
काठमाडौँ- नेपाली कांग्रेसभित्र आगामी मंसिरभित्रै नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने विवादले ध्रुवीकरण पैदा भएको छ। शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापनपक्षले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मामाथि आक्रोश देखाएको छ।
संस्थापनपक्षले आगामी फागुन २१ गते निर्वाचन घोषण भइसकेको अवस्थालाई आधार बनाएर मंसिरभित्रै नियमित महाधिवेशन अनावश्यक भएको तर्क राखेको छ। कार्यवाहक सभापति खड्काले पनि सुरुमै नियमित महाधिवेशन गर्ने समय भएकाले विशेष महाधिवेशन आवश्यक नभएको बताएका थिए।
तर महामन्त्रीहरूको पहलसित हस्ताक्षर अभियान जारी छ। बुधबार ५४ प्रतिशत प्रतिनिधिका हस्ताक्षरसहित विशेष महाधिवेशनको निवेदन दर्ता भइसकेको छ। यसलाई लिएर आआफ्नो धारणा उत्कर्षमा पुगेको छ। केही नेताहरूले हस्ताक्षर अभियानलाई पार्टीमा ऊर्जा भर्नका लागि सकारात्मक भनेका छन् भने केहीले यसले विभाजन निम्त्याउने भनी चिन्ता व्यक्त गरेका छन्।
नेता शेखर कोइरालाले महामन्त्रीहरूको कार्यक्रमलाई समर्थन गर्दै मंसिरमै नियमित महाधिवेशन हुनुपर्ने आफ्नो अडानसमेत दोहोर्याएका छन्। त्यस्तै गुरु बराल, मोहन बस्नेत लगायतले विशेष महाधिवेशन हुनु उचित नभएको र अहिले एकतामा जोड दिनुपर्ने भन्दै आलोचना गरेका छन्।
सभापति देउवाले खड्कालाई जिम्मेवारी दिएको बेला विधानले तोकेको समयभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने स्मरण गराएका थिए। केही नेताहरूले भने निर्वाचनको पक्षमा जोड दिनुपर्ने र संसद् पुनःस्थापनासम्बन्धी छलफलसँग अलग रहनुपर्ने बताउँछन्