
काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नियमित अधिवेशन गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने विषयले पेचिलो रूप लिएको छ। महासचिवद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर अभियान चलाएपछि पार्टीभित्र आन्तरिक बहस तीव्र बनेको हो। संस्थापन र नेता डा. शेखर कोइराला समूह भने समयमै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने पक्षमा छन्।
हस्ताक्षर अभियानलाई संस्थापन पक्षले सकारात्मक लिएको नेताहरूको दाबी छ। विशेष महाधिवेशन भन्दै हस्ताक्षर अभियान चलाइए पनि ध्येय भने समयमै महाधिवेशन गर्नुपर्ने भएको भन्दै संस्थापनले सकारात्मक रूपमा लिएको हो।
‘उहाँहरूले चलाएको हस्ताक्षर अभियानलाई हामीले सकारात्मक रूपमै लिएका छौँ,’ प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भन्छन्, ‘यो पार्टी विभाजनभन्दा पनि समयमै महाधिवेशन गर्ने उद्देश्यले आएको हो। यसबारे कार्यवाहक सभापतिज्यूले पनि सम्बोधन गरिसक्नुभएको छ।’ जारी केन्द्रीय समिति बैठकमा १५ औँ महाधिवेशनको कार्यतालिकाको विषयले हालसम्म प्रवेश पाइसकेको छैन। महामन्त्री गगन थापाले बिहीबारको बैठकमा पेस गरेको प्रस्तावमध्ये एउटा थियो– १५ औँ महाधिवेशनको कार्यतालिका निर्धारण।
नेताहरूका अनुसार महामन्त्री थापाले ल्याएको प्रस्तावमाथि छलफल गरेर बैठकले १५ औँ महाधिवेशनको कार्यतालिकासहितको मिति निर्धारण गर्नेछ। बिहीबारको बैठकमा आफ्नो धारणा राखेका नेता कोइरालाले मंसिरभित्रै महाधिवेशन गर्ने गरी महामन्त्रीले कार्यतालिका ल्याउने विश्वास व्यक्त गरे।
‘महामन्त्रीज्यूले आगामी मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुहुनेछ भन्नेमा म विश्वस्त छु र त्यसमा मेरो पूर्ण समर्थन रहनेछ भन्ने स्पष्ट पार्न चाहन्छु,’ कोइरालाले भने।
संस्थापननिकट नेताहरू पनि मंसिर मसान्तसम्म महाधिवेशन गर्नुपर्नेमा सहमत देखिएका छन्। कांग्रेस विधानअनुसार एक वर्ष र संविधानअनुसार ६ महिना गरी साढे एक वर्ष कार्यकाल लम्ब्याउन सकिने सुविधा हुँदाहुँदै यसपालि संस्थापननिकट नेताहरूको ‘मुड’ यतातिर देखिएको छैन। जेनजी आन्दोलनको मागअनुसार सकभर समयमै महाधिवेशन सकेर नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा संस्थापनपक्षको मत देखिन्छ।
यसका लागि जारी केन्द्रीय समिति बैठकबाट महाधिवेशन मिति तोक्नु आवश्यक छ। सभापति शेरबहादुर देउवाले औपचारिक रूपमा पार्टी राजनीतिबाट बिदा लिइसकेका कारण कांग्रेसका बहुमत नेता कार्यकर्ताले माग गरी रहेअनुसार मंसिरभित्रै १५ औँ महाधिवेशन गराउने परीक्षाको कसीमा उभिएका छन्, कार्यवाहक सभापति पूर्णबहादुर खड्का एवं महान्त्रीद्वय थापा र शर्मा। किनभने देउवाका कारण महाधिवेशनको समय लम्ब्याउनुपरेको भन्ने छुट उनीहरूसँग छैन।
संस्थापनपक्ष मंसिरभित्रै महाधिवेशन गर्न तयार रहेको बताइरहँदा इतर समूह भने ढुक्क देखिएको छैन। जारी केन्द्रीय समिति लम्बिनसक्ने आकलन गरेका उनीहरूले मंसिरमा महाधिवेशन हुने सम्भावना देखेका छैनन्।
दुई दिनअघि सुरु भएको केन्द्रीय समिति बैठक तिहार र छठका कारण आइतबारदेखि स्थगित हुने भएको छ। छठपछि फेरि बस्ने बैठकले मंसिरमै महाधिवेशन गर्ने गरी मिति तोक्न सम्भव नरहेको इतर समूहका एक केन्द्रीय सदस्यले बताए।
बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्न निर्धारण गरिएको समयका कारण पनि इतर समूहले मंसिरमै महाधिवेशन हुने सम्भावन कमै देखेको छ। यसअघि ३ देखि ४ मिनेट बोल्न समय पाउने केन्द्रीय सदस्यहरूले अहिले ११ मिनेट समय पाएका छन्।
शीर्ष नेताहरूले बोल्दा यो समय १५ मिनेटसम्म पनि पुग्ने गरेको छ। केन्द्रीय सदस्यहरूका लागि छुट्याइएको समयले पनि मंसिरमा महाधिवेशन टार्ने रणनीति देखिएको इतर समूहका ती केन्द्रीय सदस्यको दाबी छ।
‘यसअघिका बैठकहरूमा केन्द्रीय सदस्यहरूलाई बोल्न तीनदेखि चार मिनेटको समय दिइन्थ्यो। यसपालि १० मिनेट र थप एक गरी ११ मिनेटको समय दिइएको छ,’ हिमालप्रेससँग ती केन्द्रीय सदस्यले भने, ‘सबै केन्द्रीय सदस्यले १०-१० मिनेट बोल्न थाले बैठक कहिले सकिने? महाधिवेशनको मिति कहिले तय हुने? अनि कहिलेदेखि तयारी थाल्ने?’
केन्द्रीय सदस्यहरूलाई १० मिनेट समय दिनुका पछाडि बैठक लम्ब्याएर मंसिरमा महाधिवेशन हुन नदिने मेसो रहेको उनको दाबी छ। उनी भन्छन्, ‘यसरी जाने हो भने मंसिरमा कुनै पनि हालतमा महाधिवेशन सम्भव छैन।’
संस्थापनपक्ष भने विशेष राजनीतिक परिस्थितिपछि केन्द्रीय समिति बैठक बसेकाले केन्द्रीय सदस्यहरूलाई आफ्नो धारणा राख्न पर्याप्त समय दिइएको बताउँछ। केन्द्रीय सदस्यहरूलाई बढी समय दिएर महाधिवेशन धकेल्ने नीति बिलकुलै नभएको नेता विश्वकर्मा बताउँछन्।
‘जेनजी आन्दोलनपछि उत्पन्न विशेष राजनीतिक परिस्थितिका कारण केन्द्रीय सदस्यहरूलाई १०–१० मिनेटको समय दिइएको छ,’ उनी भन्छन्, ‘सबैले खुलेर आफ्नो कुरा राख्नुप¥यो। यो महाधिवेशन टार्ने वा धकेल्ने उद्देश्यले बिल्कुलै गरिएको होइन।’
तिहार र छठका कारण आइतबारदेखि बैठक स्थगित भएर छठपछि कात्तिक १२ अथवा १३ गतेदेखि पुनः बस्ने उनको भनाइ छ। छठपछि बस्ने बैठकले महाधिवेशनको मिति तय गर्ने विश्वकर्माले बताए।
छठपछि बस्ने बैठकले मिति तय गरे पनि महाधिवेशन सम्पन्न गर्न पर्याप्त समय नहुने भन्दै इतरसमूह सशंकित बनेका छन्। विश्वकर्मा भने बैठकले महाधिवेशनको औपचारिक मिति तय गरे पनि त्यसअघि आन्तरिक तयारी गरिने तर्क गर्छन्।
‘आज वा भोलि कार्यतालिका सम्बन्धमा एउटा प्रस्ताव आउला। क्रियाशील असोजभित्रै बुझाउन भनिएको छ। केही समय थपेर क्रियाशील सदस्यता लिन सकिन्छ। त्यसपछि आउनेलाई स्वीकार नगरिने भन्नुपर्छ,’ उनी भन्छन्, ‘बैठकले आधिकारिक रूपमा मिति तय गर्ला, आन्तरिक तयारी त भइरहेको छ। मंसिर मसान्त अथवा पुसको पहिलो साता नकट्ने गरी जसरी पनि महाधिवेशन हुन्छ, यसमा कसैले शंका नगरे हुन्छ।’
प्रचार विभाग प्रमुख विश्वकर्मा सरकारले घोषणा गरेको फागुन २१ गतेको आमनिर्वाचनलाई असर नपर्ने गरी थप ऊर्जाका साथ जाने ढंगबाट १५ औँ महाधिवेशन सम्पन्न हुने दाबी गर्छन्।