मानव र मानवेतर प्रकृतिबीच सद्भावको महान् पर्व तिहार

रोहिणीराज तिमिल्सिना १ कार्तिक २०८२ २०:३३
26
SHARES
मानव र मानवेतर प्रकृतिबीच सद्भावको महान् पर्व तिहार

नेपालीको मुटुलाई एकाकार गर्ने, हरेक घरमा दीपको आभा छर्ने र प्रकृतिप्रतिको हाम्रो अगाध स्नेहलाई मूर्तरूप दिने महान् राष्ट्रिय चाड हो- ‘तिहार’, जसलाई ‘यमपञ्चक’ र ‘दीपावली’ वा ‘दीपमालिका’ पनि भनिन्छ। विशेष उत्सवका साथ मनाइने पर्व भएकाले तिहार, दीपहरूको आवली वा लस्कर/समूह बनाएर झिलिमिली बत्ती बाली मनाइने भएकाले ‘दीपावली’ वा ‘दीपमालिका’ र यमदेवको विशेष पूजनपूर्वक सम्पन्न गरिने भएकाले यस पर्वलाई ‘यमपञ्चक’ भनिएको हो।

दसैँको उत्साह सेलाउन नपाउँदै सुरु हुने यो पञ्चदिवसीय उत्सवले मानिस, जीवजन्तु र समग्र प्रकृतिका बीचको अविच्छिन्न सम्बन्धलाई अत्यन्तै सुन्दर ढङ्गले प्रस्तुत गर्छ। कात्तिक महिनाको श्रीकृष्णपक्षको त्रयोदशीदेखि प्रारम्भ भएर शुक्लपक्षको द्वितीया भाइटीकासम्म अत्यन्तै हर्षोल्लासका साथ मनाइने यो महान् पर्वको हरेक दिनको आआफ्नै विशिष्ट महिमा रहेको छ। यस पर्वले मानव र मानवेतर प्रकृतिबीचको प्रगाढ सम्बन्ध, दाजुभाइ तथा दिदीबहिनीका बीचको आत्मीय स्नेह र धनकी अधिष्ठात्री देवी लक्ष्मीप्रतिको भक्तिभावलाई उजागर गर्छ।

पौराणिक कथा र धार्मिक महत्त्व

सूर्यपुत्र यमदेवले आफ्नी बहिनी यमुनाको निमन्त्रणा स्वीकार गरी यमपञ्चकका पाँच दिन उनको घरमा आतिथ्य ग्रहण गरेको पौराणिक कथा यस पर्वसँग जोडिएको छ। बहिनी यमुनाको सेवा र व्यवहारले अत्यन्त प्रसन्न भई यमदेवले उनलाई वरदान माग्न आग्रह गर्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन आफूलाई भेट्न आउनुपर्ने’ र ‘दिदी-भाइ, दाजुबहिनीको प्रेम सदा अटल रहोस् साथै भ्रातृपूजा गर्ने दाजुभाइको आयु र कीर्ति सदा वृद्धि होस्’ भन्ने वरदान मागिन्। यमदेवले ‘तथास्तु’ भन्दै यसरी पूजा गर्नेहरू चिरायु रहने, उन्नति हुने र कीर्ति फैलिने वरदान दिएको हुनाले यो पर्व प्राचीन कालदेखि अविच्छिन्न रूपले मनाइँदै आएको हो।

धार्मिक रूपमा यस पर्वले जीवन र मृत्युका देवता यमदेवलाई प्रसन्न पारेर परिवारको सुख, शान्ति, आरोग्य र पारलौकिक सद्गति प्राप्त गर्ने कामना गर्दछ। यो पञ्चदिवसीय पर्वमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोरु, गोवर्धनपर्वत र दाजुभाइको पूजा गरिन्छ। यसले मानवजातिलाई जीवनका विभिन्न पक्षमा सहयोग पुर्‍याउने प्राणी र प्रकृतिप्रतिको सम्मानभाव जगाउँछ।

सामाजिक र वैज्ञानिक पक्ष

तिहारको सांस्कृतिक महत्त्व जति छ, त्यसभन्दा बढी सामाजिक, वैज्ञानिक महत्त्व रहेको पाइन्छ।

• वातावरणमा सन्तुलन : कागलगायतका चराहरू वातावरण-सन्तुलनका प्रतीक हुन्। बालीनालीमा लाग्ने कीराहरू खाएर उनीहरूले किसानलाई सहयोग गर्छन्। कागपूजाले मानिसलाई सधैँभरि चराहरू र उनीहरूका वासस्थानप्रति इमानदार हुनुपर्छ भन्ने सन्देश दिन्छ।

• पशुमैत्री व्यवहार : कुकुरले स्वामीभक्तिको महत्त्व दर्शाउँछ। मानिसको नजिकको हितैषी प्राणी कुकुरप्रति सदैव कुकुरमैत्री व्यवहार गर्नुपर्ने र यसको इमानदारिताबाट इमानदार हुनुपर्ने सन्देश प्राप्त हुन्छ। गाई, गोरु र गोवर्धनपर्वतको पूजामा कृषिप्रधान समाजमा यी प्राणी तथा वनजङ्गलले पुर्‍याएको सहयोग (दूध, दही, गोबर, गहुँत, हलो जोत्ने गोरु, अक्सिजन दिने पर्वत) प्रति कृतज्ञता प्रकट गरी उनीहरूको संरक्षण गर्नुपर्छ भन्ने सन्देश लुकेको छ। गोवंशबाट प्राप्त हुने पञ्चगव्यको धार्मिक महिमा र यसको मानवस्वास्थ्यसँग सम्बन्धित वैज्ञानिकताको पक्षसमेत जगजाहेरै छ।

• स्वास्थ्य र सरसफाइ : लक्ष्मीपूजाका लागि घर-आँगन सफा गर्ने, लिपपोत गर्ने र दीपावली गर्ने चलनले सरसफाइ र उज्यालो अनि सकारात्मकताको महत्त्व दर्शाउँछ। तिलको तेल लगाएर नुहाउने (नर्के नुहाउने) चलनले स्वास्थ्य र छालाका रोगबाट बच्न मौसम-अनुकूलको परम्परापालनको महत्त्व दर्शाउँछ।

• मानवीय सम्बन्ध : भाइटीकाले दाजुभाइ र दिदीबहिनीका बीचको आत्मीयता, प्रेम, सद्भाव र पवित्र सम्बन्धलाई बलियो बनाउँछ। जहाँ मान्छेले मान्छे र पशुपक्षी अनि प्रकृतिको समेत सम्मान गर्न सिक्छ, त्यहाँ आधाभन्दा बढी समस्या आफैँ समाधान हुन्छ भन्ने सामाजिक सन्देश पनि हामीलाई यमपञ्चकले दिन्छ।

यमपञ्चकका पाँच दिन

यमपञ्चकका पाँच दिनको आ-आफ्नै छुट्टाछुट्टै महत्त्व छ।

१. कार्तिक श्रीकृष्ण त्रयोदशी : काग-तिहार (धनत्रयोदशी/धन्वन्तरी जयन्ती)

यमपञ्चकको पहिलो दिनलाई काग-तिहार भनिन्छ। यस दिन बिहानै कागलाई यमदेवको दूत र सन्देशवाहक मानेर पूजा गरिन्छ र दही-भातलगायतका मनपर्ने खानेकुरा (‘काकबलि’) दिइन्छ। काग यमलोक र मर्त्यलोक दुवै ठाउँमा उडेर पुग्छ भन्ने मान्यताले गर्दा उसलाई धर्तीको शुभ सन्देश लिएर जाओस् भनेर पूजा गरिन्छ।

यसै दिन बेलुका यमदीपदान हुन्छ। घरका जति पनि सदस्य छन्, उनीहरूको नाम लिएर दक्षिणतर्फ फर्केर दीपदान (दीप बालेर राख्ने) गरिन्छ। यसो गर्नाले परिवारमा सुख, शान्ति र पारलौकिक सद्गति प्राप्त हुने धार्मिक विश्वास छ। यो दिनलाई धनत्रयोदशी वा धन्वन्तरी जयन्ती पनि भनिन्छ। किनकि यसै दिन आयुर्वेदका आदिपुरुष एवं सृष्टका प्रथम चिकित्सक (मेडिकल डक्टर) भगवान् धन्वन्तरीको जन्म भएको मानिन्छ र यस दिन भगवान् धन्वन्तरीको धूमधामसँग पूजन गरेर आफ्नो जीवनको आरोग्यमयताको कामना गरिन्छ। कुनै शास्त्रीय मान्यता नभए तापनि पछिल्लो समय यस दिन नयाँ भाँडाकुँडा किन्ने चलनसमेत थपिएको छ।

२. कार्तिक श्रीकृष्णचतुर्दशी : कुकुर-तिहार (नरक-चतुर्दशी)

यमपञ्चकको दोस्रो दिनलाई कुकुर-तिहार भनिन्छ। यस दिन कुकुरलाई यमदूत, भैरवको वाहन, आज्ञापालक, रक्षक र मानिसको हितैषी प्राणी मानेर पूजा गरी माला लगाइदिई मन पर्ने भोजन (‘श्वानबलि’) दिइन्छ। कुकुरले घरको रेखदेख गर्नुका साथै प्राकृतिक प्रकोप र दैवी विपत्तिको पूर्वसूचना समेत दिन्छ।

यो दिनलाई नरक-चतुर्दशी पनि भनिन्छ। यस दिन बिहानै शरीरमा तिलको तेल लगाएर ‘नर्के’ नुहाइन्छ। यसो गर्नाले स्वास्थ्य ठीक रहने र छालाका रोग नलाग्ने धार्मिक वैज्ञानिक मान्यता छ। श्याम र सबल नामका कुकुर यमलोकको द्वारमा बस्ने हुँदा यमदेवको सान्निध्यमा जाँदा दुःख नदिऊन् भनेर ‘श्वानबलि’ दिने गरिन्छ।

३. कार्तिक श्रीकृष्ण औँसी : गाई-तिहार र लक्ष्मीपूजा

यमपञ्चकको तेस्रो दिनलाई गाई-तिहार र लक्ष्मीपूजा को दिनका रूपमा मनाइन्छ। यस दिन बिहानीको भोजनभन्दा पहिले नै गाईपूजा गरिन्छ भने साँझमा लक्ष्मीपूजा हुन्छ।

• गाई-तिहार : यस दिन गाईलाई लक्ष्मी र गोमाताका रूपमा पूजा गरिन्छ। हिन्दुसंस्कारमा गाईको गोबरले घर-आँगन लिपपोत गरी पवित्र तुल्याइन्छ भने दूध, दही, घिउ, गहुँत र गोबर सबै पवित्र मानिन्छ। गाईलाई पशुधनका रूपमा लिइन्छ र यस दिन गाईको पूजा गरी गाईप्रति सम्मान प्रकट गरिन्छ।

• लक्ष्मीपूजा : कार्तिक श्रीकृष्णपक्षको औँसीको अँध्यारो रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने उद्देश्यका साथ घर-घरमा लिपपोत गरी, रेखी (रङ्गवल्ली) बनाई बत्ती बालेर धनकी देवी माता लक्ष्मीको आह्वान र पूजा गरिन्छ। ‘तमसोमा ज्योतिर्गमय’ अर्थात् अन्धकारबाट प्रकाशतर्फ लैजाऊ भन्ने वैदिक सन्देश यसमा निहित छ। दीपावली गरी धनकी अधिष्ठात्री देवी लक्ष्मीको पूजा गर्नाले सुख-सम्पत्ति र ऐश्वर्यको अभिवृद्धि हुने विश्वास छ। लक्ष्मीलाई सफा, उज्यालो र मेलमिलाप भएको वातावरण मन पर्ने भएकाले घर-आँगनमात्र नभई मनलाई पनि उज्यालो बनाउनुपर्ने सन्देश दिनु यस पूजाको उद्देश्य हो। यसै रात ‘अलक्ष्मी’ (फोहर, आलस्य) भाग्छिन् र लक्ष्मी भित्रिन्छिन् भन्ने विश्वासका साथ महिलाहरूले मध्यरातमा नाङ्लो बजाउने (‘सूर्पवादन गर्ने’) पुरानो चलन छ। साथै यस साँझमा लक्ष्मीपूजा गरिसकेपछि नारीहरूले घर-घरमा गई भैलो खेल्ने परम्परा पनि छ।

४. कार्तिक शुक्लप्रतिपदा : गोरुतिहार एवं गोवर्धनपूजा

यमपञ्चकको चौथो दिनलाई गोरुतिहार, हलतिहार वा गोवर्धनपूजाको दिवसका रूपमा मनाइन्छ।
• गोरुपूजा : कृषिप्रधान देशमा वर्षभरि अन्न उब्जाउन हलो तानी मानिसलाई सहयोग गर्ने गोरुको पूजा गरिन्छ। गोरुप्रति कृतज्ञता प्रकट गर्नु यस पूजाको मूल आशय हो।
• गोवर्धनपूजा : भगवान् श्रीकृष्णले द्वापरयुगमा इन्द्रको पूजा रोकाई प्रकृतिसम्मानको भाव जगाउन गोवर्धन-पर्वतको पूजा गराउनुभएको थियो। गोकुलवासीको रक्षाका लागि उहाँले गोवर्धन-पर्वतलाई उचालेर आश्रय दिएको कथा यस सन्दर्भसँग जोडिएको छ। गोवर्धन-पर्वतले खनिज, घाँस, पानी, दाउरा र अक्सिजन दिएर सबै प्राणीको प्राण बचाएकाले यसको पूजाले प्रकृतिमैत्री व्यवहारको सन्देश दिन्छ।
• यसै दिन नेवार-समुदायमा म्हःपूजा (आत्मपूजा) गर्ने चलन छ, जसले आत्मालाई नित्य, शाश्वत र ईश्वरको स्वरूप मानेर सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन्छ।

५. कार्तिक शुक्लद्वितीया : भाइटीका (यमद्वितीया)

यमपञ्चकको अन्तिम दिन भाइटीका (यमद्वितीया) विशेष उत्साहका साथ मनाइन्छ। यो पर्व दिदीबहिनीले दाजुभाइलाई विशेष मान-सम्मानका साथ र दीर्घायुको कामनापूर्वक विधिपूर्वक पूजा गर्ने र दाजुभाइ तथा दिदीबहिनीका बिचमा उपहार आदानप्रदान गर्ने पर्व हो। यस दिन दिदीबहिनीले दाजुभाइलाई पूजा, टीका, माला, भाइमसला प्रदान गरिसकेपछि दाजुभाइले दिदीबहिनीप्रति अझै विशेष सम्मानका साथ ढोग गरी दक्षिणा दिने, उपहार दिने गर्छन्।

यमदेवले बहिनी यमुनाको घरमा बसेर यमुनाद्वारा पूजित भएको पौराणिक कथाका कारण यस पर्वलाई यमद्वितीया पनि भनिन्छ। यस दिन दिदीबहिनीले दियो, कलश र गणेशको पूजा गरी यमदेव, यमुना, अष्टचिरञ्जीवी (मार्कण्डेय, बलि, व्यास, हनुमान्, विभीषण, कृपाचार्य, अश्वत्थामा र परशुराम) को पूजा गरेपछि बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोग गरी दाजुभाइको पूजा गर्छन्। दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले र दिदीबहिनीको दीर्घायुको कामना गर्दै दाजुभाइले घरको दलिनमा ओखर फुटाउँछन्। दाजुभाइको यश, आरोग्य र दीर्घायुको कामना गर्दै दिदीबहिनी सप्तरङ्गी टीका लगाइदन्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई सप्तरङ्गी टीका, माला लगाइदिन्छन्। मखमली कहिल्यै नओइलाउने, सयपत्रीको रङ्ग नउड्ने र दूबो सधैँ हरियो रहने भएकाले यी वस्तुको प्रयोगले दाजुभाइको सम्बन्ध पनि सधैँ अटल रहोस् भन्ने गहिरो प्रेमपूर्ण कामना व्यक्त गरिन्छ। यसरी यो भाइतिहार दाजुभाइ र दिदीबहिनीका बीचको प्रेम, सद्भाव र स्नेहलाई अझ दिगो बनाउने महत्त्वपूर्ण कडीको रूपमा रहेको छ।

उपसंहार

यसरी ‘यमपञ्चक’ अर्थात् ‘तिहार’ केवल एउटा धार्मिक वा सांस्कृतिक पर्वमात्र नभएर यो नेपाली जीवनशैली, दर्शन र मूल्य-मान्यताको उत्कृष्ट प्रतिबिम्ब हो। यस पर्वले पौराणिक कथामा आधारित भई दाजुभाइ र दिदी-बहिनीबीचको पवित्र र अटल प्रेमको महत्त्व स्थापित गर्दछ। साथै यसले जीवनका विभिन्न आयामहरूमा हामीलाई सहयोग पुर्‍याउने प्राणीहरू र प्रकृतिप्रतिको हाम्रो दायित्व एवं कृतज्ञताको भावलाई पनि झल्काउँछ।

कार्तिक कृष्णत्रयोदशीदेखि सुरु भई यमद्वितीयासम्म मनाइने यस उत्सवले काग, कुकुर, गाई, गोरु र गोवर्धनपर्वतको पूजा गराएर मानवलाई पशुपक्षी र वातावरणीय सन्तुलनसँग जोड्ने महत्त्वपूर्ण वैज्ञानिक र सामाजिक कार्य गर्छ भने भगवती लक्ष्मी, यमदेव, देवी यमुना, अष्ट चिरञ्जीवी आदिको पूजनद्वारा अदृश्य चैतन्यशक्तिप्रति समेत मानवीय श्रद्धा-आस्थालाई जगाउने काम गर्दछ। सरसफाइ, स्वास्थ्य तथा सकारात्मकताका लागि दीपावली र नर्के नुहाउने चलनले जीवनको शुभ्र, स्वच्छ एवम् उज्यालो पक्षलाई अँगाल्न प्रेरित गर्छ। समग्रमा तिहार एउटा यस्तो अनुपम पर्व हो, जसले मानिसलाई आत्मिक शान्ति, आपसी सद्भाव, प्रकृतिसँगको प्रेम र पारिवारिक बन्धनलाई अझ बलियो बनाउन सिकाउँछ, जसले गर्दा यो पर्व हाम्रो राष्ट्रिय पहिचानको अमूल्य धरोहर बनेर जीवन्त रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast