चाइना जर्नल

धमनीजस्तो बियर स्टल र कुहिरोसँग लुकामारी खेल्ने सहर

अजय अलौकिक १ कार्तिक २०८२ १२:४२
36
SHARES
धमनीजस्तो बियर स्टल र कुहिरोसँग लुकामारी खेल्ने सहर

चीनको पूर्वी भागमा अवस्थित सान तोङ प्रान्तको छिङ ताओ सुन्दर समुद्री सहर हो। पीतसमुद्रको किनारमा रहेको छिङताओ समुद्र र पहाडी दृश्यको एउटा क्यानभासजस्तो देखिन्छ। अधिक आर्द्रताका कारण नुनिलो हावा बहिरहेको अनुभव दिलाउने यो सहरले समुद्रीतटको अनुभवसँगै बियरको घुट्की लिन पनि प्रोत्साहित गर्दछ।

यहाँ विशेषतः जर्मन वास्तुकलासहित अरू युरोपेली शैलीका भवन पनि देख्न पाइन्छ। यसबाहेक गगनचुम्बी भवनबाट हुस्सु र कुहिरोको लुकामारीका साथ सहर र समुद्रको मनमोहक दृश्यावलोकन पर्यटकका लागि अर्को छनोट हुनसक्छ।

मेरो यो दोस्रो पटकको छिङताओ भ्रमण हो। पहिलो भ्रमण नितान्त व्यक्तिगत थियो। एक नेपालीको आँखादेखि मनभित्रसम्म समुद्र भर्ने चाहनाअनुरूपको यात्रा थियो, जुन आजभन्दा १२,१३ वर्षअघि र समुद्र र समुद्री खानासँगको साक्षात्कार थियो। यसपटकको यात्रा कार्यरत संस्था चाइना मिडिया ग्रुप (सीएमजी) मातहतको सीजीटीएन नेपाली सेवाबाट र पहिलो गन्तव्य थियो, साङहाई सहयोग संगठन (एससीओ) पर्ल अन्तर्राष्ट्रिय एक्सपो सेन्टर।

समुद्र नजिक नेपालको अनुभव

एससीओ पर्ल अन्तर्राष्ट्रिय एक्सपो सेन्टरलाई मोती संसार पनि भन्ने गरिँदो रहेछ। सिपीरूपी डिजाइन अर्थात् सिपीको आवरणजस्तो छाना बीच बनाइएका विशाल भवनहरूको समूहभित्र एससीओ सम्बन्धित विभिन्न देशका आआफ्ना मण्डप सजाइएका छन्। जसले सो देशको साधारण परिचय मात्र दिइरहेको छैन, त्यहीँ पुगेको अनुभूत गराउन सफल छ। मण्डपको भ्रमणअघि एससीओ अर्थात् साङहाई सहयोग संगठनको छोटो परिचय।

साङहाई सहयोग संगठन सन् २००१ मा चीन, रूस, कजाकिस्तान, किर्गिजस्तान, ताजिकिस्तान र उज्वेकिस्तानद्वारा स्थापना गरिएको हो, जसको उद्देश्य सदस्य राष्ट्रहरूबीच सहकार्य र शान्ति प्रवर्धन गर्नुबाहेक ‘नयाँ लोकतान्त्रिक, न्यायपूर्ण र तर्कसंगत अन्तर्राष्ट्रिय राजनीतिक र आर्थिक व्यवस्था’ को प्रवर्धन गर्नु पनि हो। संगठनमा सन् २०२४ मा बेलारूसलाई समावेश गरी सदस्य राष्ट्रहरूको संख्या १० पुर्‍याइएको छ भने यसलाई भूगोल र जनसंख्याका हिसाबले विश्वको सबैभन्दा ठूलो क्षेत्रीय संगठनको रूपमा मानिन्छ। यसबाहेक अब्जर्भर राष्ट्रहरू दुई र भर्खरै भित्र्याइएको लाओससँगै १५ वटा संवाद साझेदार देश छन्। नेपाल यो संगठनमा संवाद साझेदारका रूपमा मात्र रहेको छ।

एससीओ सम्बन्धित देशहरूको राष्ट्रिय मण्डप स्थापना गरिएको यो मोतीमा संसार भनिने प्रदर्शनी केन्द्र एससीओ देशहरूलाई मात्र लक्षित पहिलो व्यावसायिक परिसर हो। साथै सांस्कृतिक अनुभव आधार केन्द्र पनि हो। चीन एससीओ स्थानीय आर्थिक र व्यापार सहयोग प्रदर्शन क्षेत्र प्रशासन समितिअनुसार ३० सेप्टेम्बर २०२२ मा आधिकारिक रूपमा सुरु गरिएको यो केन्द्र सानतोङ प्रान्त र छिङताओ सहरका लागि एससीओ र ‘बेल्ट एन्ड रोड’ मा आबद्ध देशहरूबीच बृहत् रूपमा र गहन स्तरमा पुँजी, प्रविधि र प्रतिभाको प्रवर्धन गर्ने महत्त्वपूर्ण प्लेटफर्म हो। यो एक ऐतिहासिक परियोजना हो, जसले ‘प्रदर्शनी, व्यापार, पर्यटन र संस्कृति’ लाई एकीकृत गरेको छ।

‘प्रदर्शनी, व्यापार, पर्यटन र संस्कृति’ का साथमा संग्रहालयजस्तो देखिने यी मण्डप र केन्द्रको सञ्चालन बजार केन्द्रित भए तापनि यसले नयाँ सांस्कृतिक परिदृश्यका साथमा चीनको पहिलो एससीओ सांस्कृतिक अनुभव आधार, पहिलो एससीओ आधारित व्यापारिक परिसर, एक अन्तर्राष्ट्रिय अनुसन्धान र अध्ययन आधार केन्द्र उपलब्ध गराएको छ।

यहाँ चीन वा छिङताओको भ्रमण र खोज मात्रै होइन नेपालसहित विश्वका विभिन्न देशबारे जानकारी तथा अनुभूत गर्न पाइन्छ। समुद्र छेउमा अवस्थित यो केन्द्रमा रहेको नेपाल मण्डपको भ्रमणले एकै समयमा बुद्धभूमि र हिमालयको काखमा पुर्‍याउन सफल छ। नेपाली हस्तकला, सजावट र सुगन्धले नेपाली तपोभूमिको प्रचार गरिरहेको अनुभूत मिल्छ। विभिन्न मेलामा देखिएका मण्डपभन्दा यी विशाल मण्डपहरूको भमण विशेष छ। (केही समयअघिसम्म काठमाडौँ र छिङताओ हवाईमार्गमार्फत जोडिएको थियो।)

युरोपेली शैली भवन र सबैभन्दा अग्लो टावरबाट हुस्सुबीचको समुद्री सहर

यहाँ देखिने जर्मन शैलीका रातो छानो भएका भिल्लाहरूको दृश्य साथै चर्चले आगन्तुकलाई युरोपको कुनै सानो सहर बस्तीमा पुगेको अनुभव गराउँछ। त्यसबाहेक जर्मन र विविध युरोपेली शैलीका भवनहरूको बस्ती जसलाई पा ता क्वान (आठ ठूला पासहरू) भनिन्छ, यो क्षेत्रको भ्रमणले छिङताओमा विविधता थपिएको महसुस गराउँछ। पर्यटकहरू आफ्नै घरआँगनमा जसो बसी विभिन्न हाउभाउमा फोटो खिचाउने, भिडियो बनाउने तथा ती वास्तुकलाको अवलोकनमा मग्न देखिन्छन्।

साथै त्यो क्षेत्र समुद्री किनारसँगै भएबाट अझै रौनक बढाएको छ। शान्त, भव्य अनि पर्यटकको उपस्थिति र समुदी लहरबीच खुला आकाश तल अन्तर्राष्ट्रिय आर्किटेक्चर एक्सपो वा संग्रहालयको अवलोकनझैँ छ। झ्यालढोकाका बुट्टा र घरका आकर्षक डिजाइन आँखामै टाँसेजस्तो हुनसक्छ।

पाताक्वानबाट देखिने बादल र कुहिरोले समुद्र, पहाड अनि सहरबीच लुकामारी गरिरहेको दृश्य छोडेर सहरको सबैभन्दा अग्लो टावर, हाइथ्येन सेन्टर (३९० मिटर) मा तीव्र गतिको लिफ्ट चढेर यहाँबाट कुहिरो र बादलको सहरको उपनाम पाएको छिङताओको अवलोकन अझै विशेष छ। हरियाली लाओ पहाड, नीलो समुद्र, राता छानाका घर अनि अग्ला भवनहरू र चोक सडक बीच हुस्सु, कुहिरो र बादलको दौडधुप हेरिरहुँ लाग्दछ, कुन बेला बादल हट्ला र दृश्यलाई आँखामा कैद गरूँ भन्ने पर्खाइ पनि मीठो हुन्छ। यसरी पाताक्वानमा प्राचीन कलाको अनुभवपछि गगनचुम्बी भवनको यात्रा ‘टाइम ट्राभल’ गरेजस्तै लाग्न सक्छ।

चलचित्र छायांकन स्थल

समुद्र र पहाडपर्वतको अद्रभुत प्राकृतिक दृश्यले भरिएको विकसित, आधुनिक सहरका साथै सांस्कृतिक र पुरातात्त्विक महत्त्वका वास्तुकलाले पनि भरिपूर्ण छिङताओ आफैँमा प्राकृतिक चलचित्र स्टुडियो हो, यसमा विमति हुन्न होला। त्यसबाहेक यहाँ ५.४ मिलियन वर्ग मिटर क्षेत्रफलमा फैलिएको विशाल चलचित्र छायांकन स्थल पनि छ। ओरिएन्टल फिल्म क्यापिटल इन्डस्ट्रियल पार्कको यो चलचित्र छायांकन स्थल अन्तर्राष्ट्रिय स्तरको फिल्म तथा टेलिभिजन आधार हो, जहाँ ५२ वटा हाइटेक स्टुडियो छन्।

विश्वको सबैभन्दा ठूलो १० हजार वर्ग मिटरको सिङ्गल स्टुडियोका साथै इनडोर, आउटडोर तथा अन्डरवाटर स्टुडियो छन्। यहाँ चलचित्रकर्मीबाहेक पर्यटक पनि अवलोकनका लागि जान सक्छन् र सर्वाधिक चर्चित चलचित्र सुटिङ गरिएका केही स्टुडियो सोही रूपमा पनि राखिएका छन्, जसले उक्त चलचित्रप्रति चासो भएकाका लागि स्वर्गीय अनुभूत गराउन सक्छ। ५० बिलियन युआन लगानीको यो ‘ओरिएन्टल हलिउड’ चिनियाँ चलचित्रलाई विश्वव्यापी बनाउनका लागि एउटा महत्त्वपूर्ण आधार बनेको देखिन्छ।

सांस्कृतिक सडक

जब सन्ध्या हुन थाल्छ तब तापाओताओ क्षेत्र जीवन्तझैँ हुन्छ। ४,५ किलोमिटर ढाकेको यो क्षेत्र एउटा पुरानो बस्ती हो, जहाँ सडक, गल्ली र सांस्कृतिक पहिचान बोकेका पुरातन शैलीका आवास क्षेत्र, चोक र भवन छन्। यहाँ अमूर्त सांस्कृतिक सम्पदा सम्बन्धमा अनुभव लिने गतिविधिहरूको आयोजना हुने गर्दछ, जहाँ आगन्तुकले सहभागिता जनाउन सक्छन्। रेस्टुराँमा छिङताओका स्थानीय खाना खान मात्रै होइन, बनाउन पनि पाइन्छ। खानपिन, सांस्कृतिक अनुभवका साथै संग्रहालयको अवलोकन गर्न पाइने यो थलोलाई भर्खरै सांस्कृतिक र मनोरञ्जन क्षेत्रका रूपमा विकास गरिएको हो।

राष्ट्रिय पर्यटनसँग जोडेर सहरी नवीकरण प्रदर्शन परियोजनाका रूपमा रात्रीकालीन अर्थव्यवस्थामा केन्द्रित रहेर रात्रि सांस्कृतिक बजार र पर्यटन क्षेत्रका रूपमा निर्माण गरिएको हो। साँझ परेपछि सडक र गल्ली चमकदमकका साथ ‘ओपन रेस्टुराँ’ भइदिन्छ अनि ठाउँठाउँमा यसरी भनौँ केही कदमपछि बियरको भेन्डिङ मेसिन वा स्वचालित बियर स्टेसन देख्न पाइन्छ। छिङताओमा जताततै ‘एनिटाइम’ छिङताओ बियर उपलब्ध छ।

छिङताओ सहरको धड्कन छिङताओ बियर

१२ वर्षअघिको छिङताओ भ्रमणमा होटेल-होटेल एक ब्रुअरी देखेको थिएँ तर यसपटक चोक, मोड र केही कदममा जताततै छिङताओ बियर स्टेसन देखेँ। साथै, छिङताओको भ्रमण छिङताओ बियर संग्रहालयको भ्रमण बिना अधुरो पनि मान्न सकिन्छ कि? अवश्य! बियरप्रेमीहरूका लागि छिङताओ बियर संग्रहालय तीर्थस्थल हो। बियरको स्वाद चाख्नु सँगसँगै एउटा ‘भोएज’ मा लानेछ, तपाईँलाई।

गगनचुम्बी भवनमाथि प्रकाशका परेड दृश्य

छिङताओ भ्रमणमा छुट्टाउनै नहुने अर्को भनेको गगनचुम्बी भवनमाथि प्रकाशका परेड दृश्यावलोकन हो। मे चार लगायतका विभिन्न चोक र समुद्री किनारबाट लाइट सो हेर्न मज्जा आउँछ। रात्रि आकाशलाई उज्यालो पार्ने र गगनचुम्बी भवनलाई क्यानभास बनाउने यो लाइट सो समुद्री यात्रासँगै जहाजबाट हेर्नुको मज्जा भनिसाध्य छैन।

चीनको सबैभन्दा सुन्दर खाडीका रूपमा प्रसिद्ध फुसान बेको रात्रि भ्रमणका साथै समुद्रको यात्रा र तीन लाख बढी एलइडी बत्तीहरूबाट सहरका ५० बढी गगनचुम्बी भवनहरूलाई पर्दा बनाई रात्रि दृश्यको आकर्षण अद्रभुत छ। फुसन बेबाट क्रुज गर्दै क्यानभास वा स्क्रिनमा परिणत गगनचुम्बी भवनमा प्रकाशको खेल, पानीमा त्यसको रंगीन छाया अनि धुनले एउटा जादुमयी अनुभव गराउँछ।

साङहाईको बन्डमा धेरैपटक यस्तो प्रकाशीय क्यानभासमा हराएको म यहाँ पनि हजारौँ बत्तीको खेलमा सहजै हराएँ। साथसाथै तिहारको झिलिमिलीमा रमाएका यी नयन र मन तिहारको उल्लास सम्झन पुग्यो। वास्तवमा यहाँको प्रकाशको परेड तिहारको झिलिमिली बिर्साउने खालको छ। यही मौकामा हाम्रो घरदैलोमा आइसकेको ज्ञान र प्रकाशको पर्व यमपञ्चकको अवसरमा यहाँलाई शुभकामना।

यो लाइट स, क्रुज टुर र समुद्री तटीय आनन्द छिङताओको विशेषता हुन्। साथै, बेइजिङ ओलम्पिक २००८ को सेलिङ प्रतियोगिता यसै छिङताओमा भएको थियो।
छिङताओ सहरलाई लामो समयसम्म जर्मनहरूले नियन्त्रणमा राखेका थिए भने सन् १९१४-१९२२ सम्म जापानीले कब्जा गरेको थियो। यसरी कुनै बेला जापानले कब्जा गरेको यो सहरको होटलमा कफी विथ आइस भनेर सोद्धा अचम्म पनि लाग्यो। हरियो चिया वा तातो पानी मात्र खाने चिनियाँ समाजमा यहाँ ‘आइस क्युब’ सहज रूपमा पाउँदा अर्को सम्झनलायक कुरा बन्यो।

हरेक सहरको कथा हुन्छ। छिङताओ पनि आफ्नो सौन्दर्य र समृद्ध सांस्कृतिक सम्पदा, इतिहास र आधुनिकता तथा समुद्र र समुद्री खाना संस्कृतिको साथमा यो तटीय सहरले चीनको विविधता बोकेको छ।

 

प्रकाशित: १ कार्तिक २०८२ १२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast