
पोखरा- पोखराको हेमजामा गाडीको ठक्करले घाइते भएका ५५ वर्षीय एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन।
आइतबार राति पोखरा-२५, हेमजामा नौडाँडाबाट पोखरातर्फ आउँदै गरेको नम्बर नखुलेको सवारीसाधनले ती व्यक्तिलाई ठक्कर दिई भागेको थियो। घाइतेलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले आइतबार नै मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
ठक्कर दिने सवारीसाधन र चालकलाई प्रहरीले सोमबार पोखरा रंगशाला गेट अगाडिबाट प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ। पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका १, भुकताङ्ले घर भई हाल पोखरा १५, फूलबारी बस्ने २८ वर्षीय सुशील सुनार हुन्। उनले चलाएको गाडी ग १ ज ७११० नम्बरको सुमो हो।
प्रहरीले चालकलाई कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।