निष्कपट शिक्षामन्त्री पुन र मर्यादा भुलेका पत्रकार

हिमाल प्रेस ४ कार्तिक २०८२ १५:३२
130
SHARES
निष्कपट शिक्षामन्त्री पुन र मर्यादा भुलेका पत्रकार

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुनले सोमबार ‘पत्रकारज्यूहरूलाई सूचना’ भन्दै फेसबुकमा एउटा सूचना राखे। जहाँ लेखिएको थियो,‘धेरै पत्रकारहरूले दसैँपछि समय माग्दा पनि मैले समय दिन सकेको थिएनँ। सबैलाई कुनै एक दिन समय दिने बाचा गरेको थिएँ। त्यसैले आज सोमबार दिउँसो २ बजे अन्तर्वार्ता लिन चाहने पत्रकारहरू केशर महलअगाडिको खुला ठाउँमा आउनुहोला। सामूहिक भेटघाट र कुराकानी गरिनेछ। समय एक घण्टा मात्र छ।’

मन्त्री पुनको यो सूचनाअनुसार पत्रकार मूलतः युट्युबरहरू केशरमलस्थित मन्त्रालय पुगे। शिक्षामन्त्री पुन धेरै तडकभडक गर्दैनन्। तर पत्रकारलाई बोलाइसकेपछि केही व्यवस्था त गर्लान् भन्ने थियाे तर भएन। मन्त्री भएपछि आफ्ना काम फेसबुकबाटै जानकारी गराएका पुनले सोमबार पत्रकारलाई बोलाएर महत्त्वपूर्ण निर्णय सुनाउन लागेका हुन् कि भन्ने धेरैको आकलन थियो। विशेष सम्बोधन केही पनि रहेनछ।

पत्रकारसम्मेलनको वातावरण त्यस्तै थियो। नेपालको विज्ञान र प्रविधिका क्षेत्रमा मन्त्री पुनको नाम अग्रस्थानमै आउँछ। तर उनी अर्गानिक कुराकानी गर्छन्। सम्बधोनमा औपचारिकता विरलै पाइन्छ। त्यही अर्गानिक कुराकानी र मन्त्रालयमै खाने, सुत्ने गर्नाले महावीर सामाजिक सञ्जालमा भाइरल छन्।  कतिपयले उनलाई सुशीला कार्की क्याबिनेटका ‘भाइरल मन्त्री’ समेत भन्ने गरेका छन्।

पत्रकार सम्मेलनमा यस्तोसम्म देखियो कि बुम, माइक राख्नेसम्म टेबुल थिएन। खाली कुर्सीमाथि पत्रकारले झोला राखे। त्यसमाथि आफ्ना बुम, माइक। झोलामाथि बुमको चुली लाग्याे। त्याे पल्टिने भएपछि मन्त्री पुन आफैँले दुवै हातले समातेर बोलिरहेको दृश्य रोचक थियो। मन्त्री पुनको छातीमा पनि उत्तिकै माइक थिए। छातीमा नअटेर घाँटीसम्मै पुग्यो।

कुकुर तिहारको दिन त्यसमाथि छातीदेखि घाँटीसम्मै माइक माला। सञ्जालमा त्यो भिडियो हेरेर अनेक अर्थ पनि लगाएका छन्। कुर्सीसमेत नराखी खाली चौरमा पत्रकार सम्मेलन गरेर मन्त्री पुनले के सन्देश दिन खोजेका हुन् या पत्रकार बोलाइसकेपछि मन्त्रालयले व्यवस्थापनमा कुनै चासो देखाएन या मन्त्री पुनले त्यतापट्टि ध्यान दिएनन्? अझ पत्रकार सम्मेलनमा मन्त्री पुनले पत्रकारहरूलाई भाइहरू, तिमीहरूसमेत भने। उनले भनेका थिए,‘ल भाइहरू। बैनीहरू पनि छन् क्यारे! हत्तेरी एउटैले तीनवटा प्रश्न नसोधौँ न हौ। अरूहरूले पनि सोधौँ न हौ।’

पुनका केही भनाइहरू महत्त्वपूर्ण थिए। उनले जेनजी आन्दोलनका क्रममा शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को उत्तरपुस्तिका जलेको र पुनः परीक्षा सञ्चालन गर्न करिब १ करोड ७५ लाख रुपैयाँ खर्च लाग्ने बताए। उनले भनेका थिए, ‘उत्तरपुस्तिका जलेकाले फेरि परीक्षा लिन १ करोड ७५ लाख खर्च हुने देखिएको छ।’ विभिन्न प्रदेश र जिल्लाबाट उत्तरपुस्तिका क्षतिको विवरण संकलन भइरहेको पनि पत्रकार सम्मेलनमा बताए।

मन्त्री पुनले पत्रकार सम्मेलनमा बोलेको अर्को महत्त्वपूर्ण विषय प्रधानमन्त्रीलाई श्विद्यालयको कुलपति बनाउने व्यवस्था हटाउने छलफल भएको कुरा हो। प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुँदा राजनीतिक हस्तक्षेप हुने गरेको भन्दै उक्त व्यवस्था अन्त्य गर्न मन्त्रालयमा छलफल भइरहेको उनले जानकारी गराए। उनले भने, ‘अब प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्नुपर्छ भन्ने विषयमा छलफल भइरहेको छ।’

सामुदायिक विद्यालयमा प्रधानाध्यापक छनोटमा चरम राजनीति हुने गरेको र त्यसलाई रोक्न प्रधानाध्यापक छनोट कार्यविधि ल्याउने, अपांगता भएका शिक्षकलाई सरुवामा सजिलो बनाउने र त्रिभुवन विश्वविद्यालयको जग्गा हडपेर नाजायज फाइदा लिइरहेको अवस्थामा मन्त्रालयले उपयुक्त कदम चाल्ने पनि उनले पत्रकार सम्मेलनमा उठाए।

पत्रकार सम्मेलनमा मन्त्री पुनलाई प्रश्न सोध्न कुनै सीमा थिएन। विशेषगरी युट्युबरहरूले रोलेक्स घडीदेखि मन्त्री पुनका व्यक्तिगत विषयमाथि पनि प्रश्न राखे। प्रश्न सोध्दा मन्त्री पुनले पत्रकारले के विषयमा चासो राख्ने नराख्ने भन्ने उल्टै सचेत गराए।

प्रकाशित: ४ कार्तिक २०८२ १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast