
काठमाडौँ– हप्तौँदेखि चलिरहेको विरोध प्रदर्शन र सैन्य हस्तक्षेपले देशलाई संकटमा पारेपछि मडागास्करका पदच्युत राष्ट्रपति एन्ड्री राजोलिनाले पहिलोपटक आफू देशबाट पलायन गरेको पुष्टि गरेका छन्।
राष्ट्रपति राजोलिनाले अक्टोबर ११ र १२ तारिखको बीचमा ‘राज्य प्रमुखको जीवन विरुद्ध स्पष्ट र अत्यन्त गम्भीर धम्कीहरू’ आएको भन्दै त्यसपछि देश छोड्न बाध्य भएको बताए। उनले बुधबार राति जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘म विदेशी यात्रामा रहेका बेला ती धम्कीहरू प्राप्त भएका थिए।’
एएफपीलाई पठाइएको विज्ञप्तिअनुसार राजोलिनाको भ्रमणलाई नियमित सरकारी भ्रमणका रूपमा देखाइए पनि ती धम्कीहरूका कारण उनले तत्काल देश त्याग गरेका हुन्। मिडिया रिपोर्टहरूले ५१ वर्षीया नेतालाई आइतबार फ्रान्सेली सैन्य विमानमार्फत बाहिर निकालिएको थियो।
राजोलिनाले सोमबार दिएको एक संक्षिप्त प्रतिक्रियामा आफू ‘सुरक्षित स्थानमा’ रहेको उल्लेख गरेका थिए तर गन्तव्य खुलाएका थिएनन्।
सन् २००९ मा सैन्य समर्थनसहितको आन्दोलनपछि पहिलोपटक सत्तामा पुगेका राजोलिनाले हालै राष्ट्रियसभाले सेनासँग मिलेर आफूलाई असंवैधानिक रूपमा हटाएको आरोप लगाएका छन्।
यता सत्ता नियन्त्रणमा लिएका सैन्य अधिकारीहरूले कर्नेल माइकल रान्ड्रियानिरिनालाई नयाँ राष्ट्रपतिका रूपमा चयन गरिएको जनाएका छन्। उनले शुक्रबार औपचारिक रूपमा सपथ लिने बताइएको छ।
पानी र विद्युत् अभावका कारण गत सेप्टेम्बर २५ देखि सुरु भएको जनआन्दोलनले रान्ड्रियानिरिनाको हस्तक्षेपलाई ‘जनताको जीत’ भन्दै स्वागत गरेको छ। उक्त आन्दोलनलाई युवा नेतृत्वको ‘जेन जेड’ आन्दोलनका रूपमा चिनिन्छ।
अन्तर्राष्ट्रिय समुदायले भने यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघले यसलाई ‘असंवैधानिक सत्ता कब्जा’ भन्दै कडा निन्दा गरेको छ भने अफ्रिकी युनियनले बुधबारदेखि तत्काल प्रभावबाट मडागास्करको सदस्यता निलम्बन गर्ने घोषणा गरेको छ।
माली, बुर्किना फासो, नाइजर, ग्याबोन र गिनीमा पछिल्ला वर्षहरूमा भएका सैनिक कूपछि सन् २०२० यता सैन्य शासनको चपेटामा परेका अफ्रिकाका पूर्व फ्रान्सेली उपनिवेशहरूमध्ये मडागास्कर अहिले पछिल्लो सदस्य बनेको छ।