
मुस्ताङ- विश्व शान्ति र स्थिरताको कामना गर्दै यहाँको घरपझोङ गाउँपालिका-५, ढुम्बास्थित कुछ्प तेरंगा गुम्बामा ‘ध्योक्योप’ पूजा र देव नृत्य प्रदर्शन गरिएको छ।
आज (सोमबार) यहाँ आयोजित कुछ्प तेरंगा गुम्बामा यहाँस्थित विभिन्न गुम्बाका लामाहरूद्वारा बुद्ध धर्म परम्पराअनुसार ‘ध्योक्योप’ पूजासहित वेशभूषा र मुकुट लगाएर देव नृत्य प्रदर्शन गरिएको हो।
गुरु पद्यसम्भव विभिन्न स्वरुपमा प्रकट भएका देवीदेवताको मुकुट लगाएर स्थानीय बौद्ध गुम्बाका लामाले देव नृत्य प्रदर्शन गरेका हुन्। करिब आधा शताब्दीदेखि निरन्तर चल्दै आइरहेको यसप्रकारको पूजा र देव नृत्य प्रदर्शनीले बौद्ध धर्मप्रति आस्था विश्वाश राख्ने भक्तजनलाई धार्मिक मोक्षप्राप्त हुने विश्वास गरिएको छ।
यसप्रकारको गुरु पद्यसम्भवसँग सम्बन्धित देवीदेवताका नृत्य अवलोकन गर्नाले मरेपछि पनि स्वर्गमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ। पूजामा लामाहरूले बजाउने ढ्याङ्गोलगायत बाजाका तालमा सामूहिक रूपमा देवीदेवताका नृत्य प्रदर्शन गरेको ठिनी गाउँका स्थानीय नीरज थकालीले बताए।
ध्योक्योप अवलोकन गर्नाले मानिसहरूको ग्रहदशा हटाउने, अनिष्ट, प्राकृतिक विपद्को रोकथाम गर्ने, अशान्ति र दुःखकष्ठ अन्त्य गराउने जनविश्वास रहेको छ। ध्योक्योप पूजा र देव नृत्यको माध्यमबाट भक्तलाई भगवान् चिन्न सकोस भन्ने उद्देश्यले यसप्रकारको ध्योक्योप नृत्य बर्सेनि देखाउने प्रचलन रहेको थकालीले बताए।
ध्योक्योप अवलोकनका लागि जोमसोम, स्याङ, मार्फा, ठिनी, कागबेनीलगायत स्थानबाट नागरिक यहाँ पुगेका थिए।
मुस्ताङको ढुम्बा, स्याङ र टुकुचेलगायत गुम्बामा बर्सेनि यसप्रकारको ध्योक्योप पूजा र देव नृत्य प्रदर्शन गर्ने प्रचलन रहेको छ। रासस