
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुनले शिक्षालाई राजनीतिक हस्तक्षेपबाट पूर्णरूपमा मुक्त राख्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार नेपालमा शिक्षा क्षेत्रमा राजनीति हावी भएकै कारण लथालिङ्ग बनेको हो।
शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सगरमाथा सभाहल, केशरमहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले भने, ‘जुन विद्यालयमा राजनीति प्रवेश गरेको छ, त्यहाँ शैक्षिक वातावरण कमजोर बनेको छ। राजनीति नघुसेका विद्यालयले भने शिक्षामा उल्लेखनीय प्रगति गरेका छन्।’
सामुदायिक विद्यालयका प्रधानाध्यापकको साझा संस्था प्रधानाध्यापक संघ (प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल-पान), जीवन विज्ञानमा आवद्ध प्रशिक्षक तथा प्रतिनिधि र शिक्षा मन्त्रालयका अधिकारीहरूसँगको उक्त कार्यक्रममा मन्त्री पुनले विद्यालय सुधारको जिम्मेवारी प्रधानाध्यापकमै रहेको बताए।
उनले भने,‘विद्यालय सुधारको पहिलो जिम्मेवारी प्रधानाध्यापककै हो। प्रअहरू सुध्रिएनन् भने देशको शिक्षा सुधार सम्भव हुँदैन।’ मन्त्री पुनले जीवन विज्ञान संस्थाले विद्यालयहरूमा योग, ध्यान र स्वजागरणका अभ्यासहरूमार्फत गरिरहेको कार्यको प्रशंसा गरे।
उनले भने, ‘आजको शिक्षामा सबैभन्दा ठूलो आवश्यकता मन र दिमाग सही बनाउने हो। मानिसको दिमाग ठिक नभए विद्यार्थीले राम्रोसँग पढ्न सक्दैन, शिक्षकले पनि राम्रोसँग पढाउन सक्दैन।’
कार्यक्रममा जीवन विज्ञानका प्रमुख गुरु एलपी भानु शर्मा ले योग र ध्यानमार्फत मानसिक र शारीरिक स्वास्थ्य सुदृढ गर्न सकिने बताउँदै सहभागीहरूलाई विभिन्न अभ्यासहरू गराए। उनले स्वस्थ मानिस र सकारात्मक सोचले मात्र विद्यालयको वातावरण सुधार्न सक्ने बताए।
त्यसैगरी, पानका अध्यक्ष सुदाम प्रसाद गौतम ले शिक्षामन्त्रीको पहलमा आयोजित कार्यक्रमले प्रधानाध्यापकलाई प्रेरणा दिएको बताउँदै यस्ता कार्यक्रम देशभर विस्तार गर्नुपर्ने धारणा राखे। उनका अनुसार सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार प्रधानाध्यापकको क्षमता विकाससँग प्रत्यक्ष सम्बन्धित छ।