विराटनगरमा मौलायो नक्कली नोट र स्रोत नखुलेको रकमको कारोबार

हिमाल प्रेस २ कार्तिक २०८२ १९:१२
10
SHARES
विराटनगरमा मौलायो नक्कली नोट र स्रोत नखुलेको रकमको कारोबार

इटहरी- विराटनगरमा नक्कली नोट र स्रोत नखुलेको रकमको कारोबार मौलाएको छ। नक्कली भारतीय नोट र स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले विराटनगर-१२, सैनिक टोलमा चेकजाँचका क्रममा बीआर ३८ भी ३३२८ नम्बरको भारतीय मोटरसाइकलमा सवार एक व्यक्तिलाई शंका लागेपछि तलासी गर्दा स्रोत नखुलेको रकम बरामद गरेको हो।

बरामद गरेको रकम आठ लाख ४७ हजार नेपाली रुपैयाँ रहेको छ। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार मोरङ जहदा–७ का ४६ वर्षीय नवीन साहले उक्त रकम हेलमेटभित्र लुकाएर ल्याइरहेका थिए। उनको साथबाट एक हजार दरका ८००, पाँच सय दरका ५१, एक सय दरका १४६ र पचास दरका १०२ थान नोट बरामद गरिएको कटवालले जानकारी दिए।

प्रारम्भिक अनुमानअनुसार बरामद रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुनसक्ने आशंका प्रहरीले गरेको छ। साहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।

यसैबीच प्रहरीले विराटनगर बसपार्क क्षेत्रबाट भारतीय नक्कली नोटसहित दुई जना भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला निवासी २३ वर्षीय मोहमद अरवाज र मोहमद रजा रहेका छन्।

दुवै जना जोगवनीबाट सिटी सफारीमार्फत विराटनगर आएका थिए। सफारी चालकलाई अरवाजले दिएको भारतीय दुई सय रुपैयाँको नोट नक्कली थियो।

सफारी चालकले जानकारी गराएपछि प्रहरी टोलीले शरीर खानतलासी गर्दा अरवाजको साथबाट दुई सय दरका १८ थान र पाँच सय दरको एक थान भारतीय नक्कली नोट बरामद गरेको हो।

मोरङ प्रहरीका अनुसार बरामद नोटहरूमा विशेष प्रकारको प्रिन्ट र रङ प्रयोग गरिएको छ। जसलाई सामान्य व्यक्तिले वास्तविक नोटबाट छुट्याउन कठिन हुन्छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०८२ १९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast