शपथ लिएकै दिन संकटमा मधेश सरकार

हिमाल प्रेस ३० असोज २०८२ १६:२६
92
SHARES
शपथ लिएकै दिन संकटमा मधेश सरकार

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीको शपथ लिएकै दिन मधेश प्रदेश सरकार संकटमा परेको छ। उनले मुख्यमन्त्रीका लागि दाबी पेस गरेकै दिन मंगलबार जनमत पार्टीका दुई सांसदले नवगठित जनस्वराज पार्टीमा सनाखत गरेका थिए। सोनलले मुख्यमन्त्री बन्न दाबी पेस गरेको संख्या ५६ बाट तीनजना घटेका छन्। सोनलको समर्थनमा अहिले ५३ सांसद देखिएका छन्। १०७ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ५४ सांसदको समर्थन आवश्यक हुन्छ।

जनमत पार्टीबाट विभाजन भएर बनेको जनस्वराज पार्टीमा सनाखत गर्नेहरूमा निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र प्रदेश सांसद त्रिभुवन साह थिए। जनस्वराज पार्टीका पक्षमा सनाखत गर्न जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालय जाने क्रममा जनमत पार्टीका केही कार्यकर्ताहरूले सिंह र साहमाथि आक्रमणको प्रयाससमेत गरेका थिए।

नेता सोनल बुधबार मुख्यमन्त्री मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

सोनललाई प्रदेशसभाका ५६ सांसदको समर्थन छ। उनलाई मुख्यमन्त्री नियुक्त गर्न जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा एकीकृत समाजवादीका ७ सांसदले समर्थन जनाएका थिए। पाँच दलका ५६ सांसदको समर्थनसहित मुख्यमन्त्री नियुक्त भएका सोनलले बिहीबार पद तथा गोपनीयताको शपथसमेत लिएका छन्। सोनलसँगै जनमत पार्टी प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादव र एकीकृत समाजवादीका कनिष पटेलले विनाविभागीय मन्त्री पदमा शपथ लिएका छन्। सोनललाई मुख्यमन्त्रीमा समर्थन जनाएका अन्य दलहरूले भने सरकारमा मन्त्री पठाएका छैनन्।

निर्वाचन आयोगले जनमत पार्टीका प्रदेश सांसदहरूलाई सनाखतका लागि सात दिनको समय दिएको छ। सात दिनपछि निर्वाचन कार्यालयले आधिकाकिर निर्णय गर्नेछ। जनस्वराज पार्टीको पक्षमा अहिले दुई जनाले मात्र सनाखत गरे पनि यो संख्या बढ्नसक्ने बताइएको छ। निर्वाचन आयोगको निर्णय आइसकेपछि जनस्वराज पार्टीले प्रदेशसभामा दलको दाबी गर्ने तयारी गरेको छ। त्यसअघि तटस्थ बस्ने निर्णय जनस्वराजले गरेको छ।

मुख्यमन्त्री कार्यालयबाट बिदा हुँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै निवर्तमान मुख्यमन्त्री सिंहले अहिले आफूहरू तटस्थ बस्ने बताए। ‘अहिले हामी तटस्थ बस्ने छौँ, निर्वाचन आयोगबाट वैधता पाइसकेपछि दलका लागि प्रदेशसभामा दाबी गर्नेछौँ,’ सिंहले भने, ‘प्रदेश सरकारबारे दलले निर्णय गर्नेछ।’

मुख्यमन्त्रीका लागि दाबी पेस गरिरहँदा गन्ती गरेका जनमतका १३ मध्ये दुई सांसद घटेका मात्र छैनन् सोनलले शपथ लिइरहेकै बेला जसपा नेपालका एक सांसदमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्‍यो।

संसदीय विकास कोषको रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियारले जसपा नेपालका प्रदेश सांसद एवं पूर्वराज्यमन्त्री सरोजसिंह कुशवाहामाथि मुद्दा दायर गरेको हो। मुद्दा दायर भएसँगै उनी प्रदेशसभा सदस्य पदबाट स्वतः निलम्बित भएका छन्।

गठन भएसँगै सरकार संकटमा परेको भन्दै माओवादी केन्द्रले अहिले पार्टीका तर्फबाट मन्त्री नपठाएको बताइएको छ। माओवादीका एक सांसदका अनुसार अहिले ‘वेट एन्ड वाच’ को नीति लिइएको छ। नेपाली कांग्रेस-नेकपा एमालेविनाको सरकार बनाउने अडान लिएर आठ सिट भएको लोसपालाई मुख्यमन्त्री सुम्पिन तयार भएको जसपा नेपाल पनि सरकारले विश्वासको मत पाउनेमा ढुक्क देखिएको छैन।

जसपाका एक प्रदेश सांसदले जनमतका दुईजना जनस्वराज पार्टीमा खुल्दा र आफ्नो पार्टीका एक जना सांसद निलम्बनमा पर्दा सरकारले विश्वासको मत पाउनेमा संशय देखिएको बताए। ‘५६ जना सांसद भनिए पनि अहिले हामी ५३ मात्रै छौँ,’ ती सांसदले भने, ‘यही अवस्था रहिरहे विश्वासको मत पाउन कठिन देखिएको छ।’

यद्यपि जनमतबाट विभाजित भएर जनस्वराज पार्टीमा खुलेका दुई जना सांसदहरूले सरकारलाई विश्वासको मत दिने उनले दाबी गरे। ‘जनमतबाट जनस्वराजमा खुल्नु भएका दुईजना सांसद सरकारलाई विश्वासको मत दिनुहुन्छ हामीलाई विश्वास छ। यसका साथै नागरिक उन्मुक्ति पार्टीले पनि सरकारलाई समर्थन गर्छ,’ उनले भने।

जसपा नेपालका ती सांसदले भनेअनुसार जनस्वराज पार्टीका दुई र नाउपाका एक सांसदले विश्वासको मत दिएको अवस्थामा सोनल नेतृत्वको सरकार जोगिने देखिन्छ। अन्यथा सरकार संकटमा पर्ने निश्चित छ।

मधेश प्रदेशसभामा नेकपा एमालेका २३ (एक सभामुख/एक निलम्बन), कांग्रेसका २२, जसपा नेपालका १९ (एक निलम्बन), जनमतका १३ (दुई जनस्वराज पार्टी) लोसपाका ९ (एक निलम्बन), माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नाउपा, संघीय समाजवादी र राप्रपाका १-१ सांसद छन्।

प्रकाशित: ३० असोज २०८२ १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast