
काठमाडौँ- नेकपा एमालेका नेता महेश बस्नेतले माओवादी केन्द्रका संयोजक प्रचण्डमाथि अनुसन्धान गरेर कारबाही हुनुपर्ने माग गरेका छन्।
पार्टीको केन्द्रीय कमिटी बैठकमा शुक्रबार धारणा राख्दै बस्नेतले प्रचण्डका साथै रवि लामिछाने र बालेन शाहमाथि अनुसन्धान गरेर कारबाही हुनुपर्ने माग गरेका हुन्। जेनजी आन्दोलनमा उनीहरुको भूमिका शंकास्पद देखिएकाले अनुसन्धान हुनुपर्ने दाबी बस्नेतको छ।
बस्नेतले जेनजी आन्दोलनलाई हस्तक्षेप गर्दै आपराधिक गतिविधि भएको जिकिर गरे। मुलुकको राष्ट्रिय स्वाधीनतनाका साथै विकास र समृद्धिमा एमालेले खेलेको भूमिका कारण आफूहरुमाथि सबैभन्दा बढी आक्रमण भएको दाबी उनको छ।
सरकारले राजनीतिक दलका नेताहरुलाई भ्रष्टाचारको अभियोग लगाएर निर्वाचनमा उठ्न नदिने षड्यन्त्र गरिरहेकाले त्यसविरुद्ध सडक संघर्ष गर्नुपर्नेमा आफुले जोड दिएको पनि उनले बताए। नेता बस्नेतले पार्टीमा अध्यक्ष केपी ओलीको विकल्प खोज्न नहुने बताए।