
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो घरमा लक्षित रूपमा आगजनी र लुटपाट भएको दाबी गरेका छन्। बुधबार भक्तपुरको बालकोटस्थित आफ्नो निवासमा पुगेका ओलीले आन्दोलनको नाममा योजनाबद्ध रूपमा आफूलाई लक्ष्य बनाइएको बताएका हुन्।
जेनजी आन्दोलनका क्रममा जलाइएको घरको अवस्थालाई अवलोकन गर्दै ओलीले भने,‘मैले यहाँ धेरै भन्नुपर्ने केही छैन। तस्बिर आफैँ बोलिराख्या छ। जसरी छानी–छानी व्यक्तिका घरहरू जलाइएको छ, लुटिएको छ, त्यसले धेरै कुरा स्पष्ट हुन्छ।’
उनका अनुसार घरमा रहेका धेरै मूल्यवान सामग्रीहरू चोरी गरिएको छ। ‘केही टनका ढुंगाका मूर्तिहरू थिए। त्यहाँ शिवको मूर्ति थियो, बुद्धको मूर्ति थियो, सरस्वतीको मूर्ति थियो। ती जस्ता भारी वस्तुहरू समेत कसरी उठाएर लगियो, आश्चर्य लागेको छ,’ ओलीले भने।
ओलीले आफूलाई लक्षित गरेर यो घटना गरिएको दाबी गरे। उनका अनुसार आन्दोलनकारीहरूले आफूलाई नपर्ने, काम नलाग्ने वस्तुहरूमा मात्र आगो लगाएका छन् र सबै बहुमूल्य सामग्रीहरू उठाएर लगिएको छ।
‘त्यसैले यो सामान्य घटना होइन, लक्षित रूपमा गरिएको हमला हो,’ उनले भने। साथै उनले देशैभरि एमालेका नेताहरूको घरमा यस प्रकारका घटनाहरू दोहोरिएको पनि आरोप लगाए।
‘यो मेरो मात्रै होइन, देशभरी एमालेका नेताका घर खोजीखोजी जलाइएको छ। पार्टीका कार्यालयमा आगजनी गरिएको छ,’ ओलीको भनाइ थियो।