
भारत- तिहारमा दियो बाल्नु सांस्कृतिक वा धार्मिक परम्परा मात्र होइन यसले मानसिक एकाग्रता र स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ। दियोको ज्वालामा ध्यान केन्द्रित गर्ने अभ्यासलाई ‘त्राटक’ भनिन्छ। त्राटक एक प्राचीन योगिक ध्यान विधि हो।
यस अभ्यासमा मधुरो बलिरहेको बत्ती वा दियोको ज्वालामा हेर्ने गरिन्छ। जसबाट मानसिक स्पष्टता, स्मरणशक्ति र एकाग्रता बढाउने विश्वास गरिन्छ।
हैदराबादको यशोदा अस्पतालकी मनोवैज्ञानिक डा.प्रज्ञा रश्मीका अनुसार त्राटक अभ्यासले प्यारासिम्पेथेटिक स्नायु प्रणालीलाई सक्रिय पार्छ। यसले शरीरमा शान्तता ल्याउँछ, श्वास फेर्न सहज बनाउँछ र मुटुको धड्कन सामान्य राख्छ।
जब आँखा स्थिर रहन्छ तब मस्तिष्कको दृश्य कोर्टेक्स सक्रिय भएर लामो समयसम्म ध्यान केन्द्रित गर्ने क्षमता विकास हुने बताउँछिन् डा.प्रज्ञा।यसले अल्फा मस्तिष्क तरंगहरूलाई सक्रिय पार्छ। तनाव घटाउँछ, रचनात्मकता बढाउँछ र मानसिक ताजापन ल्याउँछ। आयुर्वेद अनुसार ज्वालामा हेर्दा शरीरको अग्नि तत्व सक्रिय हुन्छ। यसले मानसिक ऊर्जा र भावनात्मक सन्तुलनमा सहयोग पुर्याउँछ।
विभिन्न वैज्ञानिक अध्ययनहरूले त्राटक अभ्यासले अनिद्राको समस्या कम गर्ने, आँखाको स्वास्थ्यमा सुधार ल्याउने र मानसिक शान्तिमा सहयोग पुर्याउने देखाएका छन्। यसलाई दैनिक केही मिनेट अभ्यास गर्दा ध्यान क्षमतामा उल्लेखनीय सुधार आउने देखिएको छ। यद्यपि, गम्भीर आँखाको समस्या भएका व्यक्तिहरूले चिकित्सकको सल्लाहबिना यस्तो अभ्यास गर्नु हुँदैन।
यसकारण तिहारको दियो केवल अन्धकार हटाउने साधन होइन एकप्रकारको ध्यान साधन पनि बन्न सक्छ। वन्लीमाईहेल्थबाट