
तनहुँ- आँबुखैरेनी गाउँपालिका-१ को याञ्चोकटार लघु उद्यमी महिला समूहमा आबद्ध महिलाहरूले सामूहिक रूपमा सयपत्री फूलखेती गरेका छन्। याञ्चोक आमा समूह र आँधीमूल आमा समूहलाई ‘मर्ज’ गरी यहाँका महिलाहरूले २०८० सालदेखि व्यावसायिक फूलखेती गरिरहेका हुन्। अन्य बालीनाली लगाउँदा बाँदरले खाएर दुःख दिन थालेपछि फूलखेती सुरु गरेका उद्यमीहरूले जनाएका छन्।
समूहकी अध्यक्ष सुन्तली गुरुङले विशेष गरी तिहारका समयमा यस खेतीबाट बढी आम्दानी हुने गरेको बताइन्। यसपटकको तिहारको भाइटीका नजिकिँदै गर्दा फूल र मालाका माग धान्न भ्याइनभ्याइ भएको उनले जानकारी दिइन्।
अध्यक्ष गुरुङले भनिन्,‘हाल दैनिक ४० जना जनशक्ति फूल टिप्न र माला बनाउन खटिइरहेका छन्। माग धान्न धौ धौ भएको छ। कतिपय व्यवसायीहरू फूल खोज्दै बारीमा पुग्न थालेपछि बजारीकरणमा केही सहज भएको छ। गत वर्ष रु चार लाख ३० हजार बराबरको फूल बिक्री भएकामा यस वर्ष रु पाँच लाखभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ।’
आँबुखैरेनी कृषि शाखाप्रमुख सन्तोष केसीले हाल यहाँ थोरै फूलखेती गरेका किसानले पनि रु ३५ देखि ४० हजारसम्म फूल बिक्री गरेको बताए। उनले मागअनुसार फूल आपूर्ति गर्न नसकिएको बताए। ‘सुरुमा जसजसले बुकिङ गरे उनीहरूलाई दिन मात्रै सकिएको छ अरुलाई फूल र माला बिक्री गर्न सकिरहेका छैनौँ’, शाखाप्रमुख केसीले भने,‘यस क्षेत्रमा मौत्र ५० रोपनी क्षेत्रफलमा फूलखेती गरिएको छ। करिब रु १५/१६ लाखको फूल उत्पादन हुनुपर्ने भए पनि सोचेअनुरुप उत्पादन भने भइरहेको छैन।’
यहाँ प्रतिमाला रु ८० देखि १०० सम्म बिक्री मूल्य तोकिएको छ। सयपत्री फूल प्रतिकिलोग्राम रु ३५० देखि ४०० सम्म कायम गरिएको छ। गत वर्षको तुलनामा यसवर्ष प्रतिमालामा रु ५० बढी मूल्य पाइएको पुष्प व्यवसायीहरू बताउँछन्। गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा सयपत्रीको खेती प्रविधि र बजारीकरणमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए। ‘माग धान्न सकिएको छैन। अर्को वर्ष एक महिनादेखि नै बुकिङ काउन्टर खुला गर्ने योजना बनाउँछौँ’,उनले भने,‘फूलखेतीले यस क्षेत्रका महिलाहरू आत्मनिर्भरतर्फ उन्मुख बन्दै गएका छन्। पालिकाले यसलाई थप व्यवस्थित बनाउँछ।’