कांग्रेसलाई नयाँ दिशा दिन मंसिरभित्रै महाधिवेशन आवश्यक : शेखर कोइराला

हिमाल प्रेस ३१ असोज २०८२ ८:२१
8
SHARES
कांग्रेसलाई नयाँ दिशा दिन मंसिरभित्रै महाधिवेशन आवश्यक : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशन आगामी मंसिरभित्र सम्पन्न गर्ने तयारीका लागि महामन्त्रीले कार्यतालिका ल्याए त्यसमा आफ्नो पूर्ण समर्थन रहने बताएका छन्।

बिहीबारको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले पार्टीलाई नयाँ दिशा दिन र ऊर्जाशील बनाउन अब ढिलाइ गर्न नहुने बताए।

‘महामन्त्रीज्यूले आगामी मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनु हुनेछ भन्नेमा म विश्वस्त छु,’ कोइरालाले भने, ‘त्यसमा मेरो पूर्ण समर्थन रहनेछ भन्ने स्पष्ट पार्न चाहन्छु।’

उनका अनुसार कांग्रेसबारे देशभित्र र बाहिरका शुभचिन्तक, अन्य राजनीतिक दल र मित्रराष्ट्रहरूले पनि नजिकबाट नजर राखेका छन्। ‘अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन गर्ने तयारीमा जुटिसकेका छन् भने हामी किन सक्दैनौँ?’ उनले प्रश्न गरे।

कोइरालाले पार्टीभित्र विशेष महाधिवेशनको सन्दर्भमा उठेको हस्ताक्षर अभियानलाई सकारात्मक रूपमा लिँदै भने,‘यो अभियान कांग्रेसभित्र ऊर्जा भर्ने कार्य हो तर ताजापन र नवीनता नियमित महाधिवेशनबाट मात्र सम्भव छ।’

उनले कांग्रेसले कर्मकाण्डी शैलीबाट बाहिर निस्केर देशको परिवर्तनको वाहकको भूमिका लिनुपर्नेमा जोड दिए। ‘हामीले नैतिक ओज र युवा-अनुभवी पिँढीको समन्वयबाट पार्टीलाई पुनः जागृत गराउनुपर्छ,’ उनले भने।

कोइरालाले आगामी फागुन २१ गते हुने राष्ट्रिय निर्वाचनलाई लक्षित गर्दै नियमित महाधिवेशनबाट आउने परिणामले कांग्रेसलाई जनताबीच पुनः सक्रिय बनाउने विश्वास व्यक्त गरे।

उनले वर्तमान राजनीतिक चुनौतीहरूको स्वरूप परिवर्तन भएको बताउँदै समय सापेक्ष रूपान्तरण आवश्यक रहेको बताए। ‘हाम्रो नीति र नियम मात्र होइन चरित्र र आचरणमा पनि परिवर्तन देखिनुपर्छ अन्यथा नियतमा रहेको खोटले हामीलाई कमजोर बनाइरहनेछ,’ कोइरालाको भनाइ थियो।

प्रकाशित: ३१ असोज २०८२ ८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast