
नेपाल, इन्डोनेसिया, मोरक्को, पेरु र अहिले माडागास्करसम्मका नेताहरूलाई चुनौती दिइरहेका जेनरेसन जेड (जेनजी) का प्रदर्शनकारीहरू यति बेला विश्वमा उदाउँदो नयाँ शक्तिमा देखापरेका छन्। आन्दोलनबाट शासनसत्ता ढाल्न सक्रिय जेनजीको संगठन र सैद्धान्तिक आधारचाहिँ बलियो देखिँदैन। यद्यपि यो पुस्ता तेस्रो विश्वका धेरै मुलुकहरूमा चुनौतीको विषय बनेको छ।
माडागास्करका राष्ट्रपति एन्ड्री रजोएलिना यस महिनाको सुरुतिर देश छोडेर भागे। त्यसपछि सत्ता सेनाको कब्जामा पुग्यो। यस क्रममा रजोएलिना प्रदर्शनकारीहरूले फहराएको एउटा झण्डा हेर्ने फुर्सद पाएका थिएनन् होला। झण्डामा एउटा फुस्रो टोपी लगाएको खोपडी र हड्डीको प्रतीक अंकित थियो। नेपाल, इन्डोनेसिया, मोरक्को, पेरु र अहिले माडागास्करसम्मका नेताहरूलाई चुनौती दिइरहेका जेनजी प्रदर्शनकारी यही चित्रको प्रतीकात्मक झण्डामुनि एकत्रित भएका छन्। उक्त चित्र जापानी मंगा (चित्रकथा) बाट लिइएको हो। त्यो चित्रकथामा विद्रोही पात्रहरूको समूहले भ्रष्ट र दमनकारी शासनसँग लडाइँ गरेको प्रसंग छ।
‘टिकटक पुस्ता’, ‘जेनरेसन जेड’ (सन् १९९७ देखि २०१२ बीच जन्मेका) वा ‘विद्यार्थी प्रदर्शनकारी’ जे भनिए पनि विश्वभरका युवा अहिले राजनीतिक परिवर्तनको माग गरिरहेका छन्। कतिपय ठाउँमा त्यसलाई साकार पनि पारिरहेका छन्। बंगलादेशकी पूर्वप्रधानमन्त्री सेख हसिना पनि एक उदाहरण हुन्। उनलाई गत वर्ष विद्यार्थी नेतृत्वको आन्दोलनले पदच्यूत गरेको थियो।
जेनजीको प्रदर्शन विशेषतः त्यस्ता देशहरूमा अर्थपूर्ण छन् जहाँ जनसंख्याको मध्यउमेर निकै कम छ। उदाहरणका लागि माडागास्करमा आधा जनसंख्या १९ वर्षमुनिका छन्। त्यहाँ आन्दोलनको थालनी बिजुली र पानीका कटौतीका कारण भए पनि बेरोजगारी र धनी वर्गको दम्भपूर्ण विलासिताप्रतिको घृणाले आन्दोलन उचाइमा पुग्यो।
अफ्रिकामा मध्य उमेर १९ वर्ष छ र रोजगारी सिर्जनाको अवस्था दयनीय छ। सोही कारण युवा शक्ति बिस्तारै प्रभावशाली तर अनिश्चित शक्तिका रूपमा उदाइरहेको छ। सन् २०१९ मा सुडानमा प्रविधिका जानकार युवाहरूले ओमर अल-बसिरको ३० वर्षे तानाशाही शासन ढाल्ने आन्दोलन अघि बढाए। गत वर्ष केन्यामा जेन जेडका नाममा उत्रिएका प्रदर्शनकारीहरूले राष्ट्रपति विलियम रुटोलाई कर वृद्धिको योजना फिर्ता लिन र मन्त्रिपरिषद् बर्खास्त गर्न बाध्य पारे। गत अक्टोबरमा मोरक्कोका जनजी २१२ (त्यहाँको टेलिफोन कोडअनुसार) नामक युवाहरू रोजगारीको अवसर माग्दै र २०३० को विश्वकप आयोजना खर्चको विरोध गर्दै रबात, कासाब्लांका र ट्यांगियरमा सडकमा उत्रिएका थिए।
जेनजीका अधिकांश आन्दोलनहरू सामाजिक सञ्जालमार्फत सञ्चालित र नेताविहीन छन्। उदाहरणका लागि नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा प्रतिबन्ध लगाउन खोज्दा युवाहरू सडकमा उत्रिए। त्यसबाट ठूलो जनधनको क्षति भयो भने नेपाली कांग्रेस र एमालेजस्ता ठूला दल मिलेर गठन भएको जननिर्वाचित सरकार ढल्यो, प्रतिनिधिसभा विघटन भई निर्दलीय अन्तरिम सरकार गठन भएको छ।
सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्नु केही हप्ताअघि इन्स्टाग्राम र टिकटकमा #NepoKid र #NepoBabies जस्ता ह्यासट्यागसहित ‘अपलोड’ गरिएका भिडियोमा नेताका सन्तानले उपभोग गर्ने महँगा कार, ह्यान्डब्याग र विलासीपूर्ण जीवनका विविध पक्ष समेटिएका थिए। राजनीतिक नेतृत्वको परिवारका सदस्यहरूको त्यस्ता विलासी जीवनशैलीका तस्बिरहरूले युवाहरू भित्रभित्रै आगोझैँ भएका थिए। उनीहरूले सामाजिक सञ्जालमा पनि त्यसको विरोध गरेकै हुन्। ‘जनतासँग नुन छैन तर तपाईँले सुनचाँदीका प्लेटमा खानुपर्छ’, लेखिएको एउटा इन्स्टाग्राम पोस्टमा केही वरिष्ठ नेपाली नेताका सन्तानहरू स्याम्पेन पिइरहेको देखाइएको छ।
जेनजीको शक्तिले शासकहरूलाई नेपालमा मात्रै होइन, केन्यादेखि इरानसम्म दमन गर्न कठिन बनाएको छ। जहाँ राज्यले गरेको हिंसाको प्रतिकार गरिएको छ। आन्दोलनहरू बारम्बार उठिरहेका छन्। तर यही स्वरूप जेनजीको कमजोरी पनि हो। किनभने उनीहरू आफ्नो आक्रोशलाई ठोस नीति वा वैकल्पिक राजनीतिक संरचनामा रूपान्तरण गर्न सक्दैनन्। त्यसकारण तिनलाई तुरुन्त समाधानको बाचा गर्ने नेताहरूको प्रभावमा पारिदिन्छ।
उदाहरणका लागि बुर्किना फासोका ‘क्याप्टेन इब्राहिम ट्राओरे’ जो आफूलाई विरोध-औपनिवेशिक क्रान्तिकारी र टिकटकका मास्टरका रूपमा चिनाउँछन्। जेनजीबीच उनले आदर्श छवि प्राप्त गरेका छन्। अमेरिकामा डोनाल्ड ट्रम्पले टिकटकको राजनीतिक उपयोगिता छिट्टै बुझेका थिए। उनले त्यसबाट युवाहरूको ‘सामान्य राजनीति भत्काउने’ चाहनाको लाभ उठाएको देखिन्छ।
जेनजी सधैँ स्थायित्वको शक्ति हुँदैन। सुडानमा आदर्शवादी नागरिक आन्दोलनको शक्ति सेनाले कब्जा गरेपछि देश भयानक गृहयुद्धमा डुब्यो। माडागास्करमै २००९ मा ३४ वर्षीय डिजे रजोएलिना युवा आन्दोलनको लहरमा सत्तामा पुगेका थिए। अहिले अर्को पुस्ता र केही जनरलहरूले उनलाई पदच्युत गरेका छन्। यस्ता युवा आन्दोलन प्रायः गलत सूचना अभियानको सिकार पनि बन्न सक्छन्।
जेनजीका प्रदर्शनकारीहरूले सत्तामा जरा गाडेका शासक वर्गलाई लागि चेतावनी दिने हैसियत बनाएका छन्। राजनीति जनतासँगको सामाजिक सम्झौता हो, लुटपाटको प्रमाण होइन भन्ने मान्यता उनीहरूले स्थापित गरिदिएका छन्। धेरै नेताको पहिलो प्रतिक्रिया आन्दोलनलाई कुचल्ने वा दबाउन हुन सक्छ। उनीहरूले बुझ्नुपर्छ- युवा आन्दोलन फेरिफेरि फर्किरहनेछन्। दीर्घकालीन अस्तित्व चाहने नेताहरूले रोजगारी, सेवा र सुरक्षाको वातावरण सिर्जना गर्नुपर्छ। जुन नेताहरूले त्यस्तो गर्न सक्दैनन्, छिट्टै आफ्नै सडकमा टोपी लगाएको खोपडीको झण्डा फहराउँदै युवाहरू देख्नेछन्।