
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुनले सामुदायिक विद्यालयका प्रधानाध्याकप चयनमा हुने गरेको राजनीतिकरण रोक्न मन्त्रालयले कार्यविधि बनाउन लागेको बताएका छन्।
सोमबार केशरमहलस्थित शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डा.पुनले आफूले थालेका कामबारे जानकारी दिँदै यस्तो बताएका हुन्।
‘हेडमास्टर चयन गर्ने पनि राजनीतिकरण भएर अयोग्य व्यक्ति हेडमास्टर बन्ने जथाभावी भएको देखेको हुनाले हेडमास्टर छान्नका लागि स्थानीय तहलाई एउटा निर्देशिका (कार्यविधि) बनाएर पठाउने भन्ने छ। त्यो कार्यविधि बन्दै छ,’ उनले भने।
त्यस्तै, पाठ्यक्रम परिवर्तन गर्नुपर्ने सुझाव धेरैको आएको भन्दै त्यसमा पनि काम थालिएको मन्त्री पुनले बताए। उनले भने,‘पाठ्यक्रम धेरै पुरानो भयो भन्ने गुनासो आएको हुनाले हामीले पाठ्यक्रम विकास केन्द्रमा नै गएर पाठ्यक्रम कसरी बनाउने भनेर उनीहरूलाई काममा लगाइसकेको छ।
खासगरी पाठ्यक्रममा नैतिक शिक्षालाई राख्नुपर्ने भन्ने माग आएको जानकारी दिँदै मन्त्री पुनले पूर्व व्यवसायिक, इतिहास, संविधानका कुरा राख्नुपर्छ भन्ने माग पनि रहेको बताए।