
काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।
मंगलबार काठमाडौंमा आयोजित देउसी भैलो कार्यक्रममा सहभागी भएका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले घोषणा गरेको निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन आफूहरूले पनि सहयोग गर्ने भन्दै राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिएका हुन्।
उनले संविधानलाई संशोधन गर्दै संघीयतालाई परिस्कृत र सुधार गर्न सकिने भन्दै संविधान सुधारको पक्षमा बृहत् राजनीतिक छलफलको आवश्यकता रहेको धारणा राखे। अध्यक्ष नेपालले सबै राजनीतिक दल र नेताहरुलाई उस्तै–उस्तै नठान्न आग्रह समेत गरे।
उनले सुशासन, भ्रष्टाचारको अन्त्यलगायत जेनजी पुस्ताको मागप्रति यसअघिको सरकार गम्भीर नभएका कारण युवाहरू सडकमा आउनुपरेको र सो क्रममा द:ुखद् घटना भएको बताए। उनले जेनजी आन्दोलनमा भएको घुसपैठको छानबिन गरेर दोषिमाथि कडा कारबाही गर्नुपर्ने जिकिर गरे।
त्यसै गरी उनले जेनजी पुस्ताहरुको आन्दोलनका क्रममा गोली चलाउने काम पनि निन्दनीय भएकाले त्यसको पनि उचित छानबिन हुनुपर्ने धारणा राखे। संविधान र गणतन्त्रमाथि आँच आउने काम कसैले पनि गर्न नहुने उनको भनाइ छ।