चन्द्रपुरमा शिक्षकको तीन महिनाको तलब सुनिश्चित, ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई बढी राहत

हिमाल प्रेस ३ कार्तिक २०८२ १०:४५
चन्द्रपुरमा शिक्षकको तीन महिनाको तलब सुनिश्चित, ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई बढी राहत

चन्द्रपुर (रौतहट)- लामो समयदेखि तलब नपाएका चन्द्रपुर नगरपालिकाअन्तर्गतका शिक्षक, प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक), विद्यालयका कर्मचारी र कार्यालय सहयोगीहरूको तीन महिनाको तलब भुक्तानी सुनिश्चित भएको छ। सोमबार नगर शिक्षा शाखाको संयोजनमा सम्पन्न सर्वपक्षीय बैठकले तत्काल तीन महिनाको तलब भुक्तानी गर्ने सहमति गरेको हो।

बैठकमा नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डल, शिक्षा शाखाकी जुना तिमल्सिना, वडा नं. १ का अध्यक्ष बलराम राउत, वडा नं.६ का अध्यक्ष सहदेव केसीलगायत शिक्षक तथा कर्मचारीहरूको उपस्थिति थियो।

बैठकमा सहभागीहरूका अनुसार नगरपालिका हालका लागि तीन महिनाको मात्र तलब निकासा गर्न बाध्य भएको जनाएको छ। सो अवसरमा वडा नं.१ का अध्यक्ष बलराम राउतले ‘स्वतः पाउनुपर्ने तलबका लागि आन्दोलन गर्नुपर्ने लाजको विषय हो’ भन्दै शिक्षाकर्मीहरूको माग न्यायोचित र यथार्थपरक रहेको बताए।

त्यस्तै, वडा नं. ६ का अध्यक्ष सहदेव केसीले शिक्षाकर्मीहरूको समस्याप्रति सहानुभूति जनाउँदै सहजिकरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। बैठकमा सहभागी शिक्षकहरूले शिक्षा शाखाले निर्णय गर्दा सीमित व्यक्तिको सल्लाहमा अरूमाथि निर्णय थोपर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै यस्तो अभ्यास दोहोरिएमा शाखा स्वयं जिम्मेवार हुने चेतावनी दिएका छन्।

शिक्षकहरूले प्रत्येक महिनाको २५ गतेभित्र तलबभत्ता भुक्तानी सुनिश्चित गर्न र केन्द्र सरकारबाट प्राप्त रकममा ढिलाइ नगरी IEMIS प्रणालीमार्फत स्वचालित भुक्तानी व्यवस्था मिलाउन माग गरेका छन्।

त्यस्तै, बालविकास सहजकर्ताका हकमा राज्यबाट पठाइएको रकममा नगरपालिका आफैँले थप अनुदान प्रदान गरी तत्काल भुक्तानी गर्नुपर्ने माग पनि गरिएको छ। सो माग पूरा नभए सम्पूर्ण जिम्मेवारी नगरपालिका आफैँले व्यहोर्नुपर्ने चेतावनी समेत दिइएको छ।

शिक्षक र कर्मचारीहरूले असोज महिनासम्म सम्पूर्ण तलबभत्ता भुक्तान गर्न माग गर्दै आवश्यकता परे थप दबाबमूलक कार्यक्रमका लागि तयारी अवस्थामा रहेको बताएका छन्।

प्रकाशित: ३ कार्तिक २०८२ १०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast