
काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले पार्टीलाई आधुनिक, युवामैत्री र सुशासनमुखी बनाउन तत्काल कदम चाल्नुपर्नेमा जोड दिएकी छन्। कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै उनले जेनजी पुस्ताले उठाएका ९ बुँदे अपिललाई ‘परिवर्तनको अनिवार्य आवश्यकता बोकेको सचेत आवाज’ भन्दै त्यसलाई गम्भीरतापूर्वक लिन नेतृत्वलाई आग्रह गरिन्।
‘पूरानै शैली र प्रवृत्तिबाट अब कसैले पनि नेतृत्व गर्न सक्दैन,’ उनले भनिन्,‘पार्टीलाई जीवन्त र आधुनिक बनाउन आजै दृढ संकल्प गर्नुपर्छ।’ डा.संग्रौलाले भदौ २३-२४ का प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाको गम्भीर छानबिन गर्न माग गर्दै त्यसबारे कांग्रेसले समयमा नै सरकारबाट बाहिरिने निर्णय नगरेको कमजोरी रहेको बताइन्। ‘यदि तत्काल निर्णय गरिएको भए क्षति कम हुन सक्थ्यो,’ उनले भनिन्।
उनले ‘आन्तरिक सुशासन आयोग’ गठन गरी जनप्रतिनिधिहरूको कार्यशैली अनुगमन गर्ने र भ्रष्टाचारमुक्त छवि स्थापित गर्न आग्रह गरिन्। प्रतिनिधिसभा विघटन र फागुन २१ का लागि तोकिएको मध्यावधि निर्वाचनबारे उनले भनिन्,‘अब प्रश्न संसद् विघटन संविधानसम्मत थियो कि होइन भन्ने होइन, दुई तिहाइको सरकार सडक आन्दोलनबाट दुई दिनमै किन ढल्यो भन्ने हो।’ उनले निर्वाचन सुनिश्चित गर्न कांग्रेस अग्रसर हुनुपर्ने बताइन्।
डा.संग्रौलाले पार्टीभित्र युवाको सहभागिता सुनिश्चित गर्न विधान संशोधनको ढोका खोल्न प्रस्ताव गरिन्। साथै, मतदाता दर्ता अभियान सञ्चालन गर्ने सुझाव दिइन्। उनले देशको शान्तिसुरक्षा, बाढीपहिरो पीडितका राहत कार्यमा तीनै तहका सरकारसँग समन्वय गरी कांग्रेस कार्यकर्तालाई परिचालन गर्न आग्रह गरिन्।
महाधिवेशनका विषयमा उनले मंसिरभित्रै नियमित १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने बताइन्। ‘कांग्रेसलाई परम्परागत दलबाट आधुनिक दलमा रुपान्तरण गर्न विशेष महाधिवेशन अपरिहार्य छ,’ उनले भनिन्।
अनुशासन समितिबाट कारबाहीको सिफारिस भएका सदस्यलाई एक पटकका लागि आममाफी दिनुपर्ने प्रस्ताव गर्दै उनले गुटबन्दी अन्त्य र एकताको सन्देश दिइन्। ‘राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवादमा विश्वास गर्ने सबैलाई अटाउने ‘बिग टेन्ट पार्टी’का रूपमा कांग्रेस रूपान्तरण गर्नुपर्छ,’ उनले भनिन्।
परराष्ट्र नीतिमा नेपालले छिमेकी मुलुकहरूको हित विपरीत काम नगर्ने स्पष्ट सन्देश दिनुपर्ने उनको भनाइ थियो। उनले पार्टीले कूटनीतिक निकायहरूसँग संवाद गरेर आफ्नो नीतिगत स्पष्टता प्रस्तुत गर्न सुझाव दिइन्।
डा. संग्रौलाले भनिन्,‘आजको पुस्ताको सपना, इमानदार आक्रोश र बदलिने हुटहुटीलाई पार्टीले नसमेटेसम्म कांग्रेसले राष्ट्रको नेतृत्व गर्न सक्दैन। व्यक्ति, गुट वा पार्टीभन्दा माथि उठेर समग्र मुलुकको हितमा ‘समृद्ध नेपालका लागि नयाँ कांग्रेस’का साथ अघि बढौं।’