
काठमाडौँ- सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका थप २५ रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ।
सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, इटहरी, पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका २५ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन्। शुक्रबार १७ र शनिबार एक वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो।
सडक डिभिजन कार्यालय काठमाडौँले सात, ओखलढुंगा तथा अछाम डिभिजनले पाँच/पाँच, पाल्पाले ४ र धनकुटा, पोखरा, मध्यपहाडी तथा गोरखा सडक योजनाले एक/एक गरी २५ वटा ठेक्का किन नतोड्ने भन्दै आइतबार सार्वजनिक सूचना जारी गरेका छन्।
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए। सडकअन्तर्गत २५८ ठेक्का रुग्ण छन्।