![म केपी ओलीसँग चुनाव लड्न तयार छु : रन्जित तामाङ [अन्तरवार्ता]](https://himalpress.com/wp-content/uploads/2025/10/ranjit_tamang_maosit_leader.jpg)
जेनजी आन्दोलनपछि राजनीतिक वृत्त तरंगित छ। दलहरूको साम्राज्य तोड्दै नागरिक सरकार बनेको छ भने राजनीतिक दलको भूमिका साँघुरिएको छ। ठूला दलका शीर्ष नेताले राजनीतिबाट बिदा लिनुपर्ने जोडदार माग छ। कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर विश्राम लिने संकेत गरेका छन्। देउवा नेतृत्वबाट हटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि नेतृत्व हस्तान्तरणमा दबाब परेको देखिन्छ। यद्यपि ओली र ‘प्रचण्ड’ तत्काल विश्राम लिने ‘मुड’ मा देखिँदैनन्। एमाले अध्यक्ष ओलीले महाधिवेशन मिति प्रस्ताव गरेका छन्। माओवादी केन्द्र जेनजी आन्दोलनको भावना भन्दै विशेष महाधिवेशनमा जाने तयारीमा जुटेको छ। प्रचण्डमाथि माओवादीभित्रैबाट नेतृत्व छाड्नुपर्ने दबाब छ। यसबारे माओवादी दुई धारमा विभाजित छ। प्रस्तुत छ, माओवादीको विशेष महाधिवेशन, नयाँ नेतृत्व र जेनजी आन्दोलनको विषयमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रन्जित तामाङसँग गरिएको कुराकानी :
जेनजी आन्दोलनले राजनीतिक दललाई कस्तो सन्देश दिएको छ?
जेनजीले भ्रष्टाचार र राज्यको कुशासनविरुद्ध सही तरिकाले अघि बढाउन सन्देश दिएको छ। सबै युवालाई समेट्नुपर्ने सन्देश दिएको छ। नयाँ पुस्ताचाहिँ सामाजिक सञ्जालमा अवसर र भविष्य खोजिरहेको छ। उनीहरू बेरोजगार छन्। उनीहरूलाई भविष्यप्रति चिन्ता छ। सरकार र प्रमुख दल युवाको चासोप्रति चिन्तित देखिँदैनन्। त्यसैले दलहरूको साख गिर्दो अवस्थामा छ।
जेनजी युवाले आन्दोलन गर्न सक्छन् भने दलहरूमा पनि त्यही उमेर समूहको नेतृत्व चाहियो नि होइन?
जेनजी आन्दोलनले सबै परिवर्तन हुनुपर्छ भन्ने सन्देश दिएको छ। तर सबै परिवर्तन अनिवार्यचाहिँ भनेको छैन। किनभने जेनजी आन्दोलनपछि बनेको सरकार र सरकारमा रहेका अनुहार हेर्दा त्यो प्रस्ट छ। भ्रष्टाचारविरुद्धको प्रतिबद्धता, सुशासन, जबाफदेहिता, पारदर्शी प्रशासन, आमयुवा र जनताकोे भावमा निर्बाध रूपले काम गर्ने नेतृत्व चाहियो भन्ने माग हो। यसर्थ, जो राजनीतिक नेतृत्वमा आउँछ, उसले यी एजेन्डालाई आत्मसात् गर्नुपर्यो भन्ने हो। यस्ता कार्यभार पूरा गर्न राजनीतिमा आउनुपर्ने देखियो। विगतमा जोजो कुनैकुनै कुरामा जोडिनुभयो वा उहाँहरूप्रति प्रश्न उठे। उहाँहरूले जबाफ दिएर मात्र राजनीतिमा आउनुपर्छ भन्ने बुझाइ मेरो छ। अर्को, समाजसेवाको भावनाले मात्र राजनीतिमा आउनुपर्छ भन्ने जेनजीको माग देखिन्छ।
जेनजी आन्दोलनका नाममा अर्बौँ सम्पत्तिमा क्षति पुर्याइयो। यस्ता घटनालाई कसरी हेर्ने? जेनजीको आक्रोशका रूपमा मात्र बुझ्ने त?
जेनजीको आन्दोलन शान्तिपूर्ण थियो। त्यसैमाथि राज्यले दमन गर्ने र स्कुले विद्यार्थीमाथि ताकीताकी बन्दुक हानेर ज्यान लिएपछि आक्रोश थपियो। भदौ २३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको भए २४ गतेको घटना हुँदैनथ्यो। २४ गते जेनजीसँगसँगै केही स्वार्थ समूहहरू सहभागी भए। राज्यको सम्पत्ति नष्ट गरे। त्यो गलत छ। जेनजीको आन्दोलन राज्यसँग हो, दमनसँग हो, भ्रष्टाचारसँग हो तर उनीहरूले हिंसात्मक गतिविधि चाहेका थिएनन्। यो कुराको छानबिन हुनुपर्छ। प्रधानमन्त्रीले राजीनामा दिएपछि पनि राज्यविहीन भएजस्तो गरी आतंक मच्चाइएको छ, त्यो अपराध अक्षम्य छ। कानुन हातमा लिने र आपराधिक काम भएका छन्।
जेनजी आन्दोलनपछि पुराना पुस्ताले राजनीति छाड्नुपर्ने दबाब बढेको छ। माओवादीमा पनि यसको प्रभाव देखिन्छ? कस्तो छ तयारी?
बहुमत युवाहरूलाई केन्द्रीय समितिमा ल्याउने संकल्पका साथ विशेष महाधिवेशन गर्ने तयारीमा छौँ। पार्टी अध्यक्षदेखि सबै पदमा निर्वाचन प्रतिनिधिले मत हाल्न मिल्ने वातावरण बन्नेछ। यी सबै विषयमा हामी छलफलमै छौँ।
के अघिल्लो पुस्ताले राजनीति छाड्नैपर्छ?
यत्रो लामो समय पार्टीलाई लिएर आउनुभएको नेतृत्व छ। अब विशेष महाधिवेशन गराउने उहाँ (प्रचण्ड) को दायित्व हो। जुन गराउनुहुनेछ। अहिलेको परिस्थिति र समस्याको जड उहाँ नै हो भन्ने निष्कर्ष हाम्रो छैन/कदापि होइन पनि। प्रचण्डकै नेतृत्वमा विशेष महाधिवेशन गर्ने। दुई महिनाका लागि नेतृत्व परिवर्तन गरेर केही हुँदैन, त्यो सम्भव पनि छैन।
विशेष महाधिवेशनले जे म्यान्डेट दिन्छ त्यहीअनुुसार अघि बढ्नुपर्छ। विशेष महाधिवेशनले नयाँ नेतृत्व दिन्छ भने नयाँ नेतृत्व, होइन भने पुरानै नेतृत्वले पार्टी अघि बढाउँछ। अहिले हाम्रो नेतृत्वको बहस राम गएर, श्याम आउने वा श्याम गएर राम आउने मात्र होइन। सिंगो पार्टीपंक्तिलाई कसरी अघि बढाउने, जेनजीको भावनालाई कसरी आत्मसात् गर्ने भन्नेमा बहस हो। जुन अहिलेको आवश्यकता पनि हो। अब आउने नेतृत्व कसरी पारदर्शी बन्छ, भ्रष्टाचारका विषयमा प्रतिबद्धता राख्छ कि राख्दैन भन्ने हो। सुशासनमा उसको संकल्प छ कि छैन, देश निर्माणमा आमजनतालाई अपिल गर्ने ल्याकत उससँग छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।
चुनाव तोकिएको छ? दलहरू चुनावमा जाने/नजाने दोधारमा छन् नि?
हामी जसरी पनि चुनावमा जानुपर्छ भन्नेमा छौँ। अरू दलले पनि वातावारण बनाउनुपर्छ। अहिले राष्ट्रियता संकटमा परेको छ। त्यसलाई निकास दिनका लागि पनि चुनाव अपरिहार्य छ। हामी त चुनावमा लागिसक्यौँ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा तपाईँले उम्मेदवार बन्ने योजना बनाउनुभएको छ कि?
म आगामी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नेछु। मेरो घर र जन्मथलो झापा क्षेत्र नम्बर ५ हो। म त्यहाँबाट भन्ने सोचिराखेको छु।
झापा-५ एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्दै आउनुभएको क्षेत्र हो। उहाँसँगै लड्ने योजना हो?
म तयार छु। मेरो प्रतिस्पर्धामा उभिन्छ मलाई थाहा छैन। तर मचाहिँ निर्वाचनमा लड्ने योजनामा छु। यद्यपि विद्यार्थी संगठनको नेतृत्व गर्दा वा विद्यार्थी राजनीति गर्दा मैले लामो समय काठमाडौँमा रहेर काम गरेँ। यसो हुँदा काठमाडौँबाट चुनाव लड्न पनि म तयार छु।