
काठमाडौँ- एमालेका अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभाको पुनःस्थापना आफ्नो पार्टीको अडान भएको बताएका छन्। उनले पार्टीको नीतिमा स्पष्ट र ढुक्क भएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरे।
पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा ओलीले उक्त कुरा बताएका हुन्।
ओलीले प्रहरीका एक हजार २०० हतियार र एक लाखभन्दा बढी गोली लुटिएर बाहिर रहेको तथा साढे पाँच हजार कैदी फरार रहेका अवस्थामा निर्वाचनमा जान कठिन हुने बताए।
‘समाजमा त्रासको वातावरण राखेर सरकार चलाउन वा निर्वाचन गराउनुहुँदैन। हाम्रो सुरक्षा र स्वतन्त्रताको रक्षा राज्यले गर्नुपर्छ। नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आउनुहुँदैन’, उनले भने। भदौ २३ र २४ गतेको प्रदर्शनपछि अध्यक्ष ओली पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा पुगेका हुन्।