जेनजी आन्दोलनबाट अकल्पनीय क्षति : आईजीपी खापुङ

हिमाल प्रेस ३१ असोज २०८२ १२:२५
12
SHARES
जेनजी आन्दोलनबाट अकल्पनीय क्षति : आईजीपी खापुङ

काठमाडौँ- नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको बताएका छन्।

शुक्रबार ७० औँ प्रहरी दिवस २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले प्रहरी संगठन नागरिकको स्नेह र आक्रोश दुबै सामना गर्दै राज्यको सशक्त प्रतिनिधिको रूपमा स्थापित हुन सफल भएको बताए।

आईजीपी खापुङका अनुसार नेपाल प्रहरी आजको राजनीतिक परिवर्तनको परिवेशमा समेत उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र असहज परिस्थितिको सामना गर्न सक्षम, व्यावसायिक र नागरिक भरोसाको केन्द्रका रूपमा उभिएको छ।

उनले भने,‘राज्यको सबैभन्दा अग्रपङ्क्तिमा सेवारत विशाल संयन्त्रयुक्त संगठनको रूपमा नेपाल प्रहरी नागरिकको स्नेह र आलोचना दुवै सहँदै, शान्तिसुरक्षा र अमनचयनको प्रत्याभूति दिलाउने जिम्मेवारीमा प्रतिबद्ध छ।’

आईजीपी खापुङले प्रहरीविहीन समाज परिकल्पना गर्न नसकिने उल्लेख गर्दै देशभर ९३९ ठाउँमा नयाँ प्रहरी इकाइको माग र ४०० भन्दा बढी इकाइमा स्तरोन्नतिको आवश्यकता रहेको बताए। उनका अनुसार यी माग पूरा गर्न करिब २५ हजार अतिरिक्त जनशक्ति आवश्यक छन्।

जेनजी पुस्ताको आन्दोलनबारे उनले भने,‘भदौ २३ र २४ गतेका घटनाबाट देशले अकल्पनीय क्षति व्यहोर्याे। उक्त प्रदर्शनमा ज्यान गुमाउने प्रहरी सदस्य तथा अन्य दिवंगत आत्माहरूको चीरशान्तिको कामना गर्दछु।’

उनले प्रहरी संगठनभित्र सुधार र शुद्धीकरणको आवश्यकता रहेको पनि बताए। नागरिकको करबाट खरिद गरिएको पोसाक लगाउने प्रहरीले नागरिकप्रति जिम्मेवार र मर्यादित व्यवहार गर्नुपर्ने उनले जोड दिए।

प्रकाशित: ३१ असोज २०८२ १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast