तिहारको रौनकमा भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो

हिमाल प्रेस ५ कार्तिक २०८२ १६:४०
2
SHARE
तिहारको रौनकमा भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो फाइल तस्बिर

भक्तपुर- नेपाली हिन्दुहरूको दोस्रो महान् चाड तिहारको रौनक देशभर छाएको छ। भक्तपुरका किसानलाई भने यतिखेर पाकेको धान भित्र्याउन भ्याइनभ्याइ भएको छ। असिना, पानी पर्ला र पाकेको धान झार्ला भन्ने चिन्तामा परेका यहाँका किसान तिहारको रौनकमा पनि वर्षदिनको कमाइ धान भित्र्याउन व्यस्त छन्।

हरेक दिन खेतखेतमा धान काट्ने र भित्र्याउने किसानको उल्लेख्य उपस्थिति देखिन्छ। भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीका किसान सानुभाइ गिरीले पाकेको धान काटेर हतारमा भित्र्याउन थालेको बताए।

उनले भने, ‘तिहारको रौनकले छोपेको छ, तर हामी किसानलाई असिना पानीको डर भयो, त्यसैले पाकेको धान भित्र्याउन थालेका हौँ, यहाँका धेरै किसानले तिहारको रौनकलाई छाडेर धान भित्र्याउन थालेका छन्।’

बिहिबार भाइटीकाको दिन मात्रै खाली बस्ने भन्दै गिरीले अन्य दिन धान काट्ने, चुट्ने र भित्र्याउने काममा व्यसतता बढेको बताए। सबै काम सक्ने अझै दुई साता लाग्ने उनको भनाइ छ।

चिउरा मिल सञ्चालकहरूले चिउराका लागि खेतखेतमा पुगेर धान किन्ने भएकाले कतिपय कृषकले राम्रोसँग बोटमा नपाकेको हरियो धानसमेत काटेर सस्तोमा बिक्री गर्न थालेका छन्।

चाँगुनारायण–७ वागेश्वरीकी प्रमिला कार्कीले चिउरा मिल सञ्चालकले ताइचिन धान प्रतिकिलो ८० रूपैयाँका दरले खेतमै उठाउन आएपछि धान काट्ने बित्तिकै खेतबाटै बिक्री गर्न थालेको बताइन्।

सूर्यविनायक नगरपालिका–९ चित्तपोलकी सुभद्रा बस्नेतले तिहारको व्यस्ततासँगै धान भित्र्याउने काम थपिएको बताउँदै यही वर्षदिनभरिको किसानको कमाइ भएको बताइन्।

जिल्लाको धानखेती हुने ताथली, सुडाल, चित्तपोल, नङ्खेल, कटुञ्जे, गुण्डु, सिपाडोल, छालिङ्ग, बागेश्वरी, नगरकोट, दुवाकोट, झौखेललगायत क्षेत्रका किसानको यतिखेर धान काट्ने र भित्र्याउने काममा व्यस्तता बढेको हो। रासस

प्रकाशित: ५ कार्तिक २०८२ १६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast