सयपत्री फूलमा आत्मनिर्भर पोखरा, बिक्री स्थल र मूल्य तोकियो

हिमाल प्रेस १ कार्तिक २०८२ १९:५४
12
SHARES
सयपत्री फूलमा आत्मनिर्भर पोखरा, बिक्री स्थल र मूल्य तोकियो पोखरा महानगरपालिका–१३ उद्गमटोलस्थित केवलकार मनकामना नर्सरीमा सयपत्री फूल टिप्दै व्यवसायी। तस्बिर : रासस

पोखरा- तिहारमा अत्यधिक माग हुने सयपत्री फूलको पोखरामा बिक्री मूल्य तथा बिक्री स्थल तोकिएको छ। पोखरा महानगरपालिकाले सरोकारवालासँग छलफलपछि यस्तो निर्णय गरेको हो।

महानगरमा क्रियाशील कृषि सञ्जालहरू, पोखरा उद्योग वाणिज्य संघ, फ्यान कास्की, कृषि ज्ञान केन्द्र कास्कीलगायतसँग छलफल गरिएको महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए। पोखरा सयपत्री फूलमा आत्मनिर्भर छ।

पोखराका विभिन्न स्थानमा उत्पादित सयपत्री फूलहरूको आकार अनुसार ग्रेडिङ गरी ’ए’, ‘बी’ र ‘सी’ गरी मूल्य तोकिएको छ। ‘ए’ ग्रेड १५ देखि २० ग्राम प्रतिथुङ्गा फूलको मूल्य ५ रुपैयाँ, प्रतिमाला १५० र प्रतिकेजी ३०० देखि ४०० रुपैयाँ तोकिएको छ।

यस्तै, ‘बी’ ग्रेड १० देखि १५ ग्राम प्रतिथुंगा फूलको मूल्य ४ रुपैयाँ, प्रतिमाला १३० र ‘सी’ ग्रेड ५ देखि १० ग्राम प्रतिथुङ्गा फूलको मूल्य २ रुपैयाँ, प्रतिमाला १ सय रुपैयाँ तोकिएको कडरियाले बताए।

उनका पोखराका करिब २५ बढी स्थानहरूमा स्थानीय सयपत्री फूलको बिक्री स्थल तोकिएको छ। तोकिएका स्थानहरूबाट ३ देखि ५ कात्तिकसम्म फूलहरू खरिद गर्न सकिने छ।

पोखरा महानगरपालिकाको सहयोगमा करिब ३ सय रोपनीमा सयपत्री फूल खेती भइरहेको छ। यस वर्ष ३ लाख माला उत्पादन हुने र करिब ३ देखि ४ करोडको कारोबार हुने अनुमान गरिएको छ। ३ वर्षदेखि निरन्तर बीउमा अनुदान तथा बजारीकरणमा सहजीकरण गर्दै आएको पोखरा महानगरले कृषकलाई न्यूनतम समर्थनमूल्य समेत प्रदान गर्दै आएको जनाएको छ।

महानगरपालिकाका मेयर धनराज आचार्यले स्थानीय सयपत्री फूलमा पोखरा आत्मनिर्भर भइसकेकाले प्लास्टिकका फूलमालाहरु बिक्री वितरण नगर्नसमेत अनुरोध गरेका छन्। कृषकको मनोबल उच्च बनाउन मल, बिउ, उत्पादनको बजारीकरण र समर्थन मूल्यमा समेत सहयोग गर्दै आइरहेको उनले बताए।

प्रकाशित: १ कार्तिक २०८२ १९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast