत्रमा झिलिमिली बत्ती लगाइएको छैन।

संगीतचोकका परिकल्पनाकार एवम् संगीत साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसीका अनुसार आगलागीको डर हुने भएकाले बजार क्षेत्रमा लगाइएन। पटकाको आवाजले भने सहर आतंकित बनेको छ। ‘संगीतचोक र तिहार एकअर्काका परिपूरकजस्तै हुन्। उपमहानगरको दमकल जलेका कारण आगलागीको डर हुने भएकाले बजार क्षेत्रमा भने बत्ती लगाइएन,’ केसीले हिमालप्रेससँग भने, ‘यसपटक हरेक दिन ९० हजार मानिसलाई भित्र्याउने लक्ष्य थियो। चाडपर्वलाई पर्यटनसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा गत भदौदेखि छलफल हुँदै आए पनि यस वर्ष झिलिमिली बत्ती लगाइएन। तर पटका पड्काउँदा आगलागीसमेत हुनसक्ने भएकाले हरेक मानिस आफैँ सचेत रहनुपर्ने हो।’

सुनसरी, मोरङसहितका जिल्ला प्रशासन कार्यालयले तिहारअगावै सूचना जारी गरी पटका नपड्काउन र गैरकानुनी कार्य नगर्न आग्रह गरे। मनोरञ्जनका नाममा गैरकानुनी रूपमा चिट्ठा, जुवातास, कौडा, लंगुरबुर्जा, सट्टाबाजीजस्ता कानुनले निषेध गरेका क्रियाकलाप नगर्न-नगराउन प्रशासनले आग्रह गरेको थियो। यसैगरी पटका, आतिसबाजी, जस्ता विस्फोटकजन्य पदार्थ नपड्काउने साथै त्यस्ता पदार्थहरूको निकासी, ओसारपसार एवं बिक्रीवितरण नगर्न आग्रह गरिएको थियो।  सहर आतंकित हुनेगरी जताततै ठूला आवाजमा पटका पड्काउन रोकिएको छैन।

प्रशासनले जारी गरेको सूचनाअनुसार पटका पड्काउन मात्रै होइन, मनोरञ्जनका नाममा गैरकानुनी कार्य पनि गर्न पाइँदैन। तर जताततै लंगुरबुर्जा (डाइस) खेल्ने गरेको पाइएको छ। इटहरी क्षेत्रका विभिन्न चोकचोकमा डाइस खेलाउँदा ठूलो रकमको लेनदेन हुने गरेको छ । ठूला रकमका दाउमा युवादेखि व्यापारीसम्म संलग्न छन्। जुवाजन्य खेल तथा पटकाजन्य पदार्थमा सुरक्षाकर्मीको उपस्थिति नहुँदा यस्ता गतिविधि बढिरहेको स्थानीयवासीको गुनासो छ।

प्रशासनले तिहारलाई शान्तिपूर्ण ढंगले मनाउन आग्रह गर्दै जुवा, डाइस, पटका र मादक पदार्थ सेवनजस्ता कार्य कानुनी अपराध हुने र सार्वजनिक स्थानमा होहल्ला नगर्न भने पनि त्यसको धज्जी उडाइएको छ।
अधिकांश पटका भारतबाट सीमाबाटै भित्र्याइने गरिन्छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार तिहार नजिकिँदै गर्दा भारतीय सीमापारबाट पटका भित्रिन्छ। सीमा क्षेत्रमा सुरक्षा व्यवस्था फितलो रहेको स्थानीय बताउँछन्।

कोशी प्रदेशका १४ वटा जिल्लामध्ये सुनसरीको भण्टाभारी नाका, मोरङको जोगबनी नाका, झापाको काँकडभिट्टा र भद्रपुर नाका, इलामको पशुपतिनगर नाका भारतसँग प्रत्यक्ष जोडिएको खुल्ला सीमा क्षेत्र हो। सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा व्यवस्थाको जिम्मेवारीमा रहन्छ। सीमा नाकाबाटै यस वर्ष भने पटका भित्रिएको छ।

सुनसरीको ६२ किलोमिटर खुला सीमा भारतसँग जोडिएको छ। जिल्लाको कोशी ब्यारेजदेखि अमडुवा हुँदै भारतको सुपौल र अररिया जिल्लासँग जोडिएका नाका तथा आसपासका क्षेत्रबाट पटका भित्रिने गरेका छन्।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि सीमावर्ती क्षेत्रमा सुरक्षा संयन्त्रको ध्यान आन्तरिक व्यवस्थापनतर्फ मोडिएका बेला तस्करी समूह सक्रिय बनेको छ। सुरक्षा निकायका अनुसार त्यही अवधिमा भारतबाट ठूलो परिमाणमा पटकालगायतका प्रतिबन्धित वस्तुहरू नेपाल भित्र्याइएका छन्। आन्दोलनपछिका केही दिन सीमाक्षेत्रमा नियमित जाँच, गस्ती र निगरानी प्रणाली कमजोर बनेको मौकामा तस्करहरूले सीमा नाका हुँदै पटका भित्र्याउने वातावरण पाएका थिए।

‘जेनजी आन्दोलनपछि प्रहरी र सशस्त्र बल दुवै पक्ष आन्तरिक अवस्थाको व्यवस्थापनमा व्यस्त हुँदा सीमा क्षेत्रको निगरानी क्षणिक रूपमा कमजोर भएको थियो,’ एक सुरक्षा अधिकारीले भने, ‘त्यही समयलाई लक्षित गरेर तस्कर सक्रिय बनेको हो कि भन्ने आकलन गर्न सकिन्छ।’

स्थानीयवासीका अनुसार अहिले पनि सीमावर्ती बजारमा भारतीय पटका खुलेआम बिक्री भइरहेको छ। विराटनगर, इटहरीसहितका सहरमा समेत खुलेआम रूपमा पटका बिक्री गरिँदै आएको छ। यद्यपि प्रहरीले निगरानी बढाएको र पटका बरामदसमेत गरिँदै आएको जनाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी ईश्वर कार्कीले तिहारमा चमक र आवाजको मोह बढ्दै जाँदा त्यसको ‘साइड इफेक्ट’ नेपाली अर्थतन्त्रमा पर्न थालेको जिकिर गरे। तिहार अवधिमा भारतबाट आयात हुने पटकाका कारण प्रत्येक वर्ष लाखौँ रुपैयाँ बराबरको नेपाली मुद्रा विदेशी बजारतिर बगाइरहेको उनले बताए। ‘पटकाको कुनै उपयोग छैन। बरु पैसा भारत जान्छ, स्वास्थ्य र वातावरण दुवै बिग्रन्छ,’ उनले भने, ‘चेकजाँचमा कडाइ गरिरहेका छौँ, तर पटका पड्किने क्रम घटेको छैन।’

मंगलबारसम्ममा सुनसरी, मोरङ र झापालगायतका जिल्लाबाट १८ लाख ३५ हजार रुपैयाँ बराबरका पटाका बरामद भएको उनले बताए। चाडपर्व नजिकिँदै गर्दा सीमा क्षेत्रमा सुरक्षा सक्रियता बढाइए पनि पटकाको प्रयोग बढेको छ। ‘दियो र मालाले नै संस्कृति जोगाउँछ, पटकाले होइन। विस्फोटका क्रममा घाइते, आगलागी, अंगभंग र वातावरण प्रदूषणको खतरा हुन्छ,’ डीआईजी कार्कीले भने।

स्थानीय बजारमा खुलेआम भारतीय पटका बिक्री भइरहँदा यसको नियन्त्रण गर्न प्रहरी मात्रै जिम्मेवारी नभई सांस्कृतिक चेतना र नागरिक उत्तरदायित्व पनि हो भन्ने सन्देश दिन आवश्यक रहेको जानकारहरू बताउँछन्। पटकामा एलुमिनियम नाइट्रेट, सुल्फरडाइअक्साइड, लिड र बारुदजस्ता धातुयुक्त रसायन मिसाइएकाले वातावरणमा औद्योगिक प्रदूषणभन्दा बढी असर गर्ने चिकित्सकहरू बताउँछन्।

कोशी अस्पतालका फिजिसियन डा. रोशन खड्का भन्छन्, ‘पटकाको आवाज र प्रदूषणका कारण गर्भवती महिलामा गर्भपतनको जोखिम हुन्छ। बालबालिकामा रगत र स्नायुमा समस्या देखिन्छ।’ मनोरञ्जनका नाममा बालबालिकाले पटका पड्काउने तर तत्काल हातमुख नधुने हुँदा रसायन शरीरमा पस्ने र दीर्घकालीन रोग निम्त्याउने जोखिम बढ्ने उनको भनाइ छ।

प्रकाशित: ५ कार्तिक २०८२ १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast