मोबाइल फेला परेको सूचना !

हरिकुमार श्रेष्ठ १ कार्तिक २०८२ १९:१४
86
SHARES
मोबाइल फेला परेको सूचना !

बालक हराएको सूचना हामीले रेडियोमा यदाकदा सुन्छौँ, अखबारमा पनि पढ्छौँ। तर बालक फेला परेको सूचना हत्पत्त पढ्न पाइँदैन। घरबाट दिनदहाडै यति बहुमूल्य सामान हरायो, उति चोरी भयो भन्ने समाचार पनि प्रशस्तै सुनिन्छन् तर ती हराएका वा चोरिएका सामान फेला परेका समाचार त्यति सुन्न पाइँदैन।

त्यस्तोमा, नाथे मोबाइल हराउनु कुन ठूलो कुरा भयो र! मान्छेको हातहातमा हुने मोबाइल सेट दिनमा कति हराउँदा हुन्, कति चोरिँदा हुन्- त्यसको हिसाबकिताब त नेपाल प्रहरीसँग पनि छैन होला!

मेरो पनि मोबाइल फोन त्यसैगरी हराएको थियो। त्यो कसरी हरायो- मलाई त्यसको सानो छनकसमेत भएन। झोलाभित्र सुरक्षित राखेको मोबाइल, कसैले जादुमन्तर गरेर गायब पारे जस्तोगरी गायब थियो। त्यसरी गायब भएको मोबाइल, कसरी फेला परोस्!

मैले हराएको मोबाइलको आश मारिसकेको थिएँ।

तर कहिलेकाहीँ जीवनमा नपत्याउने घटना पनि हुँदो रहेछ। जादुमन्तर गरेजस्तै मेरो मोबाइल जसरी एकाएक हराएको थियो, दुई वर्षपछि त्यसैगरी फेला पर्‍यो। जसरी मोबाइल हराउँदा पहिला म आफैँलाई विश्वास लागेको थिएन त्यसरी नै हराएको मोबाइल फेला पर्दा मैले एकछिन त पत्याउन पनि सकिनँ।

त्यो नपत्याउने घटनाको इतिवृत्त यस्तो छ –

दुई वर्षअघिको कुरा हो। दसैँ सकिएपछि राजधानीमा तिहारको चहलपहल सुरु भएको थियो। त्यही चहलपहलमा सामेल हुन म पनि ब्याकप्याक झोला बोकेर घरबाट निस्केको थिएँ।

खासमा त्यस दिनको मेरो गन्तव्य न्युरोड पीपलबोट नजिकको घडीपसल थियो जहाँ मेरो घडीको ब्याट्री फेर्नु थियो। त्यो काम सिध्याएर इन्द्रचोकबाट मखन जाने सानो गल्लीमा छिरेर तिहारको लागि केही प्याकेट किसमिस, काजुबदाम किन्नु थियो। त्यस दिनको मेरो सहर घुमघामको मोटामोटी एजेन्डा त्यही थियो।

सहर घुम्दा मलाई सार्वजनिक यातायात प्रयोग गर्न मन पर्छ। त्यसरी यात्रा गर्दा विभिन्न उमेरसमूहका मान्छे भेटिन्छन्। उनीहरुको बोलीचाली, हाउभाउ चुपचाप नियाल्न पाइन्छ। त्यसले सहरको एउटा माइक्रोकोजम प्रतिबिम्बित गरेको हुन्छ। त्यस दिन म पनि तिनीहरुमध्येकै एक बिन्दास यात्रु थिएँ।

विडम्बना! त्यसरी बिन्दास भएर सहर घुम्ने मेरो योजना अचानक तुहियो। बसबाट झरेर नयाँसडकको फुटपाथ नाप्दै सुस्तरी गन्तव्यतर्फ लागेँ। न्युरोड पीपलबोट नजिकको घडी पसलको स्टुलमा टुसुक्क बसेर काँध पछाडि बोकेको झोला झिकेँ। झोलाको भित्री भागको सुरक्षित कम्पार्टमेन्टमा मेरो स्विस घडी थियो। त्यसकै ब्याट्री फेर्न त्यहाँसम्म धाएको थिएँ। झोलाको भित्री कम्पार्टमेन्ट खोल्न पाएको थिइनँ, झोलाको माथिल्लो भागको चेन पूरा खुलेको थियो जसमा मैले वालेट र मोबाइल फोन जतनसँग राखेको थिएँ। जतनसँग राखेर के गर्नु? कुन सड्को गायब भइसकेछ।

त्यस दिन बजार गर्न भनेर एटिम मेसिनबाट केही नगद निकालेको थिएँ। वालेटमा बैंकको भिसा डेबिट कार्ड थियो। त्योभन्दा पनि मेरा लागि महत्त्वपूर्ण त मैले तीन दशक सेवा गरेको परराष्ट्र मन्त्रालयले मेरो नाउँमा बनाइदिएको परिचयपत्र थियो। ती सबै गायब!

अब मसँग ती महत्त्वपूर्ण डकुमेन्ट थिएनन्। म एकाएक परिचयविहीन हुन पुगेँ।

मोबाइल हराएपछि मेरो सबैसँग सम्पर्क विच्छेद भइहाल्यो। सम्पर्कको माध्यम भनेको त्यही थियो- फोन, इमेल, भाइवर, मेसेन्जर सबै एकै ठाउँमा। ती सबै हराएपछि म स्वतः हराउने भइहालेँ।

बिन्दास बजार चहार्न हिँडेको मान्छे उल्टोपाउ घर फर्कनु पर्दा मेरो के गति भयो होला?

मोबाइल र वालेट हराएपछि खति त भइसकेको थियो जुन त्यसै नीच मारेर बसे अझ बढी हुन सक्थ्यो। सबभन्दा पहिले त मैले प्रयोग गरेको मोबाइलको सिमकार्ड लक गर्नु अत्यावश्यक थियो किनभने त्यसमा मेरा धेरै व्यक्तिगत सूचना थिए। धन्न नेपाल टेलिकमले तुरुन्तै सिम ‘लक’ गरिदियो। बैँकले पनि तुरुन्त एटीएम कार्ड र मोबाइल बैँकिङ ब्लक गरिदिएकाले म केही ढुक्क भएँ।

एक मनले भन्यो पनि- जसले चोर्‍यो अब त्यसलाई त्यो मोबाइलको के काम?

सोझो हिसाबले हेर्दा मोबाइल चोरले गर्ने भनेकै अर्को सिमकार्ड प्रयोग गर्ने वा मोबाइल सेट बेच्ने हो। त्यसको पनि केही उपाय निस्कन्छ कि भनेर चिनेका केही साथीभाइसँग सल्लाह गरिहेरेँ। एकजना भाइ थिए जो नेपाल प्रहरीको डीआईजी पदबाट भर्खर सेवानिवृत्त भएका थिए। उनकी पत्नी आफैँ मोबाइल चोरीबाट पीडित रहिछन्। उनले आफ्नो अनुभव साट्दै भने-

‘दाज्यू, मेरी श्रीमतीको मोबाइल पनि केही महिनाअघि ‘नेपाल यातायात’को बसमा चढ्दा पर्सबाटै गायब भयो। अहिलेसम्म फेला परेको छैन। फेला पर्लाजस्तो पनि छैन। पुलिसले ट्र्याकिङ त गर्छ तर नेटवर्कभित्र आएमा मात्र फेला पर्न सक्छ। रातारात सिमाना कटायो वा मोबाइलको पार्टपुर्जा बेच्यो भने त के लाग्छ र? तैपनि पुलिस रिपोर्ट गर्नु बेस होला’, उनले सुझाए।

उनलेनै पुलिस रिपोर्ट गर्ने ठाउँ पनि बताए। भोलिपल्ट खाना खाइवरी पुलिस रिपोर्ट गर्न टेकुस्थित पहिले नेसनल ट्रेडिङ लिमिटेड रहेको कम्पाउन्डभित्र दाखिल भएँ। त्यही परिसरमा काठमाडौँ जिल्ला प्रहरी कार्यालय रहेछ।

प्रहरी कार्यालयको प्रवेशद्वारबाहिरै ‘नागरिक सहायता डेस्क’ साइनबोर्ड टाँसेर दुईजना प्रहरी कर्मचारी टेबलमा निवेदन फाराम फिँजारेर बसेका थिए। एकजना महिला प्रहरी अधिकारीले मेरो निवेदन लिएपछि सम्झाउँदै भनिन्-

‘बुबा, नआत्तिनुस्, हामी अवश्य ट्र्याकिङ गर्छौँ। खाली यति कि त्यो मोबाइल चोर फोनको नेटवर्कभित्र आउनुपर्‍यो। आएछ भने ढिलोचाँडो अवश्य फेला पर्छ।’

मेरा लागि उनको त्यो आश्वासन ठूलो कुरा थियो।

उनले त्यो आश्वासन दिएको दुई वर्ष बितिसकेको थियो। मैले त आश पनि मारिसकेको थिएँ। त्यसो त, मोबाइल हराएको केही दिनसम्म त मलाई राम्ररी निद्रा परेन। कारण, त्यो नयाँ मोबाइल अरुण छोराले बेलायतबाट पठाइदिएको थियो। हेर्दामा स्लिक, काफी डेटा स्टोरेज भएको, क्यामेरा पनि राम्रो- मलाई त्यसमा बानी परेको थियो।

‘हराएको चिज राम्रो, उम्केको माछा ठूलो’ भनेझैँ आफ्नो हातबाट गुमेको त्यो मोबाइलप्रति धेरै मनखत गर्नुको केही अर्थ थिएन। केही महिना पुरानो मोबाइलले काम चलाएँ। त्यसको केही समयपछि अरुणले नै अर्को मोबाइल पठाइदियो। हेर्दामा त्यस्तै स्लिक तर पहिलेको भन्दा सस्तो। उसलाई पनि लागेको हुँदो हो- नेपालमा के ठेगान, कुन बेला हराउने वा चोरी हुने हो? महँगो फोन पठाएर के फाइदा?

मैले पनि सस्तो फोनमा चित्त बुझाएँ। हराएको फोनसँगको सम्बन्ध बिस्तारै पातलिँदै गयो। मैले त्यसलाई बिर्सि पनि सकेको थिएँ।

त्यस्तैमा एउटा अप्रत्याशित सूचनाले मेरो मरिसकेको आशा फेरि ब्युँतियो। म बंगलादेशमा कार्यरत छँदा मेरो निजी स्टाफका रूपमा काम गरेको हाम्रो परिवारको सदस्यजस्तै नारान (जो अहिले रोजागरीका लागि भौँतारिँदै पोर्चुगल पुगेको छ) ले एक दिन मेसेन्जरमा लेख्यो-

‘सरको हराएको मोबाइल नेपाल टेलिकमले ट्रयाकिङ गरेर फेला पारेको इमेल आएको छ। पुलिससँग सम्पर्क राख्ने कि?’ ऊ नेपालमा छउन्जेल त्यो हराएको मोबाइलको फलोअपको जिम्मा मैले उसलाई दिएको थिएँ। त्यसरी फलोअप गर्दा उसले आफ्नो इमेल दिएको रहेछ।

उसको मेसेज मेरा लागि पूर्णतया अनपेक्षित थियो। मलाई विश्वास लागेन किनभने दुई वर्षअघिको कुरा- चोरले उहिल्यै डाँडा कटाइसकेको पनि हुन सक्थ्यो। मोबाइलको पार्टपुर्जा बेचेको पनि हुन सक्थ्यो। अथवा टुटफुट पनि हुन सक्थ्यो।

मोबाइल सकुशल फिर्ता हुनेमा म त्यति आशावादी थिइनँ।

भोलिपल्टै नारानले नेपाल टेलिकमले प्रहरी प्रधान कार्यालयलाई लेखेको अटोमेटेड पत्र मलाई इमेल गरेर पठायो जसमा मेरो हराएको फोनको युनिक नम्बर, मेरो मोबाइल नम्बर र त्यो मोबाइल प्रयोगकर्ताले प्रयोग गरिरहेको नम्बर उल्लेख थियो।

‘सर, एकपटक पत्र लिएर पुलिसकहाँ जाँदा के फरक पर्ला र?’ उसले भन्यो।

नारानले साँचो मनले भनेको हुनाले मेरो मरिसकेको आशा फेरि एकाएक ब्युँझिएर आयो। यो आशा भन्ने चिज पनि के हुन्छ कुन्नि? कुन बेला मर्ने, कुन बेला पलाउने, थाहै नहुने। यस्तो लाग्थ्यो- मान्छेको जिन्दगी पनि आशैआशमा त अल्झिरहेको रहेछ।

म त्यही आशाको त्यान्द्रो लिएर काठमाडौँ प्रहरी परिसरतर्फ सोझिएँ।

खासमा त्यो दिन म एउटा अर्कै कार्यक्रमका लागि त्रिपुरेश्वर गएको थिएँ। बाटो पर्ने हुँदा पुलिस अफिसमा पनि छिर्ने सोच बनाएर घरबाट निस्केको थिएँ। भद्रकालीस्थित काठमाडौँ जिल्ला प्रहरी परिसरको नवनिर्मित भवनमा म पहिलोपल्ट प्रवेश गरेको थिएँ। त्यहाँ छिर्दा त्यो भवन आधुनिक मात्र नभई नागरिक मैत्री पनि भएको आभास हुन्थ्यो। तलैपिच्छे पिउने पानी र शौचालयको व्यवस्था रहेछ। अफिसकक्ष पनि फराकिला, प्रतीक्षालय पनि राम्रा। अब भने म केही आशावादी भएँ।

नागरिकमैत्री भौतिक संरचनाले मात्र पनि सेवाग्राहीको सोचाइमा धेरै ठूलो फरक पार्दो रहेछ भन्ने त्यो एउटा उदाहरण थियो।

प्रवेशद्वारमा उभिएका प्रहरी गार्डलाई सोधेर म एकतला माथिको कक्षमा पुगेँ जहाँ मोबाइल हराएका मजस्तै सेवाग्राहीको भीड थियो। म एउटा लामो बेन्चको छेउमा चुपचाप आफ्नो पालो कुरी बसेँ।

त्यहाँ बस्ने एकजना महिला प्रहरी कर्मचारीले मोबाइल फोन हराउनेका विवरण रजिस्टरमा टिप्दै थिइन् अनि फलोअपमा आउनेको स्ट्याटस पनि अपडेट गरिरहेकी थिइन्। आधा घण्टा कुरेपछि मेरो पालो आयो। मैले नेपाल टेलिकमको फोन ट्रयाकिङको पत्र उनलाई थमाएँ। उनले फटाफट त्यो चिठी रजिस्टरमा दर्ता गरिन् अनि धेरै सेवाग्राहीलाई जे भनेकी थिइन्, मलाई पनि त्यही भनिन्-

‘अबको १० दिनपछि सम्पर्क गर्न आउनुस्, अहिले जान सक्नुहुन्छ।’

त्यति बेलासम्म अरू धेरै सेवाग्राही बाहिरिइसकेका थिए। ती प्रहरी अधिकारी अलि फुर्सदिला भएकीले मैले विनम्र हुँदै भनेँ, ‘म सिनिएर सिटिजन मान्छे, त्यति कामका लागि कति दुःख पाउनु, अलि छिटो हुन सक्थ्यो कि?’

उनको मन अलि पग्लेछ क्यारे, भनिन् ,‘तपाईँ बाहिरको काम सिध्याएर एकपटक आउनुहोला नि त, बुबा !’ उनको ‘बुबा’ शब्दले म आह्लादित भएँ। एक वचन मीठो बोलीले त्यति फरक पर्दो रहेछ।

त्यस दिन त्रिपुरेश्वरको कार्यक्रम सकेर म फेरि भद्रकालीतर्फ सोझिएँ। वैशाख महिनाको सुख्खा खडेरी- दिन ढल्न लाग्दा पनि घामको राप उखुम थियो। म र मेरा मित्र रुद्र नेपाल त्रिपुरेश्वरबाट सहिदगेटसम्म गफिँदै हिँड्दै गयौँ। उनी पनि पाकेटमारको पीडाबाट मजस्तै भुक्तभोगी थिए। सार्वजनिक यातायातमा यात्रा गर्दा उनले जतनसँग झुन्ड्याएको हाते ब्यागबाट कुन सड्को वालेट गायब भएको थियो। धन्न झोलाको भित्री भागमा राखेको महँगो आइफोन पाकेटमारले झिक्न भ्याएनछ। नत्र उनको पनि मेरो जस्तै हालत हुने थियो।

रुद्रजी नेपाल वायुसेवा निगमको बसस्टपतिर लागे, म भद्रकालीतिर। त्यतिखेर सहिदगेटवाट भद्रकाली-माइतीघरको सडक शिक्षक आन्दोलनका कारण दिनहुँ भरिभराउ हुन्थ्यो। त्यो भीडमा कतिले त मलाई पनि सिनियर शिक्षक पो भन्ठाने कि!

म सडकको भीड चिरेर फटाफट पुलिस अफिसभित्र छिरेँ। ती महिला प्रहरी कर्मचारी अलि फुर्सदिला थिइन्। उनको डेस्क अगाडिको मेच तानेर बस्दै भनेँ, ‘म्याम म त फेरि आएँ नि।’ उनले मलाई चिनिहालिन् र भनिन्, ‘बुबा, घाममा दुःख पाउनुभयो। एक पल्ट कोसिस गरिहेरौं है त।’ उनले ल्यान्डलाइन नम्बरबाट फोन घुमाउन थालिन्। म मेचमा चुपचाप बसेँ।

फोनको घन्टी बजेको केही बेरपछि उताबाट फोन उठ्यो। ती महिला प्रहरी अधिकारीले विनम्र स्वरमा सोधिन्-

‘हजुर को बोल्दै हुनुहुन्छ? कहाँ पर्‍यो होला? अनि हजुरले यो फोन कोसँग, कहिले, कति पैसामा किन्नुभएको?’

उताबाट फोन रिसिभ गर्नेले ढ्याक्क फोन राख्यो।

ती मिजासिली महिला प्रहरी अधिकारीले भनिन्-

‘हेर्नुस् त बुबा! त्यो मोबाइल चोरले थाहा पाइसक्यो। प्रत्येक दिन यसरी मोबाइल चोरी वा हराएका निवेदन हामीकँहा तीनचार सय आउँछन्। हामी ट्रयाकिङ त गर्छौँ तर चोरको छल्ने कति जुक्ति हुन्छ कति? तैपनि एकपल्ट फेरि प्रयास गरिहालौँ।’ उनले फेरि फोन घुमाइन्।

यसपटक उतापट्टिबाट फोन उठ्नेबित्तिकै उनी कडा मिजासले प्रस्तुत भइन्-

‘अघि फोन किन काट्या? म काठमाडौँ प्रहरी परिसरबाट बोल्दै छु। तपाईँले प्रयोग गरेको मोबाइल चोरीको हो। हामीले ट्रयाकिङ गरिराख्या छौँ। तपाईँको प्रत्येक कल डिटेल हाम्रो रेकर्डमा छ। तपाईँ त्यो मोबाइल लिएर तुरुन्त यहाँ अहिल्यै आइहाल्नुस् त।’

उताबाट बोल्नेले के भन्यो मैले सुनिनँ। केही बेरपछि ती महिला प्रहरी अधिकारीले फोन राखेर मलाई यसो भनिन्-

‘तपाईँको हराएको मोबाइलको अहिलेको प्रयोगकर्ता साँखुतिरको रहेछ। चोरीको मोबाइल सस्तो पैसा चार हजारमा किनेको भन्छ। आज त आउन नसक्ने भएँ, भोलि मोबाइलसहित उपस्थित हुन्छु भनेको छ। तैपनि के ठेगान? भोलिसम्म हेरौँ। तपाईँ कति दुःख पाउनुहुन्छ, पर्सि अफिस टाइममा आउनु होला नि त’, उनले भनिन्।

‘मलाई प्रहरीको हेल्पलाइन नम्बर दिनुस् न त। म फोन गरेर आउँला’, मैले अनुरोध गरेँ। उनले मेरो मोबाइलमा सम्पर्क नम्बर टिपाइदिइन्। प्रहरी र नागरिकबीचको सम्बन्ध त यस्तो पो हुनुपर्ने – यस्तो मनमनै गुन्दै म फेरि सडकको भीडमा मिसिएँ।

भोलिपल्ट त्यत्तिकै बित्यो। मोबाइल फेला पर्ने कुरामा म थोरै आशावादी त थिएँ तर ढुक्क थिइनँ। रात रहे अग्राख पलाउँछ भन्छन्। यो मुलुकमा रातभरिमा कस्ताकस्ता नसोचेका घटना भएका छन् भने त्यो जाबो मोबाइलको के कुरा भयो र! अरू केही गर्नै पर्थेन- रिसको झोकमा त्यहीँ नजिकैको टुकुचाको नालीमा फाल्दिए पुग्थ्यो।

मनमा त्यस्तै तर्कना खेलाउँदै त्यो दिन बिताएँ।

पर्सिको दिन परीक्षाको घडी थियो। परीक्षामा जस्तै मनभरि ‘गेसपेपर’ छरपस्ट आइरहे। तर सबै ‘गेसवर्क’ मात्रै- त्यस्तो अन्दाजीकरणको के काम? १० बजेपछि प्रहरी हेल्पलाइनमा फोन हानेँ। फोन ब्यस्त थियो, त्यसबाट पार लाग्ला जस्तो लागेन। घाममा लुखुरलुखुर पुलिस अफिस धाउने कि नधाउने दोधारमा थिएँ। एकपल्ट अन्तिम प्रयास ट्राई गर्छु भनेर प्रहरी हेल्पलाइनको नम्बर थिचेँ। यस पटक ‘हेलो’ भनेर तिनै परिचित महिला प्रहरीको आवाज आयो। मैले नम्र स्वरमा भनेँ-

‘मेरो हराएको मोबाइलको अस्ति तपाईँले लोकेसन ट्रयाक गर्नुभएको थियो। आज आउनुहोला भन्नुभाथ्यो। त्यही बुझौँ भनेर कल गरेको।’

ती महिला प्रहरीले कति चाँडै मेरो स्वर चिनेर भनिन्, ‘बुबा तपाईँको फोन हिजै आइपुग्यो। आईडी पेपर लिएर आउनु होला।’

म अझै विश्वस्त हुन सकिरहेको थिइनँ। सपना हो कि बिपना जस्तो भएको थियो।

हतारहतार लुगा फेरेर म प्रहरी कार्यालयतिर दौडिएँ। म त्यहाँ पुग्दा ती महिला प्रहरी कर्मचारीको कक्षमा मान्छेको उपस्थिति अलि होलो थियो। मलाई देख्नेबित्तिकै उनले चिनिहालिन्। अनि ड्रअरमा राखेको मोबाइल सेट मेरो हातमा राखिदिँदै भनिन्-

‘हराएको मोबाइल फोन फेला परेकोमा तपाईँलाई बधाई छ। तपाईँको हराएको मोबाइलको पछिल्लो प्रयोगकर्ता अलि सोझो परेछ। केही समयअघि मात्र चार हजारमा किनेको रहेछ। सिम राख्नासाथ ट्रयाकिङमा आइहाल्यो। त्यसअघिको प्रयोगकर्ता प्रोफेसनल्स् नै हुनुपर्छ। दुई वर्ष त उसले सिमकार्डबिनै वाइफाइको मद्दतले मोबाइल राम्रै चलाएछ।’

गतिलै चोर परेछ क्यार- मोबाइलको स्क्रिन अलिअलि कोरिएको थियो, त्यसबाहेक केही भएको थिएन। मलाई हराएको कोहिनुर पाएसरह भयो। मैले ती महिला प्रहरी अधिकारीलाई हृदयदेखि नै धन्यवाद भनेँ। प्रत्युत्तरमा उनले यस्तो भनिन्-

‘बुबा, हाम्रो पेसा नै यस्तै हो। हाम्रो कार्यालयबाट बाहिरिँदा कोही रुँदै जान्छन् त कोही खुसी हुँदै फर्किन्छन्। तपाईँको मोबाइलको पछिल्लो प्रयोगकर्ता पनि मोबाइल फिर्ता गर्नुपरेकोमा आँसु चुहाउँदै फर्केको थियो।’

मेरो पनि मन रसायो र मनमनै भनेँ, ‘त्यस्तो थाहा पाएको भए उसको हातमा हजार पन्ध्र सय राखी दिनुहुन्थ्यो।’

आखिर मान्छेकै मन त रहेछ। कहिले यो मन सानो कुराले पनि खुसी हुन्छ, कहिले एउटा सानो वचनले पनि दुःखी हुन्छ। कहिले निराश हुन्छ, हतास पनि हुन्छ तर मनभित्र आशाको दियो कहिल्यै मर्न दिँदैन। मैले आश मारिसकेको हराएको मोबाइल फेला पर्नु भनेको त्यसको सानो उदाहरण थियो।

मोबाइल केही बेर हातमा खेलाएँ। ऊ मेरो हातको स्पर्शले रमाएजस्तो लाग्यो। धेरै वर्षपछि हराएको छोरो घर फर्केको अनुभूति भयो। ऊ पनि घर फर्कन पाएकोमा खुसी थियो।

घर फर्केपछि सबभन्दा पहिले नारानलाई पोर्चुगलमा फोन गरेँ। मोबाइल सकुशल फेला परेकोमा म भन्दा ऊ खुसी भयो। नेपालमा भएको भए त्यो फेला परेको मोबाइलमा उसकै बढी हक लाग्थ्यो।

त्यसपछि फोन गर्ने पालो लन्डनमा। अरुणलाई त विश्वास नै लागेन। ‘नेपालमा पनि त्यस्तो सम्भव छ र !’ उसले अचम्भित हुँदै भन्यो।

‘यो सबै आमसञ्चारका क्षेत्रमा भएको अभूतपूर्व प्रगति र त्यसको भूमण्डलीकरणको कारणले सम्भव भएको हो’, मैले उसको अगाडि विद्वत्ता छाँटे।

‘विश्व कतिसम्म साँघुरिइसकेछ भने मेरो हराएको मोबाइल ट्रयाकिङको सूचना पहिले पोर्चुगलमा पुग्यो। नारानको मद्दतले त्यो सूचना मैले नेपालमा पाएँ। मैले तत्काल नेपाल प्रहरीलाई खबर गरेँ। प्रहरीले झ्याप समातेर मोबाइल मेरो हातमा।’ मैले दिएको फेहरिस्तले ऊ पनि जिल्ल पर्‍यो।

मोबाइल नाटकीय ढंगमा हराएको र त्यसरी नै नाटकीय ढंगमा फेला परेको कथा यत्ति!

नेपालमा पनि केही न केही सानातिना सकारात्मक काम त भएको छ भन्ने त्यो सानो उदाहरण थियो।

त्यो प्रसंगले मलाई गहिरो सोचमा डुबायो। त्यो के भने – हिजोआज नेपालमा सबैथोक हरायो, यहाँ केही भविष्य छैन भन्ने युवा पुस्तामा जुन भाष्य निर्माण भइरहेको छ, त्यसमा नै समस्या छ। नेपालमा पनि केही न केही सकारात्मक काम भइरहेको छ र धेरै कुरा हुन सम्भव छ भन्ने तथ्य अभिभावकको भूमिकामा रहेको राज्य अनि सरकारले जेनजी पुस्तालाई बुझाउन सकेन या बुझाउन चाहेन। त्योभन्दा पनि ठूलो विडम्बना के भने अस्तिसम्म सरकारले जेनजीहरूको जायज आकांक्षा र सपनालाई केटाकेटीको गुलेली खेल सम्झेर केही वास्ताव्यास्ता गरेन। जब राज्य र सरकारमाथिको आशा, विश्वास र भरोसा टुट्यो अनि जेनजीहरूको आन्दोलनले विस्फोटको रूप लियो।

त्यसैले सरकारमा बस्ने जोसुकैले पनि हेक्का राख्नुपर्ने मुख्य कुरा – जनतामा आशा, विश्वास र भरोसा दिन सक्नु नै हो। आशा मर्‍यो भने, विश्वास टुट्यो भने अनि भरोसा छुट्यो भने के पो नै बाँकी रहन्छ र!

यो नियम व्यक्तिको जीवनमा मात्र हैन राष्ट्रको जीवनमा पनि त्यतिकै लागू हुन्छ।

प्रकाशित: १ कार्तिक २०८२ १९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast