
काठमाडौँ- देशभर तिहारको उल्लास छाइसकेकाे छ। घरघरमा टाँगिएको झिलीमिली बत्ती र यमपश्चकका दिनले तिहारलाई थप हौस्याइरहेको छ। यही अवसरमा फिल्म क्षेत्रमा पनि राम्रै चहलपहल छ। दसैँझैँ तिहारमा पनि तीन नेपाली फिल्म प्रदर्शन हुँदै छन्। कात्तिक ६ अर्थात् भाइटीको दिन ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ एकैसाथ हलमा लाग्नेछ भने ७ गते ‘मैझारो’ प्रदर्शन हुनेछ।
यस तिन फिल्म तिहार लक्षित गरेर प्रदर्शनमा आएका हुन्। तीनओटै फिल्मको कथावस्तु र शैली फरक फरक छ।
सोल्टिनी : अन्तरजातीय प्रेमकथा
फिल्म ‘सोल्टिनी’ प्रेमकथामा आधारित छ। ग्रामीण परिवेशमा तयार पारिएको फिल्ममा अन्तरजातीय प्रेमसम्बन्धमा देखिने सामाजिक विभेद, दुई समुदायबीचको असमानता र त्यसले निम्त्याउने संघर्षपूर्ण परिस्थिति प्रस्तुत गरिएको छ।
फिल्मको मुख्य भूमिकामा प्रकाश सपुत र परीक्षा लिम्बू छन्।उनीहरूबीचको प्रेम फिल्ममा देखाइएको छ। साथै फिल्ममा सुन्दर धिताल, सबु गुरूङ, सुजन खतिवडा, विल्सनविक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आले फिल्मका निर्देशक अर्जुन सुवेदी हुन्। फिल्ममा धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ कार्यकारी निर्माताको भूमिकामा जोडिएको छ। प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको फिल्मका निर्माता रेजिना बिष्ट र संसार चौलागाईं हुन्।
वरिष्ठ बलराम : शक्ति र संघर्षको कथा
फिल्म ‘वरिष्ठ बलराम’ समाजभित्रको शक्ति र संघर्षको कथामा आधारित छ। फिल्ममा वरिष्ठ र बलराम दुई पात्रबीचको टकराव प्रस्तुत गरिएको टिमको दाबी छ। निर्माण टिमका अनुसार फिल्ममा आफ्नो इज्जत र प्रतिष्ठा बचाउन खोज्ने एक स्थापित व्यक्ति र आफूलाई स्थापित गर्न खोज्ने उदाउँदो व्यक्तिबीचको द्वन्द्व देखाइएको छ।
फिल्ममा अभिनेता दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन्। उनीहरूको घम्साघम्सी फिल्मको कथावस्तु हो। यस अघिका फिल्ममा विजय दयाहाङको सहयोगी पात्रमा देखिन्थे। यो फिल्ममा भने दुईबीच आमनसामने देखिनेछ।
फिल्ममा समृद्धि अर्याल, माओत्से गुरुङ, पशुपति राई, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पीके) लगायत कलाककारको अभिनय छ। फिल्मका निर्देशन सुरेन्द्र पौडेल हुन्। वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुति र आन्भी फिल्म्सको सहकार्य रहेको फिल्म आशिष एच तामाङ र श्रीराज कार्कीले लगानी गरेका छन्।
मैझारो : प्रेम कथा
हास्यकलाकार विल्सनविक्रम राईको निर्देशनमा बनेको फिल्म हो, ‘मैझारो’। उनले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन्। फिल्म भाइटीकाको भोलिपल्ट प्रदर्शन हुनेछ। फिल्मको कथा प्रेमसम्बन्धमा आधारित छ। फिल्ममा एक युवकको बाल्ययकालीन प्रेम र भविष्यको अनिश्चितताबीच द्वन्द्व देखाउन खोजिएको छ। फिल्ममा धीरज मगर, मिरुना मगर, दयाहाङ राई, दीया पुन, बुद्धि तामाङ, सुनील थापा, पुष्कर गुरुङ, अभयराज बराल, माओत्से गुरूङ, कविता आलेलगायत कलाकारको अभिनय छ। तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता डेब्यु निर्देशक राई हुन्।