
काठमाडौँ- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूले अहिलेको केन्द्रीय समितिको म्याद थप्ने तयारी भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्।
केन्द्रीय सदस्य गुरु घिमिरे, मनोजमणि आचार्यलगायत नेताहरूले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पार्टी नेतृत्वले महाधिवेशन समयमै नगरी केन्द्रीय कार्यसमितिको कार्यकाल लम्ब्याउने संकेत देखिएको भन्दै यस्तो कदम अस्वीकार्य हुने चेतावनी दिए।
पत्रकार सम्मेलनमा बोल्दै आचार्यले असोज २८ गते सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक अनावश्यक रूपमा लम्ब्याइएको र आगामी बैठक छठपछि मात्र (कात्तिक १३ पछि) बोलाइएको तथ्यले पार्टी नेतृत्व समयमै महाधिवेशन नगर्ने मनसायमा रहेको स्पष्ट भएको बताए।
उनले भने, ‘वर्तमान कार्यसमितिको यो ढिलाइपूर्ण र अनिश्चित प्रवृत्ति आपत्तिजनक छ। राष्ट्रिय राजनीति तीव्र गतिमा अगाडि बढिरहेको बेला कांग्रेस नेतृत्वले अल्मलिन वा निर्णय गर्न ढिलाइ गर्न पाउँदैन।’
आचार्यका अनुसार सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरिसकेकाले त्यसअघि नै पार्टीको महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्नु अत्यावश्यक छ ।
‘देशको राजनीतिक परिस्थितिले पनि अब विशेष महाधिवेशनको आवश्यकता औंल्याएको छ,’ उनले भने,‘हामीसँग यही मात्र विकल्प बाँकी छ, त्यसैले पार्टी नेतृत्वले यस मागलाई गम्भीरतापूर्वक लिएर तुरुन्त कार्यान्वयनतर्फ अघि बढ्नुपर्छ।’