विराट मेडिकलका नर्स आन्दोलित, बिरामी मर्कामा

हिमाल प्रेस १ कार्तिक २०८२ १९:३८
10
SHARES
विराट मेडिकलका नर्स आन्दोलित, बिरामी मर्कामा

इटहरी- मोरङको बूढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल शनिबारदेखि आन्तरिक अस्थिरतामा छ। अस्पतालका नर्सहरू सरकारले तोकेको न्यूनतम तलब र सेवासुविधा नपाएको भन्दै आन्दोलित भएपछि बिरामी मर्कामा परेका छन्। आन्दोलनका कारण अस्पतालको नियमित सेवा अस्तव्यस्त बनेको छ।

नर्सिङ स्टाफहरू शनिबारदेखि अस्पताल परिसरमै प्लेकार्डसहित उत्रिएका हुन्। उनीहरू ‘न्याय देऊ नत्र सडकमै सेवा दिनेछौँ’, ‘सेवामा शिर झुक्दैन’, ‘अन्यायमा घुँडा टेक्दैन’, ‘विदेश जान बाध्य नगर, हामीलाई नेपाल प्यारो छ’जस्ता नारासहित आन्दोलनमा छन्। उनीहरूले आफूहरूलाई सरकारले तोकेको न्यूनतम तलबसुविधा नदिइएको, कार्यदबाब अत्यधिक बढाइएको र प्रशासनले गुनासो बेवास्ता गरेको आरोप लगाएका छन्।

एक नर्सले भनिन्, ‘आईसीयूमा एक बिरामीका लागि एक नर्स चाहिन्छ। हामी एकैपटक तीन बिरामी सम्हालिरहेका छौँ। यस्तो दबाबबीच पनि तलब समयमै आउँदैन। अस्पताल प्रशासनले हामीलाई हेप्यो।’

आन्दोलनका कारण अस्पतालको आकस्मिक (इमरजेन्सी) सेवासमेत प्रभावित भएको छ। नर्सिङ स्टाफले काम रोकेपछि अस्पतालले ‘डिस्चार्ज’ प्रक्रियासहित बिरामीलाई अन्यत्र पठाउन थालेको छ।

विराटनगरमा निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरू आन्दोलित बनेका छन्। पारिश्रमिकका विषयमा नियम कानुन स्पष्ट भए पनि कार्यान्वयन नहुँदा यसले स्वास्थ्य क्षेत्रमै असमानता र अस्थिरता ल्याएको गुनासो उनीहरूको छ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीले भने आफूहरूले कसैको श्रम शोषण नगरेको र अस्पतालको वित्तीय क्षमताअनुसारकै सेवासुविधा दिइरहेको दाबी गरे। उनले भने, ‘नर्सहरूले उठाएका मागमध्ये धेरै नीतिगत तहमा पर्छन्। अस्पतालले आफ्नै निर्णयमा तलब बढाउन सक्दैन। सरकारले स्पष्ट नीति बनाए वार्ता गरेर समाधान गर्न हामी तयार छौँ।’ उनका अनुसार नर्सहरूले काम नगरेपछि अस्पतालले नयाँ बिरामी भर्ना लिने काम रोकिएको छ र हाल उपचाररत करिब ४५० बिरामीको वैकल्पिक व्यवस्था खोज्नुपर्ने अवस्था आएको छ।

प्रकाशित: १ कार्तिक २०८२ १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast