
काठमाडौ– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शंखधर साख्वाबाट भएका जनताको स्वतन्त्रता र आर्थिक मुक्ति जस्ता लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गरेका छन् ।
‘नेपाल संवत् ११४६’ प्रारम्भ भएको अवसरमा राष्ट्रपति पौडेलले शुभकामना दिँदै निस्वार्थ भावले सामाजिक समानता, सुशासन, उन्नति र प्रगतिका लागि अग्रसर एवम् कटिवद्ध रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
‘लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले नयाँ युगको सुरुवात गरेको सम्झनामा यस संवत्लाई प्रचलनमा ल्याएको मानिन्छ,’ राष्ट्रपति पौडेलले भनेका छन्, ‘नेपाली समाज सभ्य, सहिष्णु र एकताको सुत्रमा आवद्ध रहेको सन्दर्भमा हाम्रा चाडपर्व र सांस्कृतिक अभ्यास दर्शाउने यस्ता परम्पराहरूले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र पहिचान आदिलाई सुदृढ बनाउँदै लगेका छन् ।’
साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने रुपमा नेपाल संवत्को रुपमा रहेको देखिन्छ ।
यस संवत्को पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ । यस दिनलाई नेपाल संवत्को नयाँ वर्षको रूपमा काठमाडौँ उपत्यकालगायत नेवार समुदायको बाहुल्यता रहेका देशभरका विभिन्न स्थानहरूमा नयाँ संवत् शुरू हुने विशेष पर्वका रूपमा मनाउने गरिन्छ ।