लुम्बिनीमा ६७ देशका दुई सय सम्पदाविज्ञ : शान्तिका लागि सम्पदाको उपयोग गर्ने संकल्प

हिमाल प्रेस १ कार्तिक २०८२ १९:२८
4
SHARES
लुम्बिनीमा ६७ देशका दुई सय सम्पदाविज्ञ : शान्तिका लागि सम्पदाको उपयोग गर्ने संकल्प

बुटवल- ६७ देशका दुई सय सम्पदाविज्ञहरूको उपस्थितिमा लुम्बिनीमा सञ्चालित अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनले द्वन्द्व, प्राकृतिक प्रकोपको सामना तथा शान्तिका लागि सम्पदाको उपयोग गर्ने संकल्प गरेको छ।

लुम्बिनीमा बुधबार थालनी गरिएको सम्मेलनअन्तर्गत शनिबार प्राचीन तिलौराकोट दरबार क्षेत्रको स्थलगत निरीक्षणछि विभिन्न देशमा देखिएको द्वन्द्व तथा प्राकृतिक प्रकोपहरूको सामानाका लागि सांस्कृतिक सम्पदा उपयोगी हुने संकल्प गरिएको हो। सम्पदा संरक्षण समाज (इकोमस) ले शान्ति वक्तव्यमार्फत बुद्वजन्मस्थल लुम्बिनीमा गरिएको सम्मेलनले द्वन्द्व र प्राकृतिक विपत्तिपछि शान्तिको पुनःस्थापनामा सम्पदाको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरिएको छ।

सम्पदा बलियो सांस्कृतिक पहिचानका लागि मात्र नभई स्थानीय समुदायको आर्थिक दिगोपनाको आधार पनि भएको उल्लेख गर्दै सांस्कृतिक सम्पदाले मात्र सहअस्तित्व कायम गर्न सकिने बताइएको छ। विश्वका कम्तीमा ३८ देशमा युद्ध तथा तनावको अवस्थामा रहेकाले लुम्बिनीमा गरिएको छलफलले त्यसको सामना गर्न शक्ति प्रदान गर्ने विश्वास गरिएको वक्तव्यमा उल्लेख छ। साथै वैज्ञानिक सम्मेलनमा भविष्यमा जलावायु परिवर्तनले पार्ने असरबारे पनि छलफल गरिएको थियो। इकोमस नेपालको आयोजनामा लुम्बिनीमा भएको वैज्ञानिक सम्मेलनमा सांस्कृतिक सम्पदाको संरक्षण एवम् सुधारमा पक्षमा महत्त्वपूर्ण प्रतिबद्धता गरिएको अध्यक्ष ज्ञानिन राईले बताए।

सम्मेलनअघि इकोमसको ६०औँ वार्षिकोत्सव समेत लुम्बिनीमा मनाइएको थियो।

युनेस्कोको सल्लाहकार निकायका रूपमा रहेको इकोमसले विश्व सम्पदा सूचीमा अभिलेखका लागि प्रस्तावित सांस्कृतिक र मिश्रित सम्पदाहरूको मूल्यांकन गरी विश्व सम्पदा समितिलाई प्रदान गर्ने गर्दछ। सम्मेलनमा इकोमस इन्टरनेसलका सदस्यहरूसहित विश्वभरका सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित विज्ञहरू, अनुसन्धानकर्ताहरू तथा नीति निर्माताहरू, सरकारी अधिकारीहरु, अन्तर्राष्ट्रिय पाहुुनासहित ६७ राष्ट्रका करिब तीन सय स्वदेशी तथा विदेशी सहभागी थिए। सम्मेलनमा विभिन्न विषयमा प्राप्त २६० कार्यपत्रमध्ये छनोटमा परेका १९० वटा कार्यपत्रहरुको प्रस्तुतीकरण गरिएको इकोमस नेपालका कोषाध्यक्ष सृष्टिना श्रेष्ठले बताइन्।

सम्मेलनमा इकोमस अन्तर्राष्ट्रिय अध्यक्ष प्राध्यापक टेरेसा प्याटिसियो, नेपालका तर्फबाट सांस्कृतिक सम्पदा व्यवस्थापनमा सक्रिय ज्ञानिन राई, डा. काई वाइजे, एनी जोशी, डा. इनुु प्रधान सालिके, सृष्टिना श्रेष्ठ, देवेन्द्र भट्टराईसहित इकोमस इन्टरनेसनलका सचिवालय सदस्यहरुको प्रस्तुति थियो। लुम्बिनी बौद्ध विश्वबिद्यालय, लुम्बिनी विकास कोष, पुरातत्त्व विभाग, लुुम्बिनी सांस्कृतिक नगरपालिका, ओरियन्टियल हेरिटेज साइट प्रोटेक्सन एलायन्स फ्रान्स, ब्रिटिस काउन्सिल, अस्ट्रेलिया इकोमस, इकोमस चाइनलगायतको साझेदारीमा भएको सम्मेलन आइतबार काठमाडौँमा समापन गरिने आयोजकले जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast