
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिलाई संस्थागत गर्न नसकिने बताएका छन्।
अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा शनिबार काठमाडौँमा आयोजित शुभ दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले जेनजी युवाहरुलाई भने– ‘तपाईँहरु आफ्नो मित्र दुस्मन को हो छुट्टयाउनुहोला। हामीलाई पनि पहिल्यै आतंककारी भनिएको थियो।’
जनताको अधिकारका लागि लड्नेहरुलाई आतंककारी भन्ने प्रवृत्ति यसअघि पनि रहँदै आएको उल्लेख गर्दै संयोजक प्रचण्डले भने, ‘एउटा विचारले भन्छ- तपाईंहरुको आन्दोलनलाई आतंककारी। यो त हामीलाई पनि भनिएको थियो। उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको हकमा लड्दा हामीलाई आतंककारी भनिएको थियो। आज फेरि तपाईँहरूलाई पनि त्यस्तै शब्दमा व्याख्या गरिएको छ। यस्तो प्रवृत्तिबाट सतर्क हुन जरुरी छ।’
उनले देशको समसामयिक राजनीतिक संकट समाधान गर्न सबै राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए। प्रचण्डले भने, ‘हामी यतिबेला अत्यन्त जटिल परिस्थितिबाट गुज्रिरहेका छौँ। संविधान र लोकतन्त्र जोगाउने अहिलेको सबैभन्दा सहज, समावेशी र राष्ट्रहितको विकल्प भनेकै आगामी माघ २१ गते तोकिएको निर्वाचन हो। यसलाई सफल पार्न सबै दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकार लगायत सबै पक्षको ऐक्यबद्धता आवश्यक छ।’
संयोजक प्रचण्डले वर्तमान संविधान केही हदसम्म ट्रयाकबाट चिप्लिएको उल्लेख गर्दै त्यसलाई ट्रयाकमा ल्याउने उपाय भनेकै संविधान संशोधन भएको बताए। ‘निर्वाचनबाट आउने नयाँ संसद्ले संविधान परिमार्जन गर्ने प्रक्रियामा प्रवेश गर्नुपर्छ। जनताको अपेक्षा पूरा गर्न हामी तयार छौँ’, उनले भने।
उनले आगामी माघ २१ गतेको निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको बताउँदै निर्वाचन नगरीकन देशमा अर्को अराजकता आउन सक्ने बताए।
संयोजक प्रचण्डले संसद पटकपटक विघटन गर्नेहरूले अहिले संसद पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताए। ‘केपी ओली प्रधानमन्त्री हुँदा संसद् विघटन भयो, राष्ट्रपतिको भूमिकाले त्यो संकट अझ चर्कियो। अहिले उनीहरुकै समूहले संसदको कुरा गर्नु विडम्बनापूर्ण हो’, उनको टिप्पणी थियो।
उनले समाजवादी मोर्चामा आबद्ध वामशक्तिहरूबीच चाँडै औपचारिक एकता घोषणा हुने जानकारी दिँए। उनले भने, ‘हामीले बृहत् वामपन्थी एकताको आवश्यकता महसुस गरेका छौँ। तर त्यसले मात्र पुग्दैन। लोकतन्त्रवादी र राष्ट्रवादी सबै शक्तिहरू पनि राष्ट्रिय संकटको सामना गर्न एकजुट हुन जरुरी छ।’
प्रचण्डले जेनेरेसन जेडलाई क्रान्तिकारी आन्दोलनको उत्तराधिकारीको रूपमा सम्बोधन गर्दै भने, ‘२३ गते भएको आन्दोलनले देखायो- हाम्रो युवा पुस्ताले आफ्नो राजनीतिक उपस्थिति प्रमाणित गरिसकेको छ। उनीहरू अरूका होइनन्, क्रान्तिकारीका उत्तराधिकारी हुन्। उनीहरूमाथि अपमानजनक टिप्पणी गरिनु हुन्न।’
प्रचण्डले अन्तरिम सरकार निर्वाचन गर्न गम्भीर रहेको र अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचन सफल बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे।